www.tandavnews.com
Fact ~ In search of truth

लमजुङमा पर्यटकीय पदमार्ग निर्माण शुरु

लमजुङ ।

लमजुङको एक पर्यटकीय पदमार्गको निर्माणकार्य शुरु भएको छ । बेँसीशहर नगरपालिका–६ पुमागाउँ घरबासदेखि सोही क्षेत्रमा रहेको ऐतिहासिक कन्यादेवी मन्दिर जाने बाटोमा सिँढी निर्माणको काम भइरहेको छ ।

उक्त गाउँबाट मन्दिरसम्म पुग्न ५०० मिटर लामो सिँढी निर्माण भइरहेको वडासदस्य वीरेन्द्र गुरुङले बताए । उनका अनुसार जेठ १२ गतेबाट शुरु भएको उक्त कार्यको करीब १०० मिटर लामो सिँढी र रेलिङको निर्माण भइसकेको छ । एक मिटर ६० सेन्टिमिटर चौडाइ रहने सिँढी बालुवा र सिमेन्टले निर्माण गरिरहेको निर्माण समितिका अध्यक्ष तथा पुमागाउँ घरबास व्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर गुरुङले बताए।

Batas

निर्माणाधीन सिँढी गण्डकी प्रदेश सरकारको १० लाख अनुदान, बेँसीशहर नगरपालिकाको रु साढे एक लाख र स्थानीयवासीको करीब तीन लाख बराबरको श्रमदान हुने गरी निर्माण भइरहेको स्थानीयवासी तथा वडासदस्य गुरुङले भने । उक्त निर्माणकार्य सम्पन्न गर्नका लागि सो बजेटले आधा मात्रै काम हुने र बाँकी अपुग रकम प्रदेश सरकार, नगरपालिकालगायतसँग माग गरी निर्माण पूरा गरिने समितिले जनाएको छ ।

समितिका अनुसार निर्माणकार्य सम्पन्न गर्नका लागि कम्तीमा पनि ५० लाख आवश्यक पर्ने भएको छ । अहिले सहयोग आएको बजेटको काम आगामी असारभित्र सम्पन्न गर्नेगरी प्रदेश सरकारसँग सम्झौता भएको छ ।
घरबासमा आउने पर्यटक उक्त मन्दिरसम्म जानका लागि सहज होस् र मन्दिरको समेत प्रचारप्रसार पुग्ने उद्देश्यले सिँढी निर्माणकार्य भइरहेको छ । पर्यटकीय एवं धार्मिकस्थल भएर पनि प्रचारप्रसार हुननसकेको स्थानीयवासीले बताएका छन् ।

उक्त मन्दिरमा महीनाको शुक्रबार र बुधबार दुई दिन मात्रै पूजाआजा हुने गरेको छ । यहाँ विभिन्न मनोकामना पूरा हुने जनविश्वाससमेत रहिआएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.