www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा बक्यौता नतिर्ने ६१६ ग्राहकको लाइन काटियो

दमौली ।
नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् बक्यौता नबुझाउने ६१६ ग्राहकको लाइन काटेको छ । केन्द्रले चालू आर्थिक वर्ष २०७५÷७६ को फागुन अन्तिम सातासम्म विद्युत् महसुल नबुझाई अटेर गर्ने ग्राहकको लाइन काटेको हो ।

साठी दिनभन्दा बढी समयसम्म महसुल नतिर्ने ग्राहकको लाइन काटिएको केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिए । उनका अनुसार लाइन काटेर कारवाही गरिएका ग्राहकले धमाधम बक्यौता रकम बुझाउन थालेका छन् ।

वितरण केन्द्रले चालू आर्थिक वर्षमा ६१६ ग्राहकको लाइन काटेकामा ५०३ ग्राहकले विद्युत् महसुल बक्यौता तिरेको गोशलीले जानकारी दिए। ती ग्राहकबाट एक करोड ६३ हजार ८६१ बक्यौता असुल भएको छ । बक्यौता रकम बुझाएपछि ग्राहकको लाइन पुनः जोडिएको केन्द्रले जनाएको छ ।

विद्युत् महसुल सङ्कलन विनियमावली २०७३ को विनियम ७ को उपविनियम ३ अनुसार मिटर रिडिङ गरेको सात दिनभित्र महसुल बुझाउने ग्राहकलाई दुई प्रतिशत छुट दिइन्छ भने आठ दिनदेखि २२औँ दिनभित्र महसुल बुझाएमा बिलअनुसारको महसुल लाग्नेछ ।

त्यस्तै मिटर रिडिङ गरेको २३ औँ दिनदेखि ३० औँ दिनसम्म विद्युत् महसुल बुझाएमा पाँच प्रतिशत थप दस्तुर लाग्नेछ । विनियमावलीमा उल्लेख भएअनुसार मिटर रिडिङ गरेको ३१ औँ दिनदेखि ४० औँ दिनसम्म विद्युत् महसुल नबुझाएमा १० प्रतिशत थप दस्तुर लाग्छ भने ४१ औँ दिनदेखि माथि थप २५ प्रतिशत दस्तुर लाग्नेछ ।

विनियमावलीको विनियम १० अनुसार मिटर रिडिङ गरेको ६० औँ दिनसम्म पनि विद्युत् महसुल नबुझाएमा बिनासूचना जुनसुकै समयमा पनि विद्युत् लाइन काट्न सक्ने व्यवस्था रहेको गोशलीले जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.