www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीमा पालिका र वडाध्यक्षमा महिला प्रतिनिधित्व शून्य

बेनी।

म्याग्दीका ६ स्थानीय तह र ४५ वडाको नेतृत्वमा महिला सहभागिता शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा म्याग्दीमा एक पालिका प्रमुखसहित दुई वडाध्यक्षमा महिला चुनिएका थिए।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भने ६ स्थानीय तहको प्रमुख तथा अध्यक्ष र ४५ वडाध्यक्षमा पुरुष मात्र निर्वाचित भएका छन् । अघिल्लो निर्वाचनको तुलनामा उम्मेदवारमा महिलाको सङ्ख्या बढे पनि विजयी हुन नसकेकाले स्थानीय तह र वडाको नेतृत्वमा महिलाको अवस्था कमजोर बनेको हो ।

अघिल्लोपटक धवलागिरि गाउँपालिकाको अध्यक्षमा एमालेबाट थमसरा पुन निर्वाचित हुँदा मालिका गाउँपालिका–५ देवीस्थानको वडाध्यक्षमा कांग्रेसबाट पिपला बुढा र धवलागिरि गाउँपालिका–५ मल्कबाङको वडाध्यक्षमा कांग्रेसबाटै खर्ककुमारी छन्त्याल विजयी बनेका थिए ।

यसपटक पालिका प्रमुख–अध्यक्ष र वडाध्यक्षमा महिला प्रतिनिधित्व शून्य भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसपटक म्याग्दीको स्थानीय तह निर्वाचनमा तीन महिला पालिका प्रमुखको प्रतिस्पर्धामा चुनावी मैदानमा उत्रिएका थिए । रघुगङ्गा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट मीना विश्वकर्मा, धवलागिरि गाउँपालिकाको अध्यक्षमा एमालेकी थमसरा पुन र बेनी नगरपालिकाको प्रमुखमा राप्रपाकी मीनाकुमारी शर्मा उम्मेदवार बनेका थिए।

त्यसैगरी मङ्गला गाउँपालिका–४ मा एमालेबाट लक्ष्मी बुढाथोकी र माओवादी केन्द्रबाट मनमाया चोचाङ्गे तथा रघुगङ्गा गाउँपालिका–२ भगवतीको वडाध्यक्षमा रञ्जना श्रेष्ठ स्वतन्त्रबाट वडाध्यक्षको उम्मेदवार बनेका थिए। पालिका र वडाको नेतृत्वमा उम्मेदवार बनेका ६ महिला नै पराजित भएका छन् ।

हरेक स्थानीय तहमा एउटै पार्टीबाट प्रमुख र उपप्रमुखमा उम्मेदवार बनाउँदा एक पदमा महिला अनिवार्य भए पनि धवलागिरि गाउँपालिकामा गठबन्धनका कारण अध्यक्ष र उपाध्यक्ष दुवै पुरुष निर्वाचित भएका छन् । बेनी नगरमा कांग्रेस–माओवादी केन्द्रको गठबन्धन भए पछि उपप्रमुखमा माओवादी केन्द्रकी ज्योति लामिछाने विजयी भए, भने रघुगङ्गाको उपाध्यक्षमा कांग्रेसकी प्रेमकुमारी पुन, अन्नपूर्णको उपाध्यक्षमा एमालेकी दिवा तिलिजा, मङ्गलाको उपाध्यक्षमा एमालेकै प्रेमा अधिकारी क्षेत्री र मालिकाको उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी घर्ती पुन विजयी बनेका छन् ।

वडातर्फ न्यून सङ्ख्यामा खुला सदस्यबाहेक महिला र दलित महिला कोटामा मात्रै सीमित हुन पुगेका छन् । दुई पालिका र १४ वडामा जनप्रतिनिधि दोहोरिए म्याग्दीको दुई पालिका प्रमुख दोहोरिएका छन् । रघुगङ्गा गाउँपालिकामा निवर्तमान गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र मङ्गला गाउँपालिकामा निवर्तमान गाउँपालिका अध्यक्ष सतप्रसाद रोका पुनः गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

वडामा १४ वडाध्यक्ष दोहोरिएर निर्वाचित भए । अन्नपूर्णमा वडा नं १ मा दिलीपकुमार गर्वुजा, २ मा ओम फगामी, ८ मा खमबहादुर गर्वुजा पुनः दोहोरिएर वडाध्यक्षमा निर्वाचित हुँदा वडा नं ५ मा लामो समय कार्यवाहक वडाध्यक्ष रहेका राजेश तिलिजा वडाध्यक्ष चुनिएका छन् ।

रघुगङ्गामा वडा नं १ बेगमा बिलप्रसाद फगामी, ५ मा मनबहादुर शेरमञ्जा, ६ मा मनकुमार शेरपुञ्जा र ८ मा गमान छन्त्याल वडाध्यक्षमा दोहोरिएका छन् । बेनी नगरपालिका–३ मा पदम पुन र ६ मा कृष्णसिंह बानियाँ वडाध्यक्षमा दोहोरिएका छन् ।

मङ्गला गाउँपालिका–२ मा धनबहादुर खाती र ५ मा भूपेन्द्र खत्री वडाध्यक्षमा दोहोरिएका छन्। मालिका गाउँपालिका–१ मा टङ्कप्रसाद पुन, धवलागिरि गाउँपालिका–१ मा झक छन्त्याल र ७ मा राजाराम उपाध्याय पनि दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका छन् ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.