www.tandavnews.com
Fact ~ In search of truth

नयाँ वर्ष : बेथितिविरुद्ध लड्ने प्रधानमन्त्री ओलीको सङ्कल्प

काठमाडौँ।

नयाँ वर्ष २०७६ साल आजबाट शुरु भएको छ । विक्रम संवत् अनुसार वर्ष २०७५ साललाई बिदा गरी आजबाट वर्ष २०७६ साल शुभारम्भ भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको चाहना शान्ति, एकता र विकास भएको बताउँदै आफू त्यसनिम्ति प्रतिबद्ध रहेको बताएका छन् । नववर्ष २०७६ का अवसरमा आज बिहान प्रधानमन्त्री निवासबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सुशासन र समृद्धिको बाधक भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर लडिरहने सङ्कल्प गरे ।

Batas

समृद्धि सुखको आधार भएको, उच्च र दिगो उत्पादन÷उत्पादकत्व वृद्धिप्रति वर्तमान सरकारको एक मात्र उद्देश्य भएको बताउँदै प्रधानमन्त्रीले सामजिक न्याय सहितको समुन्नति आफूले चाहेको उल्लेख गरे ।

सबैखाले अतिवाद, अशान्ति, आतङ्क र गडबडीबाट मुलुकलाई शीघ्र मुक्त गराइने, लामो द्वन्द्व र सङ्क्रमणकाल अन्त्य गरेर बल्ल स्थायित्वको बाटोमा हिँड्न लागेको मुलुकमा अर्को हिंसाको दुष्चक्र किमार्थ स्वीकार्य नहुने दोहोर्याउँदै उनले शान्तिपूर्ण रूपमा गरिने विरोध र असहमतिलाई हाम्रो संविधानले नै प्रत्याभूत गरेको यथार्थ सुनाए । उनले भने, “अवाञ्छित प्रतिगामी प्रयासहरु र संविधान विरोधी गतिविधिहरु कडाइका साथ नियन्त्रण गरिनेछ ।”

machhapuchre
madi

पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षको स्वागत गरिरहँदा समयलाई हेक्का राख्न सबै नेपालीलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले यसै कार्यकालमा देशलाई ‘अतिकम विकसित मुलुक’को टिठलाग्दो हैसियतबाट उकास्ने, सन् २०३० मा तोकिएको दिगो विकास लक्ष्य भेट्टाउने लक्ष्यका साथ काम गरिरहेको बताए ।

सुशासन कायम गर्न वर्तमान सरकार गम्भीर भएर लागेको तथा गत साल आफूले बेथिति र भ्रष्टाचारविरुद्धको अभियान नै सञ्चालन गरेको जानकारी दिँदै यो वर्ष पनि सुशासनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आफू दृढ रहेको बताए ।

प्रधानमन्त्रीले भने, “सुशासन, परिष्कृत तथा मर्यादित जीवन, सभ्य र न्यायपूर्ण समाज, स्वस्थ्य र सन्तुलित पर्यावरणीय पद्धति, सवल लोकतन्त्र, राष्ट्रिय एकता र सम्मान’ ‘सुखीपन’का सूचक हुन् । हामीले थालेको रोजगारी र लगानीका विभिन्न कार्यक्रमहरु समृद्धिका हिस्सा हुन् । सुशासन समृद्धिको लागि पूर्वशर्त हो ।” रासस

फाइल तस्बिर

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

classic tech
You might also like

Comments are closed.