www.tandavnews.com
Fact ~ In search of truth

पुरानो राज्य संरचनाले काममा कठिनाई : नेकपा अध्यक्ष दाहाल

चितवन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो राज्य संरचनाका कारण काम गर्न कठिन भएको बताएका छन । अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको अच्युत स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ वितरण समारोहलाई सम्बोधन गर्दै उनले आन्दोलनको बलले नयाँ नेतृत्वको सरकार आए पनि पुरानै राज्य संरचनाका कारण सोचेअनुसारको काम गर्न कठिन भएको बताए ।

हिजो राजाहरु निरङ्कुश हुँदा शुरु भएको स्कूल नभत्किएको भन्दै दाहालले भने, “यही स्कूल छ, राज्य संरचनाको स्कूल । पञ्चायतको बेलामा जे छ त्यही स्कूलमा चलेको छ ।” नियम कानून पनि तिनै रहेको भन्दै उनले कानून बदलिँदा पनि काम गर्ने सोच, तरिका र शैली उही रहेको उल्लेख गरे ।

परिवर्तन पछि राजनीतिक नेतृत्वले जित्छ कि परम्परागत ढङ्गले चल्दै आएको राज्य संरचनाले जित्छ भन्ने थाहानै नपाई लडाइँ चल्ने गरेको उनको भनाइ थियो । राजनीतिक नेतृत्वले अब जित्न नसके मुलुक ठूलो दुर्घटनामा जाने दाहालले बताए ।

Batas

दुई तिहाइको सरकारबाट जनताले ठूलो अपेक्षा गरेको उल्लेख गर्दै उनले त्यसतर्फ सरकार अघि बढिरहेको भए पनि सफलता प्राप्त गर्न कठिन भइरहेको बताए ।पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले भने, “जनताको अपेक्षालाई हामीले जुन उचाइ र गहिराइबाट सम्बोधन गर्न सक्नु पथ्र्यो सायद हामीले त्यही स्तरबाट गर्न सकेनौँ ।” प्रयास भने जारी रहेको भन्दै उनले यद्यपि प्रयास पर्याप्त हुन नसकेकामा चिन्ता व्यक्त गरे । उनले थपे, “जनताले हामीबाट अझ धेरै त्याग र मेहनत चाहेका छन् ।”

छिमेकी दुई देशलाई जोडेर नेपाललाई समृद्ध मुलुक बनाउनुपर्ने उनको भनाइ थियो । छिटो विकासका लागि नेपालमा प्रसस्त सम्भावना रहेको उनले बताए । बाँके निवासी अच्युतराज सुवेदीको विसं २०७२ को भूकम्पमा परी निधन भएको थियोे । उनी पूर्वउपसभामुख पूर्णकुमारी सुवेदीका छोरा हुन् । दाहालले उनीसहित भूकम्पमा ज्यान गुमाएकाको स्मरण गर्दै त्यो विपतले नेपालमा संविधान बन्न सहज बनाएको बताए ।

संविधान निर्माणको अन्तिम चरणमा घटना घटेपछि आफूले विपक्षी दलको नेताको हैसियतले सरकारलाई सहयोग गरेर उद्धारसँगै सबैलाई संविधान निर्माणमा जुटाएको स्मरण गरे । कार्यक्रममा नेकपाका नेता सुरेन्द्र पाण्डेले देशको समृद्धिका लागि सिङ्गो पार्टी गोलबद्ध भएर लाग्नुपर्ने बताए । पार्टी एकीकरणको प्रक्रिया ढिलो हुँदा नेता कार्यकर्ता एक वर्षदेखि बेरोजगार बनेका भन्दै छिटो टुङ्ग्याउन अध्यक्ष दाहाललाई उनले आग्रह गरे । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.