www.tandavnews.com
Fact ~ In search of truth

देशभर अपराध घट्दा राजधानीमा बढ्यो

काठमाडौं ।

काठमाडौँ उपत्यकामा विगतका वर्षको तुलनामा अपराधको सङ्ख्यामा वृद्धि भएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४-०७५ को तुलनामा आर्थिक वर्ष २०७५-०७६ मा अपराधको सङ्ख्यामा वृद्धि भएको हो ।

उपत्यकाअन्तर्गत काठमाडौँ, भक्तपुर र ललितपुरमा आर्थिक वर्ष २०७४-०७५ मा आठ हजार ३८५ मुद्दा दर्ता भएकामा आव २०७५-०७६ मा उक्त सङ्ख्या बढेर १० हजार १५९ मुद्दा दर्ता भएको थियो । यो अघिल्लो वर्षको तुलनामा २१ दशमलव १६ प्रतिशतले बढी हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली बढ्दो जनसङ्ख्या र प्रहरीको सक्रियतासँगै उपत्यकामा अपराधको सङ्ख्या बढेको बताउछन् ।

“आर्थिक वर्ष २०७५-०७६ मा काठमाडौँमा आठ हजार ४६०, भक्तपुरमा ६७९ र ललितपुरमा एक हजार २० मुद्दा दर्ता भएको थियो”, उनी भन्छन् । मुलुकको राजधानी काठमाडौँ उपत्यकामा देशभरका मानिस आएर बसोबास गर्ने ठाउँ भएकाले पनि यहाँ धेरै अपराध हुने गरेको उनको भनाइ छ ।

नेपाल प्रहरीले उपत्यकामा हुने अपराधलाई पत्ता लगाउन मुख्य त सिसिटिभीमार्फत अपराधी पत्ता लगाउँदै आएको छ । महानगरीय प्रहरी कार्यालयअन्तर्गत काठमाडौँमा १५, भक्तपुरमा तीन र ललितपुरमा तीन प्रहरी कार्यालयबाट मुद्दा चलाउने व्यवस्था गरिएको छ । उपत्यकाको सुरक्षाका लागि नेपाल प्रहरीले झण्डै १२ हजार जनशक्ति खटाएको छ ।

मुलुकभर अपराध घट्यो

काठमाडौँ उपत्यकामा विगतका वर्षमा भन्दा पछिल्ला वर्षमा अपराधको सङ्ख्यामा वृद्धि भएपनि देशभर भने अपराधको सङ्ख्यामा कमी आएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७४-०७५ मा ३९ हजार ३१५ अपराधका मुद्दा दर्ता भएकामा आर्थिक वर्ष २०७५-०७६ मा उक्त सङ्ख्या घटेर ३८ हजार ३८९ मुद्दा दर्ता भएको थियो ।

प्रहरी केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल प्रहरीको सक्रियतासँगै देशभर अपराधको घटनामा कमी आएको बताउछन् । “प्रहरीले अगाडि सारेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमले पनि अपराधका घटनामा कमी आएको छ”, उनी भन्छन् ।

देशभर ७५ हजारको हाराहारीमा प्रहरी कर्मचारीले सुरक्षा प्रदान गर्दै आइरहेका छन् । जिल्लामा भने जिल्ला प्रहरी कार्यालयमार्फत मुद्दा चल्ने गरेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.