www.tandavnews.com
Fact ~ In search of truth

बढ्दै अपराध, परिवारकै सदस्यबाट खतरा

काठमाडौं ।

केही वर्षयता कैलालीमा आपराधिक घटना बढ्दै गएका छन् । त्यसमा पनि घरपरिवारका सदस्यबाट हुने अपराधका घटनामा वृद्धि भएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

एक वर्षको अवधिमा अंशवण्डा, मादक पदार्थ सेवन र रिसको आवेगमा आएर आफ्नै परिवारका सदस्यको हत्या गर्ने क्रम बढेको कैलाली प्रहरीले बताएको छ ।साउन १२ गते राति कैलालीको गोदावरी नगरपालिका–५, बरबट्टामा छोराले चिर्पटले हानेर बुबाको हत्या गरे । अंशवण्डाको विवादमा ३० वर्षीय रामबहादुर कुमालले चिर्पटले हान्दा ६० वर्षीय बुबा अमरसिंह कुमालको मृत्यु भयो ।

साउन ६ गते घोडाघोडी नगरपालिका–११ सिसैयाका ५५ वर्षीय उदय राउतले धारिलो हतियार प्रहारबाट आफ्नै बाबुआमाको हत्या गरे । उनले धारिलो हतियार प्रहारबाट ७५ वर्षीय बुबा कल्चे राउत र आमा नन्दा राउतको हत्या गरेका हुन् ।

मादक पदार्थ सेवन गरेर उनले आमाबुबाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दक्षकुमार बस्नेतले बताए । गत मङ्सिर ३१ गते लम्की चुहा नगरपालिकाको बलियामा जहरलाल चौधरीले ६० वर्षीय बुबा पल्टु थारू र ५० वर्षीय काका छनक थारूको हत्या गरे । उनले अंशवण्डामा कुरा नमिल्दा हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुल्यो ।

गत असोज ६ गते टिकापुर नगरपालिका–कालीमाटीमा बुबाले छोराको हत्या गरेका छन् । त्रियासी वर्षीय पहले लुहारले धारिलो हतियार प्रयोग गरी आफ्नै ५२ वर्षीय छोरा कृते लुहारको हत्या गरे । गत कात्तिक १७ गते गोदावरी नगरपालिका–७ लालपुरकी ३९ वर्षीया हिरादेवी नागरीको उनकै श्रीमान् विजय नागारीले हत्या गरे ।

गत भदौ २९ गते गोदावरी नगरपालिका–१० दमौराकी तुलसी फुलौरा भट्टको उनकै श्रीमान् प्रशान्त भट्टले हत्या गरे । गौरीगङ्गा नगरपालिका–६ की निर्मला साउदलाई उनकै श्रीमान् लालबहादुर साउदले हत्या गरे ।माया प्रेम, भागबन्डा, मदिरा सेवन तथा रिसको आगेवमा कैलालीमा एक वर्षको अवधिमा आफ्नै जन्मदिने आमा–बुबा तथा श्रीमानले श्रीमती र श्रीमतीले श्रीमानको गरी नौ जनाको हत्या भएको कैलालीका प्रहरी उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

यस अवधिमा कर्तव्य ज्यान, बलात्कार, तस्करी र चोरी–डकैतीसम्बन्धी अपराध बढ्दै गएको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७३÷७४ मा जिल्ला प्रहरी कार्यालयमा २० कर्तव्य ज्यानसम्बन्धी, तीन ज्यान मार्ने उद्योग, ४८ विष खाएर मृत्यु र ११६ ले झुन्डिएर आत्महत्या गरेको प्रहरी तथ्याङ्कमा उल्लेख छ । यी अपराधका घटना आर्थिक वर्ष २०७४÷७५ मा बढेका छन् । यो समयमा १२ कर्तव्य ज्यानसम्बन्धी, ११ ज्यान मार्ने उद्योग, ७३ विष खाएर मृत्यु र १२८ ले झुन्डिएर आत्महत्या गरेका छन् ।

आव २०७५÷७६ मा अपराधका घटना अझ बढेको तथ्याङ्कले देखाएको छ । यो अवधिमा १६ कर्तव्य ज्यानसम्बन्धी, ३० ज्यान मार्ने उद्योग, ४८ विष खाएर मृत्यु र १५० ले झुन्डिएर आत्महत्या र आठ जनाले आत्महत्या दुरुत्साहन गरेको कैलाली प्रहरीले जनाएको छ ।

यसबाहेक आर्थिक वर्ष २०७३÷७४ मा १४८, सार्वजनिक कसुरसम्बन्धी, चार मानवबेचबिखन तथा ओसारपसार, नौ बहुविवाह, ६२ सवारी ज्यानसम्बन्धी घटना भएका छन् ।आर्थिक वर्ष २०७४÷७५ मा २९४ सार्वजनिक कसुरसम्बन्धी, नौ मानव बेचबिखन तथा ओसारपसार, १७ बहुविवाह, ६४ सवारी ज्यानसम्बन्धीका घटना रहेका छन् ।

यस्तै आर्थिक वर्ष २०७५÷७६ मा ३६६ सार्वजनिक कसुरसम्बन्धी, १७ मानव बेचबिखन तथा ओसारपसार, २३ बहुविवाह, ६१ सवारी ज्यानसम्बन्धीका घटना रहेको कैलाली प्रहरीले जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.