www.tandavnews.com
Fact ~ In search of truth

पोखरा २१ मा एक टोल एक सार्वजनिक शौंचालय

पोखरा
ताण्डव न्युज ।

पोखरा महानगरपालिका वडा नम्बर २१ मा एक टोल एक सार्वजनिक शौंचालय निर्माणको काम अघि बढेको छ । सार्वजनिक ठाउँमा शौंचालय नहुँदा नागरिकले शौंचको लागि भोग्नु परेको समस्यालाई ध्यानमा राखेर सार्वजनिक शौंचालय निर्माणलाई अगाडि बढाइएको हो ।

वडा नम्बर २१ का वडाध्यक्ष खगराज आचार्यका अनुसार यो वर्षबाट शौंचालय निर्माणको काम सुरु भएको र आगामी वर्ष वडा नम्बर २१ का सबै टोलमा शौंचालय निर्माण गरिसक्ने बताए । आचार्यले शौंचालय निर्माणको काम सुरु भइसकेको जानकारी दिए । उनका अनुसार वडा नम्बर २१ का ३७ टोलमा एक÷एक वटा सार्वजनिक शौंचालय निर्माण गरिने छ ।

Batas

टोल टोलमा सार्वजनिक शौंचालय बनाउने कार्यलाई अन्य वडामा पनि विस्तार गरिने पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताए । पोखरा मात्र नभएर कास्की नै खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसकेको अवस्थामा टोल÷टोललाई सफासुग्घर राख्न शौंचालय निर्माण गर्न महानगरले योजना बनाएको हो । प्रमुख जिसीका अनुसार यो आर्थिक वर्षमा अन्य वडाका १० ठाउँमा सार्वजनिक शौंचालय निर्माण गरिने छ । नागरिहरुको चाप बढी हुने १० स्थानमा यो वर्ष शौंचालय निर्माण गर्न लागिएको हो ।

पोखरा हल्लनचोक र डेभिजफल्समा पूर्ण अपांगता मैत्रीसहितको शौंचालय निर्माणको काम अघि बढेको महानगरको सहरी पूर्वाधार महाशाखाले बताएको छ । महाशाखाका अनुसार शौंचालयको डिजाइन समेत तयार भएको छ । पोखरा ७ स्थित मालपोत, वडा नम्बर १ को हरिचोक, वडा नम्बर २५ को मिलनचोक, पोखरा २६ को राखीडाँडा पिकनिकस्थल, पोखरा २८ रत्नशोभा मावि प्रांगणमा शौंचालय निर्माण गरिने छ ।

त्यसैगरी पोखरा १८ को भकुण्डे, पोखरा २१ दोबिल्ला पिकनिकस्थल, गौरीशंकर आधारभूत विद्यालयमा पनि सार्वजनिक शौंचालय निर्माण गरिने छ । निर्माण गरिने शौंचालय आधुनिक सुविधा युक्त हुने महानगरले बताएको छ । शौंचालय निर्माणको लागि महानगरले १ करोड रकम विनियोजन गरेको छ । त्यसैगरी गण्डकी प्रदेश सरकारले पोखराका ४ ठाउँमा स्मार्ट शौंचालय निर्माणको लागि ५० लाख सहयोग गरेको छ ।

स्मार्ट शौंचालय हल्लनचोक, डेभिजफल्स, मालपोत र हरिचोकमा निर्माण गरिनेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.