www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश मातहतको स्वास्थ्य कार्यालय उद्घाटन

बेनी ।
गण्डकी प्रदेश सरकार मातहतमा रहेको स्वास्थ्य कार्यालय म्याग्दीको बेनीमा उद्घाटन गरिएको छ । सङ्घीयता कार्यान्वयनपछि गत साउनमा खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयअन्तर्गत रहने गरी पुनःस्थापना भएको हो ।

नयाँ स्थापना गरिएको कार्यालयको गण्डकी प्रदेश, सामाजिक विकासमन्त्री नरदेवी पुनले बुधबार उद्घाटन गरे । कार्यालयमा जनस्वास्थ्य अधिकृतसहित ११ कर्मचारीको दरबन्दी छ । प्रदेश सरकारमातहत रहेका जिल्लाका स्वास्थ्य संस्थामा प्राविधिक सहयोग, कर्मचारी र स्वास्थ्यकर्मीको क्षमता विकास, तालीम सञ्चालन, औषधि आपुर्तिसँगै अन्तरपालिका समन्वयको काम गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भीमप्रसाद आचार्यले जानकारी दिए ।

कार्यालयलाई यस वर्ष प्रदेश सरकारमार्फत कूल एक करोड ८४ लाख बजेट प्राप्त भएको छ । कार्यालयको उद्घाटन गर्दै मन्त्री पुनले स्वास्थ्य क्षेत्र अत्यन्तै संवेदनशील रहेकाले जनतालाई सरल र सहज तवरले सेवा प्रवाहको लागि गण्डकी प्रदेशका ११ वटै जिल्लामा स्वास्थ्य कार्यालय स्थापना गरिएको बताए।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विनोद केसी, सामाजिक विकास मन्त्रालयका सचिव दीर्घनारायण पौडेल, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी लीलादेवी अर्याल र बेनी अस्पतालका निमित्त प्रमुख डा मनोज घिमिरेले कार्यालय स्थापनाले जिल्लाको स्वास्थ्य क्षेत्रलाई टेवा पुग्ने विश्वास व्यक्त गरे । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.