www.tandavnews.com
Fact ~ In search of truth

वन विज्ञान पढ्नका लागी सिट खोज्दै २२ जिल्लाका विद्यार्थी तनहुँमा

दमौली।

तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारमा गत मङ्सिर २ गतेदेखि सञ्चालनमा आएको कालीगण्डकी प्राविधिक शिक्षालयमा वन विज्ञान पढ्न विभिन्न २२ जिल्लाबाट विद्यार्थी आएका छन् ।

शिक्षालयका प्रमुख गोविन्द पौडेलका अनुसार तनहुँ, लमजुङ, स्याङ्जा, कालीकोट, बझाङ, अछाम, कैलाली, दैलेख, जुम्ला, रुकुम, दार्चुला, बाजुरा, महोत्तरी, जाजरकोट, सल्यान, हुम्ला लगायतका जिल्लाबाट विद्यार्थी अध्ययनका लागि आएका छन् ।

Batas

चालीस जनाको कोटा रहेको यस शिक्षालयमा हाल ३७ जना विद्यार्थी अध्ययनरत छन् जसमध्ये २४ जना छात्र र १३ जना छात्रा रहेका छन् । पौडेलका अनुसार अधिकाँश छात्रछात्रा कर्णाली प्रदेशका छन् ।उनले भने – “त्यस क्षेत्रमा वन विज्ञानको पढाइका लागि सिट सङ्ख्या सकिए पनि विद्यार्थीहरु खोज्दै तनहुँसम्म आइपुगेका हुन् ।”

शिक्षालयमा अध्ययनरत जुम्लाका शैलेन्द्र बोहरा अध्ययन गर्न चाहनेलाई भेगले नछेक्ने बताउछन् । नेपालमा प्राविधिक शिक्षाको माग बढी भएकाले आफूले वन विज्ञानलाई अध्ययनका लागि रोजेको उनको भनाइ छ । उनले भने – “आफ्नै ठाउँमा बसेर अध्ययन गर्ने चाहना त थियो तर, वन विज्ञान पढाइ भएका शैक्षिक संस्थामा सिट सङ्ख्या थिएन । पछि बुझ्दै जाँदा तनहुँमा रहेछ ।”शिक्षालयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)मातहत ११ जना र निजी स्रोतमा पाँच जना कर्मचारी कार्यरत छन् ।

शिक्षालयका प्रशिक्षक शिवभक्त सिग्देल जिल्लाको ग्रामीण भेगमा सञ्चालनमा आएको शिक्षालयमा समेत विद्यार्थीको आकर्षण बढ्नु खुशीको कुरा भएको बताउछन् । वन विज्ञानको तीन वर्षे कोर्षका लागि विद्यार्थीले ९२ हजार शुल्क तिर्नुपर्छ । टाढा–टाढाका जिल्लाबाट आएका अधिकाँश विद्यार्थी पुट्टार क्षेत्रमै डेरा लिएर बसेका छन् । तीन वर्षसम्मको अध्ययनका लागि करीब पाँच÷छ लाख रुपैयाँ खर्च हुने अनुमान शैलेन्द्रको छ ।

मन्त्रिपरिषद्बाट निर्णय भई सञ्चालनमा आएको प्राविधिक शिक्षालयको अहिलेसम्म आफ्नै भौतिक संरचना छैन । अहिले सोही ठाउँमा रहेको कृष्ण माध्यमिक विद्यालयमा वन विज्ञानको पढाइ भइरहेको छ ।विद्यालयले वन विज्ञान सञ्चालनका लागि तीन वटा कोठा उपलब्ध गराएको छ । एउटा कोठा प्रयोगशालाका लागि प्रयोगमा ल्याइएको छ भने दुई वटा कोठामा अध्ययन अध्यापन हुन्छ । शिक्षालयको प्रशासनिक भवनका लागि स्थानीयवासी ऋषिबहादुर दरैको घर भाडामा लिइएको छ ।

उनले भने – “भौतिक संरचना अभावकै बीचमा पनि पढाइ शुरु गर्न सफल भएका छौं । कृष्ण माध्यमिक विद्यालयले पढाइ सञ्चालनका लागि ठूलो सहयोग पुर्याएको छ ।”शिक्षालयले आगामी वर्षको दशै अगावै भवन निर्माण गर्ने तयारी थालेको छ । सोही ठाउँमा रहेको ७२ रोपनी जग्गा शिक्षालयको नाममा मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ ।

सोही जग्गामा तत्कालका लागि चार कोठे भवन निर्माण गर्ने तयारी भएको पौडेलले जानकारी दिए । भवन निर्माणका लागि सिटिइभिटीले ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।त्यसैगरी, स्थायी पूर्वाधार तयारीका लागि गण्डकी प्रदेश सरकारबाट २० लाख रुपैयाँ विनियोजन भएको छ ।

शान्तबहादुर श्रेष्ठ शिक्षा मन्त्रालयको सचिव भएका बेला कालीगण्डकी प्रााविधिक शिक्षालय यस ठाउँमा स्थापना गर्न सहयोग पुगेको थियो । श्रेष्ठ समग्र घिरिङ क्षेत्रको शैक्षिक उन्नयनका लागि प्राविधिक शिक्षालयले महत्वपूर्ण योगदान पुर्याएको बताउछन् ।

उनी भन्छन् – “वन विज्ञानको जनशक्तिको नेपालमा ठूलो माग छ । त्यो मागलाई पूरा गर्न कालीगण्डकी प्राविधिक शिक्षालयले सहयोग पुग्छ ।”घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर राना गाउँपालिकामा प्राविधिक शिक्षालय स्थापना भएर पढाइ शुरु हुनु खुशीको कुरा भएको बताउछन् । शिक्षालयको भौतिक पूर्वाधार निर्माणमा गाउँपालिका सक्दो सहयोग गर्न तयार छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.