www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ बलेवामा सडक पुगेपछि ओझेलमा पर्यो खच्चर व्यवसाय

hima aus

बागलुङ ।

पाँच वर्ष पहिलेसम्म खच्चरको पछि दगुर्दै आएका बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेराका रुद्रनाथ शर्मा अहिले खच्चर छोडेर गाई पाल्न थालेका छन । खच्चरकै व्यवसाय गर्दै आएका अर्का कुश्मिशेराकै चित्रप्रसाद चापाईंले पनि ट्र्याक्टर किनेको केही वर्ष भयो ।

जिल्लाकै ढोरपाटन नगरपालिका–९ का मङ्गले कामी पनि गत वर्षसम्म खच्चर पाल्दै थिए ।पछिल्लो समय खच्चरको प्रयोग घटेकाले यहाँका व्यवसायीहरुले अन्य वैकल्पिक व्यवसाय अपनाउन थालेका छन् ।

opening soon

जिल्लाकै दुर्गम मानिने निसीखोला, बरेङ र तमानखोला गाउँपालिकाको टोलटोलमा कच्ची सडक पुगेको छ ।सडककै कारण खच्चरको प्रयोग घटेकाले व्यवसाय परिवर्तन गर्नु परेको कुश्मिशेराका रुद्रनाथ शर्माले बताए ।

गत वर्षसम्म जिल्लाको तमानखोला गाउँपालिकाको नर्जा खानीमा सडक पुगेको थिएन ।त्यहाँका बासिन्दालाई सामान ढुवानी गर्ने गतिलो माध्यम खच्चर नै थियो । गत आर्थिक वर्षमा गाउँपालिकाले नर्जा खानीसम्म सडक पु¥याएकाले सवारी साधान चल्न थालेका छन् ।

जिल्लाको ग्रामीण क्षेत्रमा यातायातको साधनका रुपमा सञ्चालन हुँदै आएको खच्चर अहिले आएर निकै कम भइसकेको छ ।खच्चरको साटो सामान ढुवानीका लागि मानिसहरुले साना पिकअप भ्यान तथा ट्र्याक्टर प्रयोग गर्न थालेका छन् । खच्चर बागलुङको गलकोटदेखि पश्चिम र बलेवादेखि दक्षिणका क्षेत्रहरुमा अत्यधिक प्रयोग हुँदै आएकोे थियो ।

classic tech

“गिट्टी–बालुवा बोक्नेदेखि घर छाउने ढुङ्गासम्म खच्चरमा बोकाइयो”, व्यवसायी शर्माले भने “खच्चर नभए खाद्यान्न ढुवानी नै हुँदैन थियो ।”

खच्चरमा ढुवानी गर्नुभन्दा पिकअप र ट्र्याक्टरजस्ता साधनमा सामग्री ढुवानी गर्दा सस्तो पर्ने भएकाले खच्चरको प्रयोग घटेको व्यवसायीहरुले बताए । विगतमा ताराखोला, राङखानी, कुश्मिशेरा, बुर्तिबाङ, ढोरपाटन, निसेलढोर, तमान, बोङ्गादोभान, खुङ्खालगायत विकट गाउँमा खच्चर सञ्चालन हुन्थ्यो ।

सवारी साधन घरघरमै पुग्न थालेकाले खच्चरको प्रयोग निकै कम हुन थालेको ढोरपाटन नगरपालिका–९ का खच्चर व्यवसायी मङ्गले कामीले बताए ।“गाडी नआउँदा घोडा तथा खच्चरमार्फत ढोरपाटनमा उत्पादन हुने आलु, सिमीलगायत सामानहरु बेँसीतिर बेच्न लग्थ्यौँ, बेँसीतिरबाट चामल, नुनतेल, लत्ताकपडा ल्याउने गथ्र्यौं”, उनले भने “अहिले सडक गाउँमै पुगेको छ, सबै सामान गाडीले ल्याउँछ–लैजाने हुँदा घोडा र खच्चरको कामै छैन ।”

एक समूह खच्चरको झण्डै रु पाँच लाख पर्छ । ठूलो लगानी गरेर सर्वसाधारणको सुविधाका लागि ल्याइएका खच्चर प्रयोगविहीन भएपछि व्यवसायी भने चिन्तामा छन् ।कैयौँ व्यवसायीले पेशा नै परिवर्तन गरे पनि केही व्यवसायीले भने अझै खच्चर पाल्दै आएका छन् । तमानखोलाका खच्चर व्यवसायी पूर्णबहादुर सिर्पालीले सडकले सहज बनाए पनि आफूहरुको गरिखाने माध्यम बन्द हुने अवस्थामा आएको गुनासो गरे ।

उनले गाउँमा सडक नआउँदा यो व्यवसायबाट राम्रो आम्दानी हुने गरको बताउँदै पछिल्लो समय कमाई हुन छोडेको छ भने।“पहिले–पहिले दिनभर साहुको सामान गाउँ–गाउँमा पुर्याउन भ्याइनभ्याइ हुन्थ्यो, अहिले कसैले पनि सामान ढुवानी गर्न बोलाउँदैनन्”, व्यवसायी सिर्पालीले भने, “कसैले सामान ढुवानी गर्न नबोलाउँदा घोडा तथा खच्चरलाई दाना खुवाउने खर्च पनि उठ्दैन तर बर्खाको समयमा बाढी पहिरोले सडक बिग्रियो भने मात्रै सामान ढुवानी गर्ने माग आउने र त्यसबेला बाढी पहिरोको जोखिम मोलेर पनि काम गर्नुपर्छ ।”

खच्चरका लागि घाँसभन्दा चना मकैजस्ता खाद्यान्न आवश्यक पर्ने भएकाले तिनको पालन–पोषण महँगो हुने गरेको व्यवसायीहरुले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
SKIP kelme