www.tandavnews.com
Fact ~ In search of truth

अपराध महाशाखा र काठमाडौँ प्रहरीमा कसुरअनुसारको हिरासत कक्ष

काठमाडौं ।

प्रहरी कार्यालय होस् या कारागार, कुनै पनि क्षेत्रमा अपराधअनुसारको हिरासत र थुनुवा कक्ष छैन । पक्राउ गरेर ल्याइएका र दोषी करार भएका व्यक्ति एउटै कोठामा कोचेर राख्नुपर्ने अवस्था छ ।

महिला र पुरुषको कक्ष छुट्ययाइए पनि अपराधअनुसारको कक्ष भने सीमित नै छ । मुलुकको राजधानी काठमाडौँको सुरक्षा हेर्ने महानगरीय अपराध नियन्त्रण महाशाखा र महानगरीय प्रहरी परिसर (काठमाडौँ प्रहरी) को भौतिक संरचना विसं २०७२ को भूकम्पपछि अझै दयनीय छ । महाशाखामा भने थुनुवा कक्ष नै छैन । अस्थायीरूपमा बस्दै आएको परिसरमा थुनुवा मात्रै होइन, प्रहरी कर्मचारी नै एउटै कोठामा बसेर विभिन्न विभागको काम सम्हाल्नुपर्ने अवस्था छ ।

Batas

तर, अब बन्न लागेको अपराध महाशाखा र परिसरको भवन भने वर्तमान आवश्यकतालाई ध्यान दिँदै अपराधअनुसारको हिरासत कक्षसहित आधुनिक प्रविधियुक्त हुनेछ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अबको भवन कसुरअनुरुपको हिरासत कक्षको व्यवस्थाको साथै सेवाग्राहीमैत्री संरचना निर्माण हुने बताउछन् । प्रहरीको उक्त भवनमा हत्या, चोरी, विशिष्ट व्यक्ति तथा अन्य कसुरमा फरक–फरक कक्षहरु राखिनेछ । परिसरमा ३०० र महाशाखाका १५० जना राख्न मिल्ने गरी भवन बन्दैछ ।

“अनुसन्धानको क्रममा पक्राउ परेका सबैलाई प्रहरीको व्यवहार समान हुनुपर्छ, कोही मानिस प्रहरी कार्यालयमा आयो भन्दैमा के परेछ भन्दै हेर्ने दृष्टिकोणमा गलत बुझाइ नहोस्, मैले मेरो प्रहरीलाई सूचना दिन आएको हुुँ भन्ने महसुस हुने गरी छुट्टै डेस्क हुन्छ र आफ्नो कुरा राख्न पाइन्छ ।”

‘गोरखा भूकम्प’ लगत्तै अपराध महाशाखा र प्रहरी परिसर विस्थापित भयो । भूकम्पपछिको चार वर्ष कष्टकररूपमा बिताएको महानगरीय प्रहरी परिसर र महानगरीय अपराध नियन्त्रण महाशाखाको नयाँ भवन निर्माणको आजदेखि औपचारिक थालनी भएको छ । दुई वर्षभित्र कामसक्ने लक्ष्य यसको छ ।

नेपाल प्रहरीको भौतिक पूर्वाधार निर्देशनालयले दिएको जानकारीअनुसार अपराध महाशाखाको भवन ३० करोडमा बन्दैछ । महानगरीय प्रहरी परिसरको भवन भने ६५ करोडको लागतमा निर्माण हुन लागेको हो । निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक लोकेशचन्द्र सिंहले १५ रोपनीमा परिसर र नौ रोपनीमा महाशाखा निर्माण हुने जानकारी दिए ।

भूकम्प गएलगत्तै हनुमानढोकाबाट महानगरीय प्रहरी परिसर र एकाएक टेकुस्थित तत्कालीन नेशनल ट्रेडिङ कर्पोरेशनको पुरानो भवनमा सरेको थियो । महानगरीय अपराध नियन्त्रण महाशाखा भने त्यसैको छेउमा पार्टी प्यालेस नजिक टेन्ट टाँगेर बसेको छ । अहिले त टेन्ट घामपानी ओत्ने अवस्थाको छैन । च्यातिएको त्रिपालमा बसेर अपराध अनुसन्धान गर्दै आएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापा अब बन्ने भवन भने आधुनिक प्रविधिसहितको वर्तमान आवश्यकतालाई मध्यनजर गरी बन्न लागेकाले काम गर्न र सेवा दिन सहज हुने बताए । भवन दुई वर्षभित्र बन्नेछ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.