www.tandavnews.com
Fact ~ In search of truth

अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुश

– दुर्गा रानामगर

सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालमा कमेडियन प्रनेश गौतमको रिहाईको माग बढ्दै थियो । फ्रि प्रनेश गौतम लेखिएको ह्यासट्याग ट्विटरको ट्रेन्डिङमा थियो । यो लेख तयार पार्दासम्म उनी हाजिरी जमानतमा थुनामुक्त भएका छन् । उनी विरुद्धको मुद्धा भने फिर्ता भएको छैन ।

नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय कलाकारहरुसम्म पुगेको यो घटना सार्वजानिक चासोको विषय बन्यो । केही समय अघि गौतमले वीर विक्रम २ चलचित्रको हास्यव्यंग्यात्मक शैलीमा समीक्षा गरेका थिए । त्यस लगत्तै फिल्मका निर्माता एवं निर्देशकले मानहानी, चरित्रहत्या, गाली बेइज्जतीको आरोपमा उनी विरुद्ध प्रहरीमा रिपोर्ट दिए । गौतमलाई प्रहरीले हिरासतमा लियो । उनलाई साइबर अपराधको मुद्धा चलाइयो जसको सर्वत्र विरोध सुरु भयो ।

Batas

चलचित्रको गुदी कस्तो थियो, समीक्षा कस्तो थियो भन्दा पनि यो पूरै घटनाको एउटा सवाल हो  । अभिव्यक्ति स्वतन्त्रता र शक्तिको दुरुपयोग ।

अभिव्यक्ति स्वतन्त्रताको विषय आधारभूत रुपमा हरेक मानवको अधिकार हो । अभिव्यक्तिको स्वतन्त्रतालाई मानवअधिकारका सम्पूर्ण मुलभुत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सन्धि सम्झौताहरुले पनि मान्यता प्रदान गरेको छ । हरेक व्यक्तिलाई विचार तथा अभिव्यक्तिको अधिकार रहेको छ । यसमा हरेकलाई बिना कुनै हस्तक्षेप आफ्ना विचार ग्रहण गर्न पाउने, कुनै सिमानामा नरही जुनसुकै सञ्चार माध्यमबाट सूचना तथा विचारको खोजी गर्न पाउने, प्राप्त गर्ने तथा सम्प्रेषण गर्न पाउने हक छ ।

सामाजिक सञ्जालमा हरेक दिन लाखौले आफ्ना विचारहरु व्यक्त गर्दछन् । सामान्य नागरिक देखि देशका उच्च पदमा रहेकाहरुले सामाजिक सञ्जाललाई माध्यम बनाएर स्वतन्त्र रुपमा आफ्ना अभिव्यक्तिहरु दिने गर्दछन् । अहिले त सामाजिक सञ्जालमा दिएका अभिव्यक्तिहरुलाई नै आधार मानेर ठुल्ठूला बहसहरु संसारभर चल्दछन् ।

सामाजिक सञ्जाल कै माध्यमबाट गौतमले आफ्ना विचार व्यक्त गरेका थिए । करिब १३ मिनेटको उनको फिल्म समीक्षात्मक भिडियोमा अपशब्द अथवा कुनै व्यक्ति लक्षित चरित्र हत्या गर्ने काम भएको देखिदैँन । हस्यौली शैलीमा उनले चलचित्रप्रतिको विचार व्यक्त गरेका छन् । उनको समीक्षा भने चलचित्र राम्रो छैन भन्ने थियो र अरुलाई चलचित्र हेर्न नजान पनि उनले भनेका थिए । त्यहि विषय निर्देशकलाई चित्त बुझेन । पछि निर्देशकसँगकै सहमतिमा गौतमले त्यो भिडियो हटाए पनि ।

एकाथरिको बहस नराम्रो चलचित्रलाई नराम्रो नै भन्नुपर्छ, सामाजिक व्यक्तित्व भएपछि सकरात्मक र नकरात्मक दुवै किसिमका आलोचना सुन्न तयार हुनुपर्छ भन्ने छ भने अर्काथरिको उनले भन्नुपायो भन्दैमा जे पनि भन्नु मिल्दैन भन्ने रहेको छ । कांग्रेस नेता गगन थापाले सामाजिक सञ्जाल ट्विटरमा लेखे,‘‘एब्सर्डिस्ट ह्युमर’ लाई विश्वभर सामान्य रुपमा लिईन्छ । त्यस्तै शैलीमा सिनेमाको हस्यौली समीक्षा गरेकोमा प्रनेश गौतमलाई नेपाल प्रहरीद्धारा साइबर अपराधमा पक्राउ गरिनु दुर्भाग्यपूर्ण र अभिव्यक्ति स्वतन्त्रताको खिलाफ छ । र आलोचनात्मक चेत लोकतन्त्रको मुल मर्म हो, यसको संरक्षण गरियोस् ।’

गौतमले जे भने त्यो एक ठाउँको बहसका लागि गलत हुन सक्छ तर उनलाई एक सातासम्म हिरासतमा लिएर जुन किसिमको प्रहरीले यातना दिइयो त्यो निन्दनीय रहेको छ । गौतमलाई प्रक्राउ गरेपछि सामाजिक सञ्जालमा धेरैले प्रहरीको कदमलाई अभिव्यक्ति स्वतन्त्रता विरुद्धको कार्यको रुपमा लिएका थिए ।

केही समयअघि मात्र समाचार लेखेकै आधारमा ताण्डव न्यूजका सम्पादक अर्जुन गिरिलाई प्रहरीले पक्राउ ग¥यो । समाचारमा के थियो भन्ने बहस एकातिर रहला तर प्रहरीले हिरासतमा लिई साईबर अपराधमा मुद्धा दायर गर्नु अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतालाई अंकुश लगाउने कार्य त थियो नै कानुनको आड लिएर शक्तिको दुरुपयोग पनि थियो ।

इन्टरनेटको प्रयोग भएकै आधारमा मानहानी र चरित्र हत्यालाई साइबर अपराधमा जोड्नु मिल्छ ? यस विषयमा स्पष्ट हुनु जरुरी छ । विद्युतीय कारोबार ऐनको दफा ४७ मा कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चारमाध्यममा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका वा सार्वजनिक नैतिकता, शिष्टचारविरुद्धका वा कसैप्रति घृणा वा द्धेष फेलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्मको जरिवाना अथवा दुवै सजाय हुने भनिएको छ ।

अभिव्यक्ति स्वतन्त्रता हरेक नागरिकको अधिकार हो । विशेषगरि अहिलेको समय आफ्नो विचार राख्नु, कुनै पनि विषयमा प्रतिक्रिया दिनु, मत जाहेर गर्नका लागि हरेक व्यक्ति स्वतन्त्र हुन्छन् । यस्तोमा नकरात्मक आलोचना गरेकै कारणले दिइएको रिपोर्टलाई प्रहरीले साईबर क्राइमको मुद्धा लगाउनु अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुश लगाउने कार्य हो ।

प्रनेश मात्र नभएर यसअघि पनि यस्ता घटनाहरु थुप्रै भए जो साइबर अपराधमा मुछिए । कस्तो किसिमको र कुन परिस्थितिमा अभिव्यक्ति दिइएको छ भन्ने विषयलाई गहन अनुसन्धान गर्नु जरुरी हुन्छ । अनुसन्धान अध्ययन नगरी इन्टरनेटमा राखेको छ भन्ने कै भरमा हिरासतमा लिनु र साइबर अपराधको मुद्धा लगाउनु गलत हो ।

[email protected]

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.