www.tandavnews.com
Fact ~ In search of truth

चार महिना बित्दा पनि बनेन नेविसङ्घको तदर्थ समिति

काठमाडौँ।

नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्थाका रूपमा रहेको नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को चार महिनादेखि तदर्थ समिति बन्न सकेको छैन । एघारौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले २०७५ माघ २८ मा राजीनामा दिएसँगै चार महिनादेखि नेतृत्वविहीन रहेको नेविसङ्घको अहिलेसम्म तदर्थ समिति बन्न सकेको छैन ।

नेविसङ्घको विस २०७३ साउनमा सम्पन्न ११ औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष महरले १२ औँ महाधिवेशन गर्न नसेकेपछि माघमा राजीनामा दिएका थिए । मुलुकमा भएका विभिन्न राजनीतिक र शैक्षिक आन्दोलनमा अग्र मोर्चामा उभिएर काम गरेको नेविसङ्घको नेतृत्व नहुँदा पार्टीलाई समेत ठूलो समस्या उत्पन्न भएको छ ।

विसं २०२७ वैशाख ७ गते पार्टी प्रतिब्न्धित अवस्थामा रहेको बेला स्थापना भएको नेविसङ्घमा अहिलेको अवस्थासम्म आइपुग्दा १८ जनाले नेतृत्व सम्हाल्ने मौका प्राप्त गरे । नेविसङ्घको पहिलो अध्यक्ष विपिन कोइराला छन् । स्थापनाकालदेखि हालसम्म आइपुग्दा छ अध्यक्ष निर्वाचित, सात अध्यक्ष तदर्थ र पाँच अध्यक्षले सर्वसम्मत नेतृत्व गरेका छन् ।

नेविसङ्घका पूर्व केन्द्रीय सदस्य लीलावल्लभ दाहाल ‘काका’ पार्टी नेतृत्वले नै पार्टीको महाधिवेशनसम्म नेविसङ्घको महाधिवेशन गर्न नचाहेको बताउछन् । “पार्टीले विद्यार्थी हक र हितमा खट्ने इमान्दार विद्यार्थीलाई समावेश गरेर तत्काल तदर्थ समिति गठन गर्नुपर्छ”, उनी भन्छन् । पार्टीका नेताको गैरजिम्मेवारीपनका कारण तदर्थ समिति गठन हुन नसकेको उनको भनाइ छ ।

नेविसङ्घका निवर्तमान उपाध्यक्ष उर्मिला थपलिया पार्टीले तत्काल महिलाको नेतृत्वमा तदर्थ समिति बनाएर महाधिवेशनमा जानुपर्ने बताउछन् । “नेविसङ्घमा अहिलेसम्म धेरै पुरुष नेतृत्वमा पुगेका छन्, अहिले महिलालाई तदर्थ समितिको अध्यक्ष बनाएर महाधिवेशनमा जाँदा पार्टीलाई अरु राजनीतिक दल र काँग्रेसले हेर्ने नजरमा पनि फरक पर्छ”, उनी भन्छन् ।

नेविसङ्घका निवर्तमान सहमहामन्त्री प्रेमराज जोशी पार्टीले ३२ वर्ष कम उमेरका विद्यार्थीलाई अध्यक्ष बनाएर तत्काल तदर्थ समिति गठन गर्नुपर्ने बताउछन् । “विधानमा उल्लेख भएअनुसार तत्काल १०१ सदस्यीय समिति बनाएर केन्द्रीय महाधिवेशनमा नेविसङ्घ जानुपर्छ”, उनी भन्छन् ।

नेविसङ्घका पूर्व अध्यक्ष रञ्जित कर्ण पार्टीले तत्काल तदर्थ समिति बनाएर छ महिनाभित्र महाधिवेशन गरिसक्नुपर्ने बताउछन् । “वडा तह, स्थानीय तह, जिल्ला तह, प्रदेश तह र केन्द्रको निर्वाचनको कार्यतालिका र कार्ययोजना बनाएर नेविसङ्घको महाधिवेशन तत्काल गर्नुपर्छ”, उनी भन्छन् ।

नेविसङ्घका पूर्व अध्यक्ष एवं पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेल लोकतन्त्र र शिक्षाका लागि लडेको विद्यार्थी यो अवस्थामा आइपुग्नु दुःखद भएको बताउछन् ।“नेविसङ्घलाई अनावश्यक हस्तक्षेप गरेर पार्टी सङ्गठन बलियो हुन सक्दैन, त्यही समितिलाई अहिलेसम्म काम गर्न दिएको भए धेरै जिल्लाको अधिवेशन गर्न सक्थ्यो”, उनी भन्छन् । तत्काल नेविसङ्घको महाधिवेशन गर्नका लागि विभिन्न क्षेत्रका व्यक्तिको सहभागितामा निर्वाचन समिति बनाएर अगाडि जानुपर्ने उनको भनाइ थियो ।

नेविसङ्घको ४८ वर्षको इतिहासमा विसं २०५९ सालमा तत्कालिन नेविसङ्घका अध्यक्ष विश्वप्रकाश शर्माले समयमा महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गरेका थिए भने अरु अध्यक्षहरुले समयमा अधिवेशन गर्न सकेनन् ।

विपिन कोइराला, शेरबहादुर देउवा, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, महेन्द्र शर्मा र रञ्जित कर्णले सर्वसम्मत तथा महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गरेका थिए ।

यस्तै, विमलेन्द्र निधि, एनपी साउद, गुरु घिमिरे, प्रदीप पौडेल र नैनसिंह महर भने निर्वाचनबाट जितेर अध्यक्ष बनेपनि महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न सकेनन ।पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा नेविसङ्घभित्र तदर्थ समिति बनाउने कुरामा पार्टीभित्र विभिन्न चरणमा छलफल भइरहेको बताउँदै चाँडो नै टुङ्गो लाग्ने बताउछन् ।

“विधान र प्रक्रियाअनुसार नै नेविसङ्घको तदर्थ समिति बन्छ”, उनी भन्छन् । नेविसङ्घको समिति नहुँदा पार्टीले भर्खरै सम्पन्न गरेको पहिलो चरणको हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानमा समेत समस्या परेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.