www.tandavnews.com
Fact ~ In search of truth

सरकारसँग वार्ताको विकल्प छैन : विप्लव नेता मोहन कार्की

काठमाडौं ।

नेत्रविक्रम चन्द समूहका पोलिटब्यूरो सदस्य मोहन कार्कीले सरकार र आफ्नो पार्टीबीच वार्ताको विकल्प नभएको बताएका छन् ।

महानगरीय प्रहरी परिसर टेकुमा हिजो (बिहीबार) कुरा गर्दै कार्कीले देश द्वन्द्वमा जाँदा कसैलाई फाइदा नपुग्ने भएकाले शान्तिपूर्णरुपमै समस्याको समाधान खोजिनुपर्नेमा जोड दिए ।उनले आफू वार्ताको पक्षमा रहेको र वार्ताकै लागि विभिन्न सम्पर्क सूत्रमार्फत् प्रयास गर्दैगर्दा पक्राउ परेको जानकारी दिए । वार्ताका लागि राज्य गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

पार्टीको राजनीतिक कार्यदिशा एकीकृत जनक्रान्ति भएको र छापामार युद्ध नरहेको जिकिर गर्दै उनले भने–‘एकीकृत जनक्रान्ति भनेको किसान, मजदुर, मध्यम वर्ग र राष्ट्रिय पुँजीपति वर्गलाई एकीकृत ढंगले अगाडि बढाउने र जनआन्दोलन सन्चालन गर्ने हो । कतिपय साथीहरुले त्यसलाई नबुझेर छापामार युद्धतिर लैजाने प्रयत्न गरिराख्नुभएको छ ।’

आफूले पार्टीका महासचिव चन्दलाईसमेत पार्टीमा केही कुराहरु सच्याउन र कार्यदिशाअनुसार सहरका मध्यम वर्गको साथ लिएर जनतालाई राहत दिने तथा राष्ट्रिय जागरण फैलाउने अभियान गर्नुपर्ने सुझाव दिएको जानकारी दिए ।उनले आफ्नो समूहको केही कमजोरी भएको स्वीकार गरे ।

चन्द समूहले सञ्चालन गरेको विध्वंसात्मक घटनामा संलग्न रहेको आरोपमा उनलाई गत चैत १ गते ललितपुरबाट प्रहरीले पक्राउ गरेको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.