www.tandavnews.com
Fact ~ In search of truth

उदयपुरको बरुवा नदीको बाँध फुट्ने खतरा, गाईघाट बजार जोखिममा

उदयपुर ।

निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै जाँदा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ स्थित शिवालयटोल तथा साकेलाटोल क्षेत्रमा निर्माण गरिएको बरुवा नदीको बाँध भत्कन थालेपछि गाईघाट बजार जोखिममा पर्न थालेको छ ।

तीन दिनदेखि आएको निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै गएपछि पुराना बाँधको ढुङ्गा खोलिन थालेको र बाँध भत्कन थालेपछि शिवालयटोल, साकेलाटोल र गाईघाट बजार क्षेत्र नै जोखिममा पर्न थालेको साकेलाटोलका राजकुमार राईले बताए ।

बाढीले बाँधको पुरानो संरचना खोल्न थालेको र ढुङ्गा बगाउन थालेपछि बाँध फुट्ने अवस्थामा पुगेको शिवालयटोलका अर्का स्थानीयवासी कनक कार्कीले बताए ।

स्थायीरूपमा बरुवा नदीमा बाँध निर्माण नहुनु र पुराना संरचनामा निर्माण गरिएको बाँध यसभन्दा अघि पनि पटक–पटक विसं २०३१, २०३९ र २०५७ मा भत्किएको नगरपालिका–११ का ८१ वर्षीय महलशेर राई बताउछन् ।

विगतमा तीनपटक बाँध भत्कँदा गाईघाटका धेरै घर डुबानमा परेको र धेरै स्थानीय बासिन्दा विस्थापित भएका थिए ।

स्थानीय सरकार र केन्द्र सरकारले स्थायीरूपमा पक्की बाँध निर्माण नगर्दा वर्षेनी बाँध भत्कँदै गएको र नदीले कटान गर्दै लगेपछि अहिले गाईघाटको शिवालयटोल, साकेलाटोल र गाईघाट बजारसहित दुई हजारभन्दा बढी घरहरु जोखिममा परेको गाईघाट सङ्गमटोलका स्थानीयवासी हर्कबहादुर बस्नेत बताउछन् ।

नदीले बरुवा क्षेत्रको बाँध भत्काउन थालेपछि नगरपालिका– ११ को पहलमा बिहीबारदेखि दुई स्काभेटर र स्थानीयवासीको पहलमा नदीपारिको क्षेत्रबाट पानी खोल्ने कार्य शुरु भएको नगरपालिका–११ का वडाध्यक्ष विश्वराज भट्टराईले बताए ।

नदी कटान नियन्त्रण गर्न सशस्त्र प्रहरी, गाईघाटका नगर प्रहरी र जिल्ला प्रहरीले समेत सहयोग र निगरानी शुरु गरिसकेको र अब कटान कम हुने अवस्था आएको उदयपुरका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।

बरुवा नदीमा निर्माण गरिएको पुरानो बाँधको तारजाली नष्ट भइसकेको र बाँध क्षेत्रका ढुङ्गासमेत हिउँदमा ट्र्याक्टर व्यवसायीले उत्खनन गर्ने गरेपछि वर्षेनी नदीले बाँध भत्काउँदै आएको र पुरानो बाँध मर्मत नहुँदा बाढी आउनासाथ शिवालयटोल, साकेलाटोलसहित गाईघाट बजारका दुई हजारभन्दा बढी घर बाढीको उच्च जोखिममा पर्दै आएका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.