www.tandavnews.com
Fact ~ In search of truth

करोडौं लगानीका योजना अलपत्र

सञ्जय रेग्मी
पर्वत, ताण्डव न्यूज । 

पर्वतमा रहेका ठूलाठूला निर्माणाधीन अवस्थामा रहेका योजनाहरु अलपत्र परेका छन् । कहीँ निर्माणको जिम्मा लिएकाहरूको लापरबाही, कहीँ बजेटको अभाव त कहीँ निर्माणको क्रममा रहेका योजनालाई संघ वा प्रदेश कुन सरकारले हेर्ने भन्ने यकिन नहुँदा काम अगाडि बढेको छैन् ।

कतिपय योजनाहरू सम्पन्न भएर पनि अलपत्र छन् । निर्माणको बेलामा प्राविधिक पक्षलाई ध्यान नदिइएका कारण करोडौँ रुपैयाँ खर्चेर निर्माण सम्पन्न भएका योजनाहरू त्यसै छोडिएका छन् । कम बजेट भएका साना योजना जिल्लाका विभिन्न ठाउँमा लामो समयदेखि अलपत्र परेका छन् ।

जिल्लामा अलपत्र अवस्थामा रहेका योजनाहरूमध्ये साबिकको धौलागिरी अञ्चलको एक मात्र महिला बन्दी गृह, व्यवस्थित बसपार्क नै नभएका कारण निर्माण सुरु गरेर पनि अलपत्र परेको जिल्लाकै पहिलो व्यवस्थित बसपार्क, घुम्ती खनियाघाट सडक लगायतका योजनाहरू निकै महत्वपूर्ण मानिएका छन् । तर यिनै आयोजनाहरू लामो समयदेखि अलपत्र अवस्थामा छन् ।

सरकारले लाखौँ र करोडौँ रुपैयाँ लगानी गरिसकेका यस्ता आयोजना पूरा नहुनुको कारणबारे सम्बन्धित निकायले आवश्यक पहल गरेको देखिदैन् । जिल्लामा निर्माण सुरु गरेर वा निर्माण पूरा गरेर पनि अलपत्र परेका मुख्य ६ वटा आयोजनाहरूको अवस्था यस्तो छ ।

महिला बन्दी गृह निर्माण : ९ वर्षमा १० प्रतिशत काम सकियो

साबिकको धौलागिरी अञ्चलका चार जिल्लाहरू पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई समेट्ने गरी निर्माण थालिएको एक मात्र महिला बन्दी गृह ९ वर्षदेखि अलपत्र अवस्थामा छ ।

१० वर्ष अगाडि ७२ लाखको योजनामा बन्दी गृह निर्माणको काम सुरु गरिएको थियो । तर १४ लाख रुपैयाँ मात्र बजेट आएपछि १४ लाखको काम गरेर बन्दी गृह नै अलपत्र परेको छ । १४ लाख रुपैयाँ गृह निर्माण स्थल सम्याउने, जग राख्ने र दुई तर्पmको भित्ता निर्माण गर्ने काम सकिएको छ ।

तर आवश्यक परेको बजेट नआउँदा ९ वर्ष अगाडि इट्टाबाट निर्माण गरिएका भित्ताहरू समेत पल्टने अवस्थामा पुगेका छन् भने बन्दी गृह निर्माण गर्न लागिएको ठाउँमा बुट्यान र घाँसले ढाकेको छ । २५ जना क्षमताको उक्त बन्दी गृह निर्माण कार्य पूरा गर्नको लागि पटक–पटक सम्बन्धित निकायमा रकम माग गर्दा पनि निकासा भएको छैन । तत्कालीन समयमा आएको १४ लाख रुपैयाँको काम बालुवाको पानी बनेको छ ।

जिल्ला कारागार कार्यालयका निमित्त प्रमुख प्रकाश पौडेलले निर्माण कार्य पूरा गर्नका लागि हरेक वर्ष बजेटको माग गरिएको भए पनि कहीँ कतैबाट बजेट विनियोजन नभएको सुनाए । ‘अलपत्र अवस्थाको बन्दी गृह सम्पन्न गर्न बर्सेनी बजेट माग गरेको भए पनि कुनै सुनुवाइ भएको छैन । आर्थिक अभावले पूर्णता दिन सकिएको छैन,’ उनले भने ।

२०६६ सालको माघबाट निर्माण सुरु गरिएको बन्दीगृहको काम १० प्रतिशत मात्र सकिएको छ । एक वर्षभित्रमा निर्माण गरिसक्ने भनिएको बन्दीगृहको काम निर्माण सुरु गरेको ९ वर्ष हुँदा ९० प्रतिशत काम बाँकी रहेको छ ।

महिलाका लागि छुट्टै बन्दी गृह निर्माण गरिएको धौलागिरी क्षेत्रकै यो पहिलो हो । उक्त गृहमा बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङका महिला बन्दीलाई राख्न मिल्ने गरी निर्माण गर्न सुरु गरिएको थियो । महिला बन्दी गृह निर्माण हुन नसकेपछि कारागारभित्रै विभाजन गरेर दुई भागमा महिला पुरुषलाई राखिएको छ । क्षमताभन्दा तेब्बरको संख्यामा कैदी बन्दी राख्नुपर्दा निकै समस्या परेको कार्यालयका कर्मचारीहरु बताउँछन् ।

अलपत्र प¥योे बसपार्क निर्माण योजना

पर्वत सदरमुकाम कुश्मा बजार साबिकको धौलागिरीका चार जिल्लाहरू पर्वत, बागलुङ, मुस्ताङ र म्याग्दी प्रवेश गर्ने सबैभन्दा बढी चलेको नाका हो । यी जिल्लाहरूमा आउजाउ गर्ने सयौँका संख्याका सवारी साधनहरू पर्वत आउँदा सडककै छेउमा पार्किङ हुने गरेका छन् ।

१ करोड ५९ लाख रुपैयाँ बजेट विनियोजन गरेर निर्माणको काम प्रारम्भ गरिएको भए पनि यो काम अलपत्र अवस्थामा छ । तत्कालिन जिल्ला विकास समितिले बसपार्क निर्माणका लागि पहल गरे पनि बजेट अभाव भएकै कारण पर्वत जिल्लाले व्यवस्थित बसपार्क पाउन सकेको छैन ।

बसपार्क निर्माणका लागि तयार पारिएको गुरुयोजना हालसम्म पनि पूरा हुन सकेको छैन । बसपार्क निर्माणका लागि करिब १२ रोपनी जग्गा प्रस्ताव गरिएको छ । तत्कालिन जिल्ला विकास समिति मार्पmत काम सुरु गरिएकोमा १८ लाख रुपैयाँ बजेट त विनियोजन भयो तर बाँकी बजेट आउन नसक्दा जिल्लाको प्रतीक्षित मानिएको योजना नै तहसनहस अवस्थामा छ ।

२०६७ सालबाट निर्माण थालिएको बसपार्कको हालसम्म १५ प्रतिशत काम मात्र पूरा भएको बसपार्क निर्माण समितिका अध्यक्ष एकनारायण गिरी बताउँछन् । कुल ८ रोपनी क्षेत्रफलमा निर्माण सुरु गरिएको बसपार्क सम्पन्न भएपछि स्थानीयलाई आवतजावतमा सहज हुने अपेक्षा थियो ।

बसपार्कको अभाव भएपछि सवारी धनीहरूले आ–आफ्नो घरअगाडि सवारी साधन राख्ने गरेका छन । व्यवस्थित बसपार्क नहुँदा सवारीसाधनका महत्वपूर्ण पार्टपुर्जा चोरी हुने गरेको बसधनीहरुको गुनासो छ । बसपार्कको अभावले सवारीसाधन व्यवस्थापनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामकृष्ण गौली बताउँछन् ।

२०७१ सालमा कुस्मा नगरपालिका घोषणा भएको भए पनि नगरपालिकाले अहिलेसम्म बसपार्कका लागि आवश्यक बजेट विनियोजन गर्नतर्फ चासो देखाएको छैन । जिल्लाकै एक मात्र बसपार्क समेत १० वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नहुनुले सरोकारवालाहरूको गैर जिम्मेवारपन प्रमुख कारण देखिएको छ ।

वायु ऊर्जा

२०६३ सालमा पर्वतको महाशिला गाउँपालिका ६ फलामखानीमा हावाबाट बिजुली निकाल्ने भनी एक करोडको लागतमा वायु ऊर्जा केन्द्र निर्माण भयो ।

Lama collectio News Middle

निर्माण पूरा भएर एक वर्ष सम्म विद्युत उत्पादन गरिरहेको आयोजना अहिले अलपत्र अवस्थामा छ । केन्द्रबाट विद्युत उत्पादन गर्न बन्द भएसँगै केन्द्रमा जोडिएका लाखौँ मूल्यका सामग्रीहरू अलपत्र छन् ।

कतिपय मेसिनरी सामग्रीहरूको अब अवशेष मात्र बाँकी छन् । निर्माणका बेलामा एक करोड रुपैयाँको लगानी गरिएको भए पनि त्यसपछि आवश्यक मर्मत र सुधारका लागि कतैबाट पनि बजेट नगएपछि मर्मतकै अभावमा एक वर्षमै केन्द्र अलपत्र बनेको हो ।

वायु ऊर्जा केन्द्रलाई पुनः सञ्चालन गर्न सम्बन्धित निकायलाई स्थानीयवासीले माग गरे पनि कसैले सुनेका छैनन् । समुन्द्री सतहदेखि २२ सय मिटरको उचाइमा रहेको अत्यधिक हावा लाग्ने पर्वतको फलाम खानी ढडेनको डाँडामा उक्त वायु ऊर्जा केन्द्र स्थापना गरिएको थियो । करिब १२ किलोवाट क्षमताको उक्त केन्द्र सञ्चालनमा आएपछि फलाम खानी, भंगरा लगायतका करिब एक सय ५० घरधुरीका बासिन्दा प्रत्यक्ष लाभान्वित भएका थिए ।

खानेपानी आयोजना

जिल्लाको कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा २०५२ सालमा निर्माण भएको टुनीखोला आयोजना निर्माण पूरा हुँदासाथ नै अलपत्र परेको छ । २३ वर्ष अगाडि जिल्लाको गौरवको योजना मानिएको खानेपानी आयोजनाबाट स्थानीय झन्डै ४ सय भन्दा बढी घरधुरीलाई प्रत्यक्ष फाइदा पुगेको थियो ।

पानीको चरम समस्या रहेको ठूलीपोखरीका बासिन्दाले सोचेका थिए, अब सधैँका लागि खानेपानीको समस्या टर्ने भयो । तर उनीहरूको त्यो सपना भने एक वर्षमै भताभुङ्ग भयो । करिब एक वर्षसम्म धारामा पानी त्यसपछि बिस्तारै धारामा पानी आउन छोड्यो । अहिले आयोजनाको रिजर्भेसन ट्याङ्की मात्र देख्न पाइन्छ, पानी खस्ने धाराहरुको त अवशेष पनि बाँकी छैन ।

वडाध्यक्ष राजेन्द्र पौडेलका अनुसार टुनीखोलामा रहेको पानीको मुहान र पानी जम्मा गरेर गाउँमा वितरण गर्नका लागि निर्माण गरिएको रिजर्भेसन ट्याङ्कीबीचको उचाइको तह नमिलाईकन निर्माण गरेका कारण नै निर्माण पूरा गर्ने बित्तिकै आयोजना बन्द भएको हो ।

‘आयोजना बन्द हुनुमा उपभोक्ताको दोष छैन । त्यो बेलाका प्राविधिकहरूका कारण नै आयोजना बन्द भएको हो,’ उनले भने, ‘आयोजना अन्तर्गत पानीको मुहान भन्दा पानी संकलन गर्ने रिजर्भेसन ट्याङकी उचाइमा छ, अनि पानी नै ट्याङकी नगएपछि त आयोजना बन्द हुने नै भयो ।’

आयोजना अन्तर्गत रिजर्भेसन ट्याङ्कीलाई पानीको मुहानभन्दा तल पर्ने गरी निर्माण गर्ने हो भने आयोजना अझै पनि सुचारु हुन सक्ने स्थानीय शिक्षक राजु सापकोटाले बताए । उपभोक्तादेखि सरकारी निकायसम्मले अलपत्र आयोजनाको बारेमा चासो नदिँदा ठूलीपोखरीमा सधैँ भरी पानीको अभाव हुने गरेको उनको भनाइ छ ।

गण्डकी प्रदेश मन्त्रालयमा झन्डै ४ करोड रुपैयाँ सोही आयोजनाको लागि विनियोजन गर्ने गरी कुराकानी भइरहेको वडाध्यक्ष पौडेलको भनाइ छ ।

कुश्मा खनीयाघाट वैकल्पिक सडक

जिल्लाको कुश्मा नगरपालिका २ घुम्तीदेखि जलजला गाउँपालिका ८ खनियाघाट जोड्ने गरी निर्माण आरम्भ गरिएको सडकको केही भाग ट्रयाक खुलाएपछि अलपत्र परेको छ । घुम्ती लाम्पाटा हिमालय मावि खुर्कोट पाङ नुवार खनियाघाट नाम दिइएको सडकलाई कुश्माबाट म्याग्दी पुग्ने सडकको वैकल्पिक सडकको रूपमा विकास गर्न लागिएको थियो ।

२०७३ सालमा जयबाबा गोरख ओखलढुंगा कन्स्ट्रक्सन एन्ड सप्लायर्सले सडक निर्माणको लागि ठेक्का सम्झौता गरेको थियो । २०७५ सालको असार सम्ममा कालोपत्रे सहित सडकको काम सक्ने गरी ६ करोड ९६ लाख ९० हजार ६ सय ३१ रुपैयाँमा निर्माण कम्पनीले ठेक्का लिएको थियो । १५ किलोमिटर लामो सडकको हालसम्म ३ सडक मात्र निर्माण भएको छ ।

खनियाघाट लगेर कुस्मा म्याग्दी सड्कमा जोड्ने भनिएको सडक खुर्कोटमा पुगेर अड्किएको छ । निर्माण कम्पनीले अहिलेसम्म ३ करोड ६७ लाख ६८ हजार १ सय ६३ रुपैयाँ भुक्तानी पनि लगिसकेको छ ।

स्थानीयवासीले सडक निर्माणको काम छिटो हुनुपर्ने माग गर्दै पटक–पटक जिल्ला प्रशासन कार्यालय पर्वत र सडक डिभिजन कार्यालय बागलुङमा पुगेर ध्यानाकर्षण गराएका छन् । तर उनीहरूको ध्यानाकर्षणप्रति कसैको पनि ध्यान जान सकेको छैन् ।

समयमै काम पूरा नगरेको ठेकेदार कम्पनीप्रति भने जिल्ला प्रशासन कार्यालयको नजर पर्न सकेको छैन् । गृहले सूची माग गरेका बेला प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललाई सम्पर्क गर्दा उनले काम पूरा नगरेका ठेकेदारहरूलाई समयमै काम सक्न भनिएको र गृहमा कसैको पनि सूची नपठाइएको बताएका थिए ।

तरकारी उत्पादनमा पकेट क्षेत्र मानिएको कुश्मा नगरपालिका १ पाङ र २ खुर्कोटका नागरिकलाई निकै छोटो पर्ने गरी निर्माण सुरु गरिएको सडकको ट्रयाक मात्र खोलिएका कारण पैदल यात्रा गर्नेहरूलाई झनै सास्ती भएको छ । साबिकको घोडेटो बाटो डोजर लगाएरभत्काएर त्यतिकै छोडिएका कारण पैदलयात्रीको बाटो समेत बन्द भएको छ ।

बनेन पुल

पर्वतको मोदी गाउँपालिका १ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका ८ जोड्ने भुरुङ्दीखोला माथिको निर्माणाधिन पुल झन्डै चार वर्षअघि निर्माण सुरु भए पनि अलपत्र रहेको छ । निर्माण सुरु भएको केही महिनामै ठेकेदारले काम छाडेर हिँडेपछि पुल अलपत्र परेको थियो । प्रतिनिधि सभाका सांसद पदम गिरीले समयमै काम नसकिएपछि ढिलै भए पनि काम सकाउन निर्माण कम्पनीसँग कुरा गरेपछि अहिले भने कास्कीको अन्नपूर्ण गाउँपालिकाको भागमा पुल निर्माणको लागि खाडल खन्ने काम सुरु भएको छ ।

समयमा पुल नबन्दा पर्वतको भुकताङ्लेका बासिन्दा बर्षायाममा यातायातको सुविधाबाट वञ्चित हुँदै आएका छन् । पर्वत र कास्कीको सिमानामा पर्ने रामदुवालीमा लामो समयदेखि भुकताङ्लेबासीले पक्की पुलको माग गर्दै आएका थिए । छ करोड १३ लाख रुपैयाँको लागतमा बन्न लागेको पुल चालु आर्थिक वर्ष ०७४÷०७५ मा सम्पन्न गर्नुपर्ने भए पनि अझै धेरै काम बाँकी रहेको छ । पुलको एकातर्फको पिल्लरमाथि उठाइएको छ । सडक डिभिजन कार्यालय बागलुङमार्फत यो पुलको निर्माण जिम्मा पोखराका राजेन्द्र भण्डारीले लिएका थिए । भण्डारीले विभिन्न समस्याले पुल निर्माण रोकिएको बताए ।

मोदी गाउँपालिका अन्र्तगत भुक, ताङ्ले, लप्सीबोट लगायतका बासिन्दा सदरमुकाम कुस्मा, प्रदेश राजधानी पोखरा तथा नजिकको बजार बिरेठाँटी, नयाँपुल पुग्नका लागि भुरुङ्दीखोलामाथि बन्न लागेको यो पुल अत्यावश्यक छ । प्रतिनिधिसभा सदस्य पदम गिरीले रोकिएका योजनालाई तत्काल निर्माण सुरु गरी सम्पन्न गर्न आफ्नो मुख्य अभियान रहने बताएका छन् । उनले विभिन्न पुलको अवलोकन तथा अनुगमन गर्दै निर्माण व्यवसायीलाई छिटो सम्पन्न गर्न दबाब दिएका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop