www.tandavnews.com
Fact ~ In search of truth

तनहुँको चुँदीखोलामाथिको पुल निर्माणमा ढिलाइ

तनहुँ ।
ठेकेदारको लापरवाहीले तनहुँ, भानु नगरपालिका–६ र ७ जोड्ने चुँदीखोलामाथि निर्माणाधीन पुल ढिलाइ भएको छ । विसं २०७५ वैशाख २८ गते निर्माण भइसक्नुपर्ने पुल ठेकेदारको लापरवाहीले अलपत्र परेको हो ।

तत्कालीन जिल्ला विकास समितिमार्फत आर्थिक वर्ष २०७२÷७३ मा पुल निर्माणका लागि रु दुई करोड ८७ लाखमा ठेक्का लागेको थियो । निर्माणको ठेक्का पाएको स्वच्छन्द÷मनाजेभी प्रालिको लापरवाहीको कारण समयमै पुल निर्माण हुन नसकेको स्थानीयवासी कृष्णराज ढकालले बताए।

उहाँका अनुसार ठेकेदारले तत्कालै पुल निर्माणको काम अगाडि नबढाए कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको छ ।स्थानीयवासी समेत रहेका भानु नगरपालिकाका कार्यकारिणी सदस्य देवबहादुर भुजेलका अनुसार पुल निर्माणमा ठेकेदारले चासो देखाएका छैनन् भने ठेकेदारलाई काम गराउनका लागि सम्बन्धित निकायले समेत दबाब दिएको छैन । उनले भने, “पुल निर्माणमा भएको ढिलाइबारे यसअघि पनि सम्बन्धित निकायमा ध्यानाकर्षण गराएका हौँ । तैपनि काम अगाडि बढ्न सकेको छैन ।”

पुल निर्माण नहुँदा वर्षायाममा सर्वसाधारणलाई आवतजावत गर्न समस्या पर्ने गरेको उनको गुनासो छ । “पुल कहिले सम्पन्न होला भनेर स्थानीयवासीले कुर्न थालेको धेरै भयो । अब वर्षायाम शुरु हुने बेला भयो”, उनले भने ।स्थानीयवासीले पुल निर्माणमा ढिलाइ भएको बारे सोमबार जिल्ला समन्वय समिति तनहुँको समेत ध्यानाकर्षण गराएका छन् ।

समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेसँग भेट गर्दै उनीहरुले आगामी वैशाख ५ गतेभित्र ठेकेदारले काम नगरे त्यसपछि आन्दोलनका कार्यक्रम सञ्चालन गरिने चेतावनी दिए । प्रमुख वाग्लेले वैशाख ५ गतेभित्र पुल निर्माणको काम शुरु गर्न ठेकेदारलाई आग्रह गरिएको जानकारी दिए । “त्यसपछि के गर्ने भन्ने विषयमा थप छलफल गर्छौँ”, उनले भने, “ठेक्का बदर गर्नुभन्दा ठेकेदारलाई नै फकाएर काम लिनु उत्तम हुने देखिन्छ ।”

निर्माण व्यवसायी महेन्द्र अधिकारीले वैशाख ५ गतेभित्र पुल निर्माणको काम शुरु गरिने बताए । “निर्माण भएको कामको बिलअनुसारको भुक्तानी हुन ढिलाइ भएकाले काम अगाडि बढ्न समस्या परेको हो”, उनले भने, “ कामदार बिदामा घर गएको र नआइपुगेकाले पनि केही समस्या परेको छ ।” रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.