www.tandavnews.com
Fact ~ In search of truth

प्रवलीकरणप्रति लाभग्राहीले देखाएनन् चासो

गलकोट ।

विसं २०७२ को भूकम्पमा सामान्य क्षति पुगेका घरलाई जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङले प्रवलीकरण (रेक्ट्रोफिट) को तयारी गरे पनि लाभग्राहीले चासो देखाएका छैनन् । आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले प्रवलीकरणका लागि सर्वेक्षण गरेका जिल्लाका ८२ लाभग्राहीले प्रवलीकरणका लागि चासो नदिएका हुन् ।

आयोजनाका अनुसार ८२ प्रवलीकरणका लाभग्राहीमध्ये ५१ घरले सम्झौता गरेर पहिलो किस्तावापतको ५० हजार रुपैयाँ लगेका छन् भने ३१ घर सम्झौता गर्न आएका छैनन् । सरकारले भूकम्पपछि पूर्ण लाभग्राही र प्रवलीकरण गर्न मिल्ने दुई प्रकारमा सर्वेक्षण गरेकोमा पूर्ण लाभग्रहीले घर निर्माणमा चासो देखाए पनि प्रवलीकरण गर्नुपर्ने लाभग्राहीले बेवास्ता गरेको आयोजना प्रमुख इञ्जिनीयर रामाशिष साहले बताए ।

Batas

भूकम्पछिको पुनःनिर्माण झण्डै ५० प्रतिशत बढी प्रगति भएको यस जिल्लामा हालसम्म एउटा घरसमेत प्रवलीकरण नभएको साहको भनाइ छ । “३१ लाभग्राही प्रवलीकरणको सम्झौता गर्नै आएनन्”, साहले भने, “सम्झौता भएका घरले पहिलो किस्ता लगेर प्रवलीकरणमा चासो नदेखाउँदा काम गर्न समस्या भएको छ ।”

सरकारले पूर्णरूपमा घर क्षति पुगेकालाई पूर्ण लाभग्राही तथा सामान्य क्षति पुगेकालाई प्रवलीकरणमा समावेश गरेर अनुदानको कार्यक्रम ल्याएको छ । पूर्ण लाभग्राहीले तीन किस्तामा तीन लाख रुपैयाँ पाउनेछन् । प्रवलीकरण लाभग्राहीले दुई किस्तामा एक लाख रुपैयाँ पाउनेछन् ।

भूकम्पमा सामान्य क्षति पुगेकालाई प्रवलीकरण गरेमा भूकम्प प्रतिरोधी बनाउन सकिने प्राविधिक बताउँछन् । प्राविधिकलाई विशेष किसिमको तालीम प्रदान गरेर प्रवलीकरणका लागि लाभग्राहीको घरमा पठाउने तयारी गरिरहेको भए पनि लाभग्राहीले त्यसो गर्न नचाहेको आयोजना कार्यान्वयन एकाइले जनाइको छ ।

जिल्लामा निजी आवासका पुनःनिर्माणका लागि दुई हजार ३७५ ले निवेदन दिएकामा दुई हजार ११३ ले योजना सम्झौता गरी प्रथम किस्ता लगेका छन् । एक हजार ३९ ले दोस्रो किस्ता र ६१५ लाभग्राहीले अन्तिम किस्ता लगेको अयाजना कार्यान्वयन एकाइका नायबसुब्बा चुर्ण कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार २६२ ले निजी आवास पुनःनिर्माण गर्न सम्झौता गर्नै नआएको र एक जनाले सम्झौतापछिको ५० हजार रुपैयाँ रकम फिर्ता गरेका छन् । यस्तै छुट तथा पुनःसर्वेक्षणका लागि हालसम्म ७०६ लाभग्राहीले निवेदन दिएको बताइएको छ । एकाइका अनुसार जिल्लामा ४० विद्यालय, एक गुम्बा, तीन एकीकृत बस्ती तथा बुर्तिवाङ–खुङ्गा हुँदै बोङगादोभानको ९.८ किलोमिटर सडक निर्माणाधीन अवस्थामा छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.