www.tandavnews.com
Fact ~ In search of truth

सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न पुरुषको संख्या बढ्दै

चितवन ।

Lama collectio News Middle

देवानी तथा फौज्दारी संहिता लागू भएसँगै सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउने पुरुषको संख्या बढेको छ ।

चितवन जिल्ला अदालतमा गत आर्थिक वर्षमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्नेमा महिलाभन्दा पुरुषको संख्या धेरै देखिएको हो । यसले समाजमा सामाजिक विखण्डन बढेर जान सक्ने चिन्ता लिन थालिएको छ ।

जिल्ला अदालत चितवनका अनुसार गत आर्थिक वर्षमा दर्ता भएका ८४५ वटा सम्बन्धविच्छेदका मुद्दामध्ये २७९ वटा पुरुषले गराएका छन् । भदौबाट लागू भएको नयाँ मुलुकीसंहिता बमोजिम पुरुषले पनि सिधैँ अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न पाउने भएकाले पुरुषको संख्या बढ्न थालेको हो ।

अधिवक्ता फुलमाया रानाभाट नयाँसंहितासँगै सामान्य विषयमा पनि वादविवाद र झैंझगडा हुँदा दोस्रो बिहे गर्नका लागि सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्ने पुरुष बढेका हुन् । मुलुकी देवानीसंहिता २०७४ को दफा ९६ मा सम्बन्धविच्छेद गर्न चाहने पति वा पत्नीले अदालतमा निवेदन दिन सक्नेछ भन्ने उल्लेख छ । यसैलाई टेकेर बहुविवाह गर्ने उद्देश्यले धेरैले सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने गरेको अधिवक्ता रानाभाटले बताए ।

अहिलेको कानूनले श्रीमतीलाई अंश दिएमा वा सम्बन्धविच्छेद गरेमा मात्र दोस्रो बिहे गर्न पाउने अधिकार दिएको छ । घरमा सासू ससुरा स्याहारेर बस्ने श्रीमतीलाई विदेशबाट फर्किएका श्रीमान्ले सम्बन्धविच्छेदको मुद्दा बढी दर्ता गर्ने गरेको उनले जानकारी दिए । सम्बन्धविच्छेदका मुद्दा बढ्नुमा पारिवारिक असमझदारी, वैदेशिक रोजगार, हतारको निर्णय, स्वतन्त्र रहन चाहनु नै रहेको अधिवक्ता रानाभाटको भनाइ छ ।

ऐनले एकवर्ष मेलमिलापका लागि कुर्ने भनेको भए पनि त्यसपछि सम्बन्धविच्छेदमा जाने भएकाले समाजमा विकृति बढेर जानेमा उनले चिन्ता व्यक्त गरे । बाबुआमा सम्बन्धविच्छेद गरेपछि उनीहरुका सन्तानलाई हुने असरका बारेमा समयमा नै सोच्न नसकिएमा समाजमा विकृतिको अवस्था सिर्जना हुने महिला अधिकारकर्मीको भनाइ छ ।

चितवन जिल्ला अदालत वार एशोसिएशनका अध्यक्ष कमल पाठकले श्रीमान्लाई प्रमाण पुर्याउन केही जटिलता रहे पनि विकृति भने बढ्नसक्ने बताए । श्रीमानश्रीमती बीचको झगडा बढेर सामाजिक रुपमा समस्या आउनसक्ने उनको तर्क छ । यद्दपि श्रीमती अन्यत्र लागेको, श्रीमान्को अङ्गभङ्ग हुनेगरी गतिविधि भएको, श्रीमतीले अंश लिएका जस्ता सबै प्रमाण पुर्याउनुपर्ने अवस्था भने रहेको अध्यक्ष पाठकको भनाइ छ ।

भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले पुरुषले पनि सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउन पाउने भएपछि महिलापीडित बन्ने क्रम बढेको उल्लेख गर्दै सामाजिक रुपमा विखण्डन ल्याउन दिन नहुने बताए । पीडित पुरुष बाहेक फरक मनसायले पनि अदालत जाने क्रम बढेमा समस्या उत्पन्न हुने उपप्रमुख ठकुरीको भनाइ छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop