www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दी र मुस्ताङ जाने सडक बन्द हुने तालिकामा परिवर्तन

पर्वत : हिमालपारिको जिल्ला मुस्ताङ र हिमाली जिल्ला म्याग्दीलाई जोड्ने पोखरा बागलुङ सडक दैनिक रूपमा बन्द गरिने समय तालिका परिवर्तन भएको छ।
पर्वतको कुस्मा नगरपालिका १ पाङको अदुवाबारिदेखि बागलुङको बागलुङ नगरपालिका १ बाङ्गेचौर जोड्ने गरी निर्माण हुँदै गरेको नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुलको जग खन्ने काम सडकको सिधा माथि पर्ने भएकोले सडक खण्ड अवरुद्ध हुँदै आएको छ। पुलको जग खन्ने क्रममा भिरबाट खस्ने ढुङ्गा सिधै सडकमा आइपुग्ने भएकोले गत भदौ ५ गतेदेखि सडकलाई दैनिक ८ घण्टा बन्द गर्ने गरिएको थियो।

जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले दैनिक ८ घण्टा सडक छोटो सडक बन्द गरी वैकल्पिक सडक प्रयोग गर्नुपर्दा यात्रीलाई सास्ती भएको भन्दै दिउसोमा पनि १ घण्टा सडक सुचारु गराई ८ घण्टा हुने गरेको बन्दलाई ७ घण्टामा झार्न लागिएको हो। भदौ १९ गते बिहीबारदेखि २६ गतेसम्म बिहान ७ देखि ९ बजेसम्म, बिहान १० देखि दिउँसो १ बजेसम्म र दिउँसो २ बजे देखि अपराह्न साढे ४ बजेसम्म सडक बन्द गरिने भएको हो। कुस्मा नगरपालिका १ मालढुंगादेखि जलजला गाउँपालिकाको डमुवाखोलासम्म सडक बन्द रहने जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ। यसअघि बिहान १० देखि दिउँसो ४ बजे सम्म सडक बन्द गरिँदै आएकोमा दिउँसो १ देखि २ बजे सम्म एक घण्टा सडक सुचारु गर्ने निर्णय भएको हो।

दैनिक साढे ७ घण्टा सडक बन्द हुने भएपछि पर्वतको मालढुंगा, जलजला हुँदै बेनी म्याग्दी, मुस्ताङ आवत जावत गर्ने सवारी साधनलाई बागलुङ बजार, म्याग्दीको रत्नेचौरको वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। साना र हलुका सवारी साधनहरूले पर्वतको सहस्रधाराबाट पाङ्ग हुँदै दमुवाखोला सम्मको वैकल्पिक सडक समेत प्रयोग गर्न सक्नेछन्।
थानी ÷बिएलटी÷हिमशिखर कन्स्ट्रक्सन कम्पनीले निर्माणको जिम्मा लिएको पुलको अहिले फाउन्डेसन निर्माणको काम भइरहेको छ। यो झोलुङ्गे पुल नेपालको हाल सम्मकै सबैभन्दा लामो ५ सय ६७ मिटर लम्बाई र १ सय ३८ मिटर उचाइको हुनेछ।

Batas

सडक बन्द हुँदा म्याग्दी र मुस्ताङ आवतजावत गर्ने सवारी साधनहरूलाई सकस भएको छ। वर्षा रोकिनु र चाडपर्वहरूको सुरुवात भइसकेकोले मुस्ताङ जिल्ला आउजाउ गर्ने तीर्थयात्री तथा पर्यटकहरू सडकका कारण बढी मर्कामा परेका छन्। सडक बन्द गरिँदा पर्यटन क्षेत्रसँगै यात्रीहरूलाई पनि उस्तै असर पर्ने भएकोले पुलको जग निर्माणको छिटो सक्ने गरी काम गर्न भनिएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले बताए।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.