www.tandavnews.com
Fact ~ In search of truth

भोलीदेखि मौसममा सुधार हुने

काठमाडौं ।

भारतको मध्यप्रदेशस्थित उत्तर–पश्चिमी क्षेत्र र उत्तर प्रदेशको दक्षिण भागमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको असरले देशभर बदली हुनाका साथै वर्षा पनि भइरहेको छ ।

उक्त प्रणालीको असर आज रातिसम्म कायम रहने र भोलिदेखि मौसममा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले बताए ।

“बुधबार देशका मध्य र पश्चिमका धेरैजसो स्थान तथा पूर्वका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ।’’ उनले भने देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहिरो जानसक्ने, नदीमा पानीको वहाब बढ्न सक्ने र सडक तथा हवाई यातायातमासमेत अवरोध आउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन उनको सुझाव थियोे ।

सामान्यतया नेपालमा जुन १० मा मनसुन शुरु भएर सेप्टेम्बर २३ मा सकिने गर्छ । यस वर्ष नेपालमा १० दिन ढिलो गरी मनसुन भित्रिएको थियो । हाल देशका अधिकांश भागमा आंशिक तथा पूर्ण बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का तथा मध्यम वर्षा भइरहेको छ ।

बिहीबारदेखि मौसममा सुधार हुने भए पनि शुक्रबारसम्म देशभर आंशिकदेखि सामान्य बदली हुनाका साथै हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा २६.० मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ४.० मिलिमिटर, सिमरामा १६.० मिलिमिटर, धनगढीमा २५.० मिलिमिटर जुम्लामा १.० मिलिमिटर र दिपालयमा ११.० मिलिमिटर वर्षा भएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.