www.tandavnews.com
Fact ~ In search of truth

इलिगल ‘वी च्याट’ कारोबार

सन्तोष अधिकारी
पोखरा, ताण्डव न्यूज । 

नेपाल राष्ट्र बैंकले चिनियाँ अनलाइन भुक्तानी सेवा प्रणाली वीच्याटलाई पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । तर, पोखरामा व्यवसायिक रुपमा रहेका चिनियाँहरुले अधिकांश आर्थिक कारोबार यहि प्रणाली मार्फत गरिरहेका छन् ।

पोखरामा रहेका चिनियाँहरुको होटल तथा रेस्टुरेन्टको, फेन्सी पसलहरुको कारोबार सिधै वी च्याटबाट हुन्छ । चीनबाट नेपाल अनि पोखरा घुम्न भनेर आएका चिनियाँ पर्यटकहरुले यो सेवाबाट रकम लेनदेनको कारोबार गर्छन् । यो प्रणाली मार्फत रकम लेनदेन गर्दा नेपालमा कुनै पनि कारोबार देखिँदैन ।  ‘पोखरामा व्यापार व्यवसाय गरेर बस्ने चिनियाँहरु धेरै छन्,’ लेकसाइडका एक व्यापारीले भने, ‘उनीहरुको धन्दा सही छ या छैन पनि थाहा हुँदैन । उनीहरुले गरेको कारोबार नेपालमा केही देखिँदैन । सबै वीच्याटबाट हुन्छ । पैसा सिधै चीनमा जान्छ । यहाँ व्यापार ब्यवसाय चलाएर यिनीहरुले नेपाल सरकारलाई के दिए ?’

Batas

पोखरा लेकसाइडमा वर्षाैँदेखि पर्यटन ब्यवसाय गर्दै आएका सोम थापा अबैधानिक रुपमा चलेको यो धन्दाले पोखराको पर्यटन व्यवसाय र नेपाल सरकारको अर्थतन्त्रमा ठूलो असर गरेको बताउँछन । ‘यिनीहरुले वीच्याट मात्र हैन अलि पे, थाउबाउबाट कारोबार गर्छन्,’ उनले भने, ‘यिनीहरुको एकाउन्ट उता हुन्छ । पैसा सबै उतै जम्मा हुन्छ । यहाँ नेपालीले व्यापार गर्दा कर, भ्याटको अनेक कुरा हुन्छ । यिनीहरु निर्धक्क इलिगल व्यापार गरिरहेका छन् ।’ नेपाल सरकारले तत्कालै वैधानिक तबरले कारोबार गर्ने र नेपालमा पनि यिनीहरुको व्यापारी कारोबार देखिने बनाउनुपर्नेमा थापाको जोड छ । लेकसाइडमा ब्यवसाय गर्दै आएका कास्मिरी दोकानहरुमा पनि वीच्याटबाट कारोबार हुने पोखराका व्यापारीहरु बताउँछन् । यता नेपाल सरकारले पनि वीच्याट र अलिपे प्रणाली प्रतिबन्ध भएको प्रष्ट पारेको छ ।

गत हप्ताको सोमबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्र बैंकले विदेशी भुक्तानी सेवाप्रदायकसँग सम्बद्ध पिओएस मेसिन, क्वीआर कोड स्क्यानरजस्ता पद्धति प्रयोग गरी भुक्तानी गर्नु नेपालमा गैरकानूनी भएकोले यसरी भुक्तानी गरेको पाइएमा विदेशी विनिमय अपचलन हुने चेतावनी समेत दिएको थियो ।

विदेशी मुद्रा अपचलनको कसुरमा कारबाही गर्ने चेतावनी दिएको बैंकले नेपालमा अनुमति पाएको बाहेक अरू कम्पनी वा सिस्टमबाट यस्तो भुक्तानी गर्न नहुने पनि भनेको छ । बैंकले चिनियाँ अनलाइन भुक्तानी सेवा प्रणाली वीच्याट र अलिपेको नाम नै उल्लेख गरेर दुबै सेवा प्रणाली प्रतिबन्ध भएको कुरा प्रष्ट पारेको थियो । चिनियाँ लगानीकर्ताले खोलेका व्यवसायिक फर्महरुले यस्ता एप्सबाट कारोबार गर्ने गरेका छन् ।

पोखरामा ४० वटा भन्दा धेरै रेस्टुरेन्ट र अन्य व्यवसायमा चिनियाँ व्यापारीको लगानी रहेको बताइन्छ । तर, यसको एकिन तथ्याङ्क पोखरा महानगर लगायत कतै पनि भेटिँँदैन । चिनियाँ नागरिकहरुले व्यक्तिगत ब्यवसायहरु पनि गर्ने र कारोबार उही वीच्याट अलिपे मार्फत गर्ने पोखराका व्यवसायीहरु बताउँछन् ।

प्रतिबन्ध फुकुवा गर्न दूतावासको आग्रह

नेपालले प्रतिबन्ध लगाएको चिनियाँ भुक्तानीमाध्यम अलीपे र वीच्याट तत्कालै फुकुवा गर्न चीन सरारले आग्रह समेत गरेको छ । गत विहिबार नेपाल स्थित चिनियाँ दूतावासका वाणिज्य कन्सुलर झ्याङ फ्यानले नेपालले चिनियाँ भुक्तानी सेवाप्रदायकलाई बाटो बन्द गर्नुको साटो वैधानिक गर्नु पर्ने बताए । उनले चिनियाँ पर्यटकहरु नेपाल आउने सङ्ख्या बढिरहेको भन्दै यो सेवालाई फुकुवा गर्न नेपाल सरकारसँग पहिलो पटक चिन सरकारको तर्फबाट आग्रह समेत गरे ।

नेपालले भ्रमण वर्ष मनाइरहँदा यस खाले सेवालाई पनि ध्यान दिन उनले सुझाब दिए । नेपाल सरकारले परराष्ट्र मन्त्रालय वा राजदूतावास मार्फत पहल गरेर वैधानिक बनाउन उनले आगह गरे । अहिले नेपालमा चीनकै भुक्तानी सेवाप्रदायक युनियन पेले सेवा दिइरहेको र अलीपे र वीच्याटले पनि नेपालमा भुक्तानी सेवा दिन सहकार्य गर्न तयार रहेको उनले बताए ।

पोखरासँगै देशका पर्यटकीय शहरहरु काठमाडौँको ठमेल, बसन्तपुर दरबार क्षेत्र, सौराहा, लुम्बिनीमा चिनियाहरुले वीच्याट, अलिपे मार्फत आर्थिक कारोबार गर्दै आइरहेका छन् । उनीहरुले पर्यटकीय क्षेत्रमा चाइनिजहरुकै सहयोगमा होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सीहरुमा वीच्याटको सहयोगमा बिल भुक्तानी गर्दै आइरहेका छन् । चिनियाँ व्यवसायीले नेपालमा कमाएको पैसा कुनै पनि प्रक्रिया बिनै वीच्याट मार्फत सिधै आफ्नो देशमा पठाउँन सक्छन् ।

नेपालको संविधान र कानुन अनुसार नेपालमा कुनै पनि भुक्तानी सेवा सञ्चालन गर्न अनुमति लिनुपर्छ । इन्टरनेटको माध्यमबाट कसैले भुक्तनी गर्न चाहे नेपाल राष्ट्र बैंकबाट अनुमति लिनुपर्ने कानुनी प्रावधान छ ।
अनुमति नलिई वैदेशिक मुद्राको समेत भुक्तानी सेवा दिइरहेका अलिपे, वीच्याट नेपाली उपभोक्तामाझ पनि लोकप्रीय बन्दै गएको छ । कतिपयले चीनबाट अनलाइन किनमेल गर्न वीच्याटबाटै भुक्तानी गर्दै आएका छन् । पोखरामा यसबारे धेरै पहिलेदेखि कुरा उठेको भएपनि नेपाल सरकारबाट सुनुवाई नभएको व्यापारीहरुको गुनासो छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.