www.tandavnews.com
Fact ~ In search of truth

गलकोटका डकर्मीलाई भूकम्प प्रतिरोधी घर निर्माणसम्बन्धी तालीम

गलकोट ।

बागलुङ नगरपालिकाले भूकम्पीय जोखिम न्यूनीकरण गर्न घरधनी र डकर्मीलाई भूकम्प प्रतिरोधी घर निर्माणसम्बन्धी तालीम गराउन थालेको छ ।

भूकम्पबाट हुनसक्ने सम्भाव्य जोखिमबाट बच्न नगरपालिकाले नगरक्षेत्रभित्र भूकम्प प्रतिरोधी संरचना निर्माण गर्न सचेतनामूलक तालीमको समेत आयोजना गर्दै आएको हो । नगरपालिकाले घर निर्माणका लागि नगरपालिकामा आउने घरधनीलाई एकदिने भूकम्प प्रतिरोधी घर बनाउने तालीम प्रदान गर्दै आएको छ भने समय–समयमा डकर्मी तालीमको समेत आयोजना गर्दै आएको छ ।

Batas

भूकम्पीय जोखिम न्यूनीकरणका लागि नगरमै दक्ष डकर्मी उत्पादन गर्ने उद्देश्यले ४ नं वडा कार्यालयमा बिहीबार एकहप्ते डकर्मी तालीम सम्पन्न भएको छ । ‘दरो घर, दिगो बस्ती’ भन्ने नाराका साथ ३० डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी तालीम प्रदान गरिएको नगरपालिकाका नक्सा विभाग प्रमुख इञ्जिनीयर गौरव शर्माले बताए।

नगरपालिका र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको आयोजना तथा अमेरिकी सहायता नियोगको आर्थिक सहयोगमा तालीम सञ्चालन भएको हो । “हामीले घर निर्माण गर्ने घरधनी र काम गर्ने डकर्मीलाई तालीम प्रदान गरी दक्ष बनाएका छौँ”, शर्माले भने, “तालीमप्राप्त डकर्मीले वडामा गएर अन्य डकर्मीसमेत उत्पादन गर्ने व्यवस्था नगरले मिलाउनेछ ।”

तालीम प्राप्त डकर्मी तथा सचेत घरधनीका कारण नगरभित्रका भौतिक संरचना भूकम्पीय जोखिममुक्त हुने नगरको अपेक्षा छ । नगरपालिकाले ५०० स्थानीयलाई भूकम्प प्रतिरोधी घर निर्माण गर्न दक्ष डकर्मी उत्पादन गर्ने लक्ष्य राखेको छ ।

नगरपालिकाले हालै घर नक्सापासमा समेत कडाइ गरेको छ । नगरभित्र घर बनाउँदा विशेषज्ञ इञ्जिनीयरले तयार पारेको नक्सा र अनिवार्य माटो परीक्षण गरेर मात्र घर निर्माणका लागि आवश्यक अनुमति प्रदान गर्ने गरेको छ । नगरपालिकामा मापदण्डविपरीत घर निर्माण भइसकेका घरलाई समेत जरिवानाको दायरामा ल्याएको नगरप्रमुख जनकराज पौडेलले बताए ।

नेपालमा परम्परागत शैलीदेखि आधुनिक शैलीमा घर निर्माण भइरहेकाले त्यस्ता घरलाई बलियो बनाउनका लागि गाउँदेखि शहरसम्म सचेतना जगाउन आवश्यक रहेको नगरप्रमुख पौडेलले बताए ।

मानिसले आफ्नो जीवनमा सबैभन्दा बढी भरोसा गर्ने आफ्नै घर निर्माणमा सचेत नबन्दा आफ्नै ज्यानसमेत जान सक्ने भएकाले सचेत भएर घर निर्माण गर्न लाग्नुपर्ने ‘दरो घर, दिगो बस्ती’का कार्यक्रम अधिकृत विनोद सापकोटाले बताए। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.