www.tandavnews.com
Fact ~ In search of truth

धान फल्ने खेतमा केरा खेती

म्याग्दी ।

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँका किसानले धान फल्ने खेतमा केरा खेती गरेका छन् ।

धान, गहुँ, मकै बालीको विकल्पमा यहाँका कृषकले खेतका गह्रामा व्यावसायिक रुपमा केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन् । अन्नबाली जस्तै धेरै मिहिनेत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको कृषकहरुले बताएका छन् ।

Batas

केही वर्षअघि सम्म परम्परागत खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैँचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको कृषक खिमबहादुर कार्कीले बताए । कार्कीले खेतका गह्रामा २५० वटा केराका बिरुवा लगाएका छन् ।

त्यसैगरी अर्का कृषक भीमबहादुर कार्कीले पनि गुडुराको धान फल्ने चार रोपनी खेतमा केराका बिरुवा लगाएका छन् । “खेती गर्न झन्झटिलो हुने, कम उत्पादन हुने, खर्च बढी हुने र काम गर्ने मान्छे पनि नपाइने हुँदा धान फल्ने खेतमा अहिले केरा लगाएको हुँ,” कार्कीले भने ।

“यहाँका सबै कृषकले केरा खेती गरेका छन्, गाउँको करीब नौ हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको छ”, कार्कीले भने, “अबको दुई वर्षपछि वगरफाँट केराफाँटमा परिणत हुने भएको छ । करीब २० जना कृषकले बगैँचा नै बनाएर व्यावसायिक केरा खेती गरेका छन् । दश–पन्ध्र घारी केरा नलगाएको घर नै छैन । अम्बिका शर्मा, सरिता शर्मा, चन्द्रबहादुर घिमिरे, कृष्णप्रसाद रिजाल, भीमबहादुर कार्कीलगायतका कृषकले धान फल्ने खेतमा नै केरा खेती विस्तार गरेका छन् ।

मजदूर अभावमा खाद्यबाली हुने जमीन बाझिन थालेको अवस्थामा केरा खेती प्रभावकारी विकल्प बनेको स्थानीयवासी कृष्णप्रसाद रिजालले बताए । एक वर्षअघि गत वर्षको जेठमा यहाँका कृषकले करीब दुई हजार केराका बिरुवा लगाएका छन् । पकाएको प्रति १२ कोसा सय रुपैयाँका दरले बिक्री हुने गरेको छ । एउटै घारीबाट एक हजार कोसासम्म उत्पादन लिन सकिने कृषकले बताएका छन् ।

बिरुवा लगाएको डेढ वर्षमै उत्पादन लिन सकिन्छ । उत्तरतर्फ फर्किएको पाखोमा अवस्थित बगरफाँटको हावापानी केरा खेतीका लागि अनुकूल मानिन्छ । बेनी नजीकै भएकाले कृषकलाई बजारको समस्या छैन । बगरफाँटमा केरा उत्पादन हुन थालेपछि बेनीमा बाह्य जिल्लाबाट केराको आयात घट्ने फलफूल व्यापारीहरुले बताएका छन् ।

बेनी नगरपालिकाले बगरफाँट र खबरालाई केरा गाउँ बनाउने लक्ष्यसहित ‘एक वडा एक उत्पादन कार्यक्रम’ सञ्चालन गरेको वडा सदस्य चन्द्रबहादुर कुँवरले बताए । केरा खेतीसम्बन्धी कार्यक्रमका लागि यस वर्ष पनि तीन लाख रुपैयाँ विनियोजन भएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.