www.tandavnews.com
Fact ~ In search of truth

बूढीगण्डकी विस्थापितलाई पुनर्वासको व्यवस्था गर्न माग

गोरखा ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रका पूर्ण विस्थापित परिवारले उचित ठाउँमा पुनर्वासको व्यवस्था गर्न माग गरेका छन् ।

डुबान क्षेत्रमा पर्ने जिल्लाको भीमसेन थापा गाउँपालिका–८ घाटबेसीका डुबान प्रभावितले आयोजना प्रमुख कृष्ण कार्कीसँग भेट गरेर उक्त माग गरेका हुन् । डुबानमा पर्ने घाटबेसी क्षेत्रका करीब २०० घरधुरीका व्यक्तिले आयोजनाले सो क्षेत्र वरपर उपयुक्त जग्गाको पहिचान गरी प्रभावितलाई पुनःस्थापना गर्नुपर्ने माग गरेका हुन् ।

Batas

आयोजनाले केही दिनअघि मात्र घाटबेसीका पूर्ण विस्थापित परिवारको पुनःस्थापनका लागि सोही वडाको कोटाले चौर क्षेत्रको जग्गा रोक्का गरेको जानकारी आएको भन्दै उक्त क्षेत्र पुनर्वासका लागि उपयुक्त नभएको प्रभावितले बताएका छन् ।

वडाध्यक्ष वासु थापाले भने, “भौगोलिक हिसाबले पनि कोटाले चौर उपयुक्त छैन, आयोजनाले प्रभावित क्षेत्रका जनतासँग छलफल गरेर त्यसको टुङ्गो लगाउनु आवश्यक छ ।” उनले डुबान क्षेत्रका जनतालाई पायक पर्ने स्थानमा पुनर्वास गर्दा प्रभावितलाई समेत सजिलो हुने भएकाले सो क्षेत्र नजिकै कतै विकल्प खोज्नुपर्नेमा जोड दिए ।

आफूहरुका लागि साविकको बोर्लाङ–७ महादेवटारमा पर्ने टाँडबिसौना र टाउकेस्वाँरा क्षेत्र नै पुनःस्थापनाका लागि उपयुक्त हुने स्थानीय बलराम ढकालले बताए । “कम्तीमा विद्यालय, खानेपानी, सडक र स्वास्थ्य संस्थाको पहुँच भएको क्षेत्रमा पुनःस्थापना गर्नु उचित हुन्छ”, उनले भने, “आयोजनाले प्रभावित क्षेत्रका जनताको मर्म र भावनालाई पनि बुझ्न सक्नुपर्छ ।”

बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले आयोजनाले गोरखातर्फका केही ठाउँको मात्र जग्गा रोक्का गर्नुुलाई आयोजनाको पक्षपाती निर्णय भएको बताए । उनले पुनर्वासका लागि गोरखा र धादिङ गरी ४४ स्थानको जग्गा पहिचान गरेको भए पनि एकतर्फी रुपमा प्रभावितसँग छलफल नै नगरी नौ ठाउँको जग्गामात्र रोक्का गर्नु सकारात्मक काम नभएको जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.