www.tandavnews.com
Fact ~ In search of truth

मध्यपहाडी लोकमार्ग पर्वत खण्डको काम ४५ प्रतिशत पूरा

संजय रेग्मी ,
पर्वत / ताण्डव न्यूज ।

राष्ट्रिय गौरवको आयोजना मधयपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डको काम एक बर्षमा ४५ प्रतिशत पूरा भएको छ ।

०७४ चैतदेखि पोखरा बागलुङ सडक खण्डलाई नै लोकमार्गको रुपमा विकास गर्दै स्तरोन्नतीको काम शुरु भएको थियो । लोकमार्ग आयोजनाका प्रमुख आशिष थापाका अनुसार पर्वतको अँधेरीखोलादेखि मालढुंगासम्मको २४ किलोमिटरको भौतिक प्रगति तिव्र गतिमा भैरहेको छ । अहिले पर्वत खण्डमा नाली निर्माण, पहिरो रोकथामका लागि पर्खाल निर्माण, साँघुरो घुम्ती काट्ने काम सकेर कालोपत्र गर्न गिट्टी बिच्छ्याउने काम भैरहेको छ ।

२१ किलोमिटर सडक कालोपत्रे गर्नका लागि आवश्यक संरचना तयार भएको भएपनि ४ किलोमिटर सडकमा भने केही समस्या भएको छ । सडक खण्डको २१ किलोमिटर खण्ड दुई लेन र पर्वतको सदरमुकाम कुश्मा बजारको चार किलोमिटर खण्ड चार लेनको हुनेछ । सदरमुकाम कुश्मा बजारभित्रको खण्ड बाहेक अन्यत्र कालोपत्रे गर्न शुरु गर्न लागेको पनि आयोजना प्रमुख थापाले बताए ।

सडक स्तरोन्नतीका क्रममा पर्वत सदरमुकाम कुश्मा बजारमा बिजुलीका पोल र खानेपानीको पाईपका कारण समस्या भएको छ । बजारमा पानी आपूर्ति हुँदै आएको मुख्य पाईपलाईन नै सडक आयोजनामा परेपछि डम्डारेखोलादेखि दुुर्लुङचोकसम्मको सडक विस्तारमा समस्या भएको हो ।

आयोजनाको पर्वतको प्रवेशद्वारदेखि मालढुंगासम्मको २४ किलोमिटर स्तरोन्नतीको काम लामा कन्स्ट्रक्शन प्रालिले जिम्मा लिएको छ । कम्पनीले ८३ करोड ९८ लाख रुपैयाँमा पर्वत खण्ड स्तरोन्नतीको कामको ठेक्का लिएको हो । मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा–बागलुङ खण्डलाई नयाँ स्वरुपमा ढाल्ने गरी मर्मत सम्भार तीब्र पारिरहेको छ । लोकमार्ग पुरै नयाँ स्वरुपमा बिस्तार र स्तरोन्नती गर्न चार ओटा प्याकेज बनाएर काम भैरहेको छ ।

सडक आयोजनाले दिएको जानकारी अनुसार तीन वर्षमा पोखरा–बागलुङ खण्डको धेरैजसो भाग पुरै नयाँ बन्नेछ । २०५० सालमा निर्माण सम्पन्न भएको सडकको धेरै खण्ड भत्किएर सवारी चलाउन कठिन हुँदै गएको थियो भने सवारी साधनको चाप बढेका कारण साँघुरो सडकमा ठाउँठाउँमा जाम समेत हुने गरेको थियो। साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी सञ्चालनमा समेत जोखिम बढेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.