सञ्जय रेग्मी,
पर्वत /ताण्डव न्यूज ।
म्याग्दीको बेनी नगरपालिकामा रहेको एक सरकारी भवनमा निजी विद्यालयले अनुमति बिना कक्षा सञ्चालन गर्दै आएको पाइएको छ।
वडा नं. १० पात्लेखेतमा रहेको कृषि सेवा केन्द्रको भवनमा कृषि सेवा केन्द्रको बोर्ड त छँदै थियो, त्यस बाहेक ५ वर्षदेखि धौलागिरि पात्लेखेत इङलिस बोर्डिङ स्कुलको बोर्ड पनि टाँसिएको छ। तत्कालीन आरसियुपी परियोजना अन्र्तगत निर्माण भएको उक्त भवनमा कृषि सेवा केन्द्र राखिएको भए पनि केही समयपछि केन्द्र बन्द भयो। केन्द्र बन्द भएपछि नेपाल सरकारले निर्माण गरेको उक्त, भवनमा निजी विद्यालय चल्दै आएको छ।

पाँच वर्ष अगाडि तत्कालीन गाविसको अनुमति लिएर नै भवनमा निजी विद्यालय चलाइएको सञ्चालकहरूले बताएका छन्। त्यो बेलामा भवनको प्रयोग गरेबापत स्थानीय सामुदायिक विद्यालय आख्ले आधारभूतलाई मासिक एक हजार रुपैयाँका दरले निजी विद्यालयले शुल्क तिर्ने गरेको भए पनि केही समयपछि भने उक्त शुल्क नतिरेको पाइएको छ।
सरकारी भवनमा निजी विद्यालय सञ्चालन गरिनु गैर कानुनी काम भएको स्थानीयको भनाई छ। तत्कालीन समयमा गाविसको अनुमति लिएको भए पनि अहिले भने स्थानीय तहको अनुमति नलिएका कारण भवनबाट विद्यालय हटाइनुपर्ने स्थानीय कमल क्षेत्रीले बताए। विद्यालयले राजश्व समेत नतिर्ने गरेका कारण उक्त भवनमा चल्दै आएको निजी विद्यालयलाई हटाउन उनीहरूले स्थानीय पालिकामा दबाब पनि दिएका छ।
निजी विद्यालयका सञ्चालक समितिका सदस्य दिलबहादुर बुढाथोकीले भने बेवारिसे र जिर्ण अवस्थामा रहेको भवनलाई मर्मत गरेर बोर्डिङ सञ्चालन गरिएको बताउँदै भवनलाई सदुपयोग गर्दा आपत्ति जनाउनुपर्ने अवस्था नरहेको दाबी गरे। अहिले स्थानीय तहको अनुमतिका लागि कागजी प्रक्रियामै रहेको उनको भनाइ छ। ‘हाम्रा कागजातहरू वडा कार्यालयमा बुझाएका छौँ, अनुमति लिने प्रक्रियामा रहेका छौँ, पहिले मासिक एक हजार रुपैयाँ तिर्ने गरेकोमा अहिले त्यो पैसा नतिरेको साँचो हो तर हामी स्थानीय तहमा राजश्व बुझाउँछौँ।’ बुढाथोकीले भने।
भवनलाई तत्काल कुनै सेवा कार्यालय स्थापना गर्ने योजना नरहेको बताउँदै कुनै सरकारी कार्यालय बस्न आएमा निजी विद्यालय हटाउने बेनी वडाका कार्यवाहक अध्यक्ष लोकबहादुर पुनले बताए। सरकारी भवनमा चलेको सोही निजी विद्यालयकै कारण नजिकै रहेको सामुदायिक विद्यालय भने अस्तित्वको खतरामा पर्दै जान थालेको छ। कक्षा १ देखि ५ सम्म सञ्चालनमा रहेको निजी विद्यालयमा १ सय २० जना विद्यार्थी अध्ययनरत छन्।
तर नजिकै रहेको ओख्ले आधारभूत विद्यालयको कक्षा १ देखि ८ सम्म कुल १५ जना विद्यार्थी मात्र अध्ययनरत छन्।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.