www.tandavnews.com
Fact ~ In search of truth

चरैवेती चरैवेती ताण्डव

– उपेन्द्र पौडेल

जटा टवी गलज्जल प्रवाह पावितस्थले, गलेऽवलम्ब्य लम्बितां भुजङ्ग तुङ्ग मालिकाम्
डम... मन्निनाद व.ड्डमर्वयं, , चकार चण्डताण्डवं तनोतु नः शिवः शिवम

ताण्डव सुन्ने वित्तिकै मेरो दिमागमा यो माथिका हरफहरु गुञ्जन थाल्दछन । लंकापती रावणले शिव आराधनाका लागि लेखेको र शिवले निमग्न भएर नृत्य गरेको ताण्डव भन्नासाथ पूर्ण उर्जाका साथ सिर्जना, पालन र संहारको श्रोतका रुपमा गरिने नृत्य भनेर व्याख्या गरेको पाइन्छ ।

Batas

भनिन्छ जब शिव ताण्डव नाच्छन, पूरै ब्रम्हाण्ड उनको नृत्यमा संलग्न हुन्छ । सरस्वती विणा बजाउँछिन् । इन्द्र बाँसुरी बजाउँछन । ब्रम्हा लय टिप्दछन । लक्ष्मी गीत गाउँछिन् र विष्णु मुर्दुङगा बजाउँछन् र अन्य देवी देवताहरु नृत्यमा मोहित भएर हेर्दछन । यो थियो देवलोकको कुरा ।

अव एकैछिन मत्र्यलोकको ताण्डवको कुरा गराैँ । पोखरली पत्रकारिता पछिल्लो केही समयदेखि फेरी सुस्ताएको महशुस हुन्थ्यो । समाचार फरकफरक र राशिफल एउटै हुनुपर्नेमा राशिफल फरकफरक र समाचार पूर्णविराम, आकार र हलन्तमा समेत उस्तै आउन थालेका थिए ।

संस्थाका साधारण सभा, विद्यालयको बार्षिकोत्सव र अन्तरसदनात्मक कार्यक्रम, फलानो संस्थामा फलानो, फलानोलाई पुत्रलाभ र ८४ पूजा सम्मका समवेदना, श्रद्धाञ्जली अनी बधाइका विज्ञापनको लागी पृष्ठभूमि तयार गर्ने नमिठो समयतिर हानिदैथियो पत्रकारिता ।

कसैले मिहेनत गरेर अलिकति खोजविन गरी समाचार लेख्योभने पनि त्यही जस्ताको तस्तै कपि गरेर वा त्यसैलाई अलिअलि तोडमरोड गरेर पत्रकार बन्न पाइने समय सुरु भैसकेको थियो बजारमा । जोखिम मोल्न नचाहने, मेहनत गर्न अल्छी लाग्ने र दैनन्दी रिपोटिङको बोझले थिचिएर खोज पत्रकारिता साह्रै सुस्ताएको थियो ।

यस्तो अलमलको समयमा लगभग १ वर्ष अगाडि शिवरात्रीको महिना अर्थात फागुन देखि १६ पेज को रंगीन कलेबरमा खोज पत्रकारिता सुरु भएको थियो ताण्डव साप्ताहिक ।

पत्रकारितानै अध्ययन गरेका र अनुभव बटुलेका युवा पत्रकारहरुले सुरु गरेको ताण्डवले जब आफ्नो नृत्य देखाउन थाल्यो तब देबलोकको ताण्डवमा अन्य देवीदेवताको साथ मिलेझै खोज पत्रकारिताको ताण्डवमा यसले विस्तारै सबै क्षेत्रको उत्तिकै साथ र सहयोग पाउन थाल्यो ।

यात्रा लामो भएको छैन् । साप्ताहिक पत्रिकाका लागि एक बर्ष भनेको ५२ अंक मात्रै हो । तर निर्भिक र निष्पक्ष पत्रकारिताको मर्मलाई अंगालेर समाजको विभिन्न क्षेत्रमा आँखा पु¥याउँदै यसले जसरी फन्को लिएको छ, जिउ नचाएको छ, ताल समाएको छ त्यसबाट पोखरेली र समग्र नेपाली पत्रकारिताको क्षेत्रमा यसको लामो र सुन्दर यात्राका लागि अगाडि बढ्नेछ भन्ने कुरामा दुइमत छैन ।

स्थायी प्रतिपक्षका रुपमा सत्ता र शक्तिको निरन्तर खबरदारी गर्दै पार्किङको समस्याका होस् वा तरकारीमा भइरहेको ब्रम्हलुट, सामाजिक सञ्जालमा बढदै गएको अपराध होस वा महिला हिंसाका कुरा ताण्डवले विविध क्षेत्रमा भएका वेथितीसँग निरन्तर जुध्दै आएको छ र आम जनमानसलाई सजग गराउन महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।

‘मेयरसाब ह्वेर टु पि इन पोखरा ?’ २०७४ चैत्र अंकमा ताण्डवको कभर स्टोरीमा महानगरका मेयरसाबलाई सोधिएको यक्षप्रश्न थियो यो । यो प्रश्नको उत्तर र समाधान सायद मेयर साब सोच्दै हुनुहोला र समाधान आउला आशा गरौँ । मालपोतको गैरजिम्मेवारपना होस वा दमकलको दुरुपयोग विषयवस्तुको गाम्र्भीयता र समाचारको चुस्ततासँगै अन्य थुप्रै क्षेत्रमा ताण्डवको रिपोटिङ लोभलाग्दो देखिन्छ । तर, विकाउ बन्ने नाममा साप्ताहिक र शुक्रबारकै मार्कामा अगाडि बढदा आफ्नो छबी धुमिल्याउन ताण्डवलाई खास गा¥हो पनि हुनेछैन ।

ताण्डव नृत्यका अनेक रुप मध्ये दुइ रुपको संयोजन नृत्यको पूर्णताका लागि महत्वपूर्ण मानिन्छ । रुद्र ताण्डव र आनन्द ताण्डव । रुद्र ताण्डव अलि क्रोधीत, हिंसक, र विनाशकारी प्रकृतिको प्रतित हुन्छ । कहिले समाजमा व्याप्त भ्रष्टाचार, ढिलासुस्ती र शक्ति सत्ताका आडमा हुने अनियमिततालाई जनतासामु उदांगो पारेर आफ्नो खोजी पत्रकारिताको रौद्र रुप प्रस्तुत गर्दै रुद्र ताण्डवको छनक दिन्छ ।

ताण्डव साप्ताहिकले भने कहिले कला, साहित्य, सिनेमा, नाटक मनोरञ्जन, खानपान र ग्ल्यामर लगाएतका विषयबस्तु समेत समेटेर आनन्द ताण्डव समेतको अनुभुत गराउँछ यि दुबै पक्षको सन्तुलीत समायोजन हुन नसकेको भएपनि दुबैलाई सँगसँगै अगाडि बढाएर आफूलाई पूर्णता दिन खोजेको छ ताण्डवले ।

यति हुँदाहुँदै पनि साप्ताहिक रुपमा बजारमा आउने ताण्डवमा अलि बढि खोज र अन्वेषण पाठकहरुले अपेक्षा गर्नु गलत पनि होइन । कतिपय दैनिक पत्रिकाले समेटे पुग्ने बिषयवस्तुलाई समेत उही प्राथमिकतामा ताण्डवले समावेश गर्नुले यसको मुल अन्तर्यमा बाधा पुगेको छ । चिन्ता गर्न र खोजी गर्न गहन विषयहरु हुँदा हुँदै कहिलेकाहीँ व्यक्ति केन्द्रीत भएर आफ्नै फैलने खुबीलाई आफैले संकुचित नगरे हुन्थ्यो भन्ने पाठक र शुभचिन्तकका रुपमा मेरो सल्लाह पनि हो ।

भाषिक शुद्धाशुद्धिमा थप ध्यान दिन सके यो नृत्य थप लोभलाग्दो हुनेछ । पोखरामा पत्रिकाको बाल मृत्युदर असाध्यै बढी छ । त्यसबाट जोगाउनुहोस् । ताण्डवले आयोजना गरेको एउटा कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेश संयोजक त्रिभुवन पौडेलले दिएको शुभकामना यतिबेला सम्झेँ ।

पहिलो बर्षगाँठमा आइपुग्दा यसले देखाएको परिपक्वता र उडान लोभलाग्दो छ । ताण्डव विना रोकतोक लामो यात्रामा लाग्न सकोस । चरैवेती चरैवेती शुभकामना ।

(पौडेल र्याण्डम रिडर्स सोसाइटी अफ नेपालका निर्वतमान अध्यक्ष हुन् ।)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.