www.tandavnews.com
Fact ~ In search of truth

असार १० मै सार्वजनिक गर्ने गरी बागलुङका स्थानीय तहमा बजेट छलफल

बागलुङ ।

बागलुङ जिल्लाका स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि सरोकारवालासँग अन्तरक्रिया शुरु गरेका छन् । असार १० गतेसम्म नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरी पहिलो चरणको छलफल थालिएको हो ।

जिल्लाका सबै पालिकाले पहिलो चरणमा विषयगत समितिमा छलफल गर्ने, योजना तर्जुमा गोष्ठी सञ्चालन गर्ने, सुझाव सङ्कलन गर्ने र आन्तरिक तयारीको काम थालेका हुन् । आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटलाई व्यवस्थित र व्यावहारिक बनाउने गरी सबै तहमा सुझाव सङ्कलनसहित छलफलको काम थालिएको जैमिनी नगरपालिकाका उपप्रमुख लीला रानाले बताए ।

Batas

विकासे योजना, आन्तरिक स्रोतको व्यवस्थापन, राजश्व र अनुदानलगायतका विषयमा छलफल शुरु भएका छन् । जिल्लाकै बडिगाड गाउँपालिकाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक नीति, कार्यक्रम बजेट तथा योजना तर्जुमा एवं गाउँपालिकाको राजश्व क्षमता वृद्धिसम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सकेर आन्तरिकरूपमा विषयगत समितिभित्र छलफल शुरु गरेको छ ।

गाउँपालिकाले तत्कालै तथा दीर्घकालीनरूपमा प्रतिफल आउने गरी योजना निर्माण र सञ्चालन गर्न सरोकारवालाका बीचमा छलफल थालिएको बडिगाड गाउँपालिका–२ का वडाध्यक्ष विष्णु भुसालले बताए । पछिल्लो समय करको विषयमा निकै चर्चा हुने गरेको भन्दै पालिकाले करको दायरा र दरका विषयमा समेत छलफल थालेका छन् ।

आम सर्वसाधारणमा करको दायरा बढाउँदा करको दर बढेको भ्रम पर्ने गरेकाले खुलेर करको विषयमा पनि छलफल थालिएको भुसालले बताए । चालू आर्थिक वर्षका योजना सम्झौता र कार्यान्वयनमा सक्रिय देखिएका बागलुङका पालिकाले आर्थिक वर्षको कार्यक्रमका लागिसमेत छलफल र अन्तरक्रिया थालेका हुन् ।

आगामी जेठ महीनाभरि वडा तथा टोलटोलबाट योजनाको आवश्यकता र प्राथमिकता निर्धारणका लागि छलफल गर्ने गरी कार्यालय तथा विषयगत समितिमा छलफल शुरु भएको काठेखोला गाउँपालिकाका अध्यक्ष अमार थापाले बताए । “जनचाहनाअनुसारको नीति तथा कार्यक्रमका लागि हामी तयारीमा लागेका छौँ”, थापाले भने, “सबैको साझा कार्यक्रमका रूपमा पालिकाको कार्यक्रम हुनुपर्छ भन्ने हाम्रो धारणा हो ।”

पालिकाले मौखिक तथा लिखित सुझावसमेत माग्ने गरेका छन् । पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व बोधका लागि जनस्तरको सुझाव सङ्कलन गर्न लागेको बताउने गरिएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.