www.tandavnews.com
Fact ~ In search of truth

सी भ्रमणः उच्चस्तरीय सुरक्षा,सी सवार हुने सडक कालोपत्र गरि चिल्लो बनाइयो

काठमाडौं।

चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिवसीय राजकीय भ्रमणको सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको छ ।

अतिविशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७० अनुसार चारओटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको हो ।

Batas

आवश्यक तयारीको सिलसिलामा दैनिक सुरक्षा समन्वयात्मक छलफल चलिरहेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति कार्यालयसम्म र बस्ने होटलसम्मको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

सो क्षेत्रमा सुरक्षासहित आवश्यक तयारीस्वरुप ‘रिहर्सल’समेत भइरहेको उनले बताए ।राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीले यही असोज २५ र २६ गते नेपालको दुईदिवसीय राजकीय भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

उनको सुरक्षामा काठमाडौंको जिल्ला सुरक्षा समितिको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना सहभागी सुरक्षा समन्वय समितिले आन्तरिक सुरक्षाको जिम्मा लिएको छ ।

नेपाली सेनाका बलाधिकृत रथीको नेतृत्वमा समिति बनाएर सुरक्षाको प्रबन्ध मिलाइएको छ ।उक्त समितिले विभिन्न चरणमा बैठक बसेर आवश्यक तयारी गरेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । जसले मुख्य सुरक्षाको जिम्मा लिनेछ ।

काठमाडौंका प्रजिअ दाहालले तोकिएको मापदन्ड र सिद्धान्तअनुसारको सुरक्षाको व्यवस्था मिलाइएको बताए ।उनले ललितपुर र भक्तपुरका सुरक्षाकर्मीसँगसमेत समन्वयमा तयारी गरिएको बताए ।

राष्ट्रपति सीको भ्रमणका लागि सुरक्षामा नेपाल प्रहरीको तर्फबाट नेतृत्व लिएका प्रहरी अतिरीक्त महानिरीक्षक पुष्कर कार्कीले अन्तर्राष्ट्रिय विशिष्ट व्यक्ति आउँदा अपनाउने आवश्यक सुरक्षा व्यवस्था सबै अवलम्बन गरिएको जानकारी दिए ।

भ्रमणकाक्रममा चिनियाँ राष्ट्रपति सीसहितका विशिष्ट पाहुनाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिमन्डलस्तरमा औपचारिक वार्ता गर्नेछन् ।

२३ वर्षपछि हुन लागेको भ्रमणले आपसी मित्रता र सहकार्य थप अभिवृद्धि हुने विश्वास गरिएको छ । महत्वपूर्ण विषयमा सम्झौतासमेत हुने जनाइएको छ ।

राष्ट्रपति सी सवार हुने सडकहरु नयाँ कालोपत्रसहित चिल्लो बनाइएको तथा ठाउँठाउँमा नेपालको प्राकृतिक सुन्दरता झल्कने तस्वीर र ब्यानर राखिएको छ ।सम्भावित क्षेत्र र चोकमा नियमित सुरक्षा गस्ती बढाइएको छ ।

ठाउँठाउँमा स्वागतद्वार बनाउने, सडक पुनःनिर्माणलाई तीव्रता दिने, पार्क आकर्षित गर्ने फूलका बिरुवा सार्ने तथा रङरोगन गर्ने काम तीव्ररुपमा भइरहको छ ।

विभिन्न स्थानमा विश्वसम्पदा सूचीमा सूचीकृत र नेपालका मौलिक संस्कृति झल्कने तस्वीरसहितको ‘फ्लेक्स’ बनाएर राखिएको छ ।राष्ट्रपति सीलाई नागरिकस्तरबाटसमेत भव्य स्वागतको तयारी छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.