www.tandavnews.com
Fact ~ In search of truth

सत्तारुढ नेकपाको चियापन शुरु

काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम शुरु भएको छ ।

काठमाडौँको भृकुटीमण्डपमा जारी चियापान कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ । चियापान कार्यक्रममा सहभागी हुन नेता कार्यकर्ता लाइनबद्ध हुन थालेका छन् । आगन्तुकलाई नेकपाका शीर्ष नेताहरुले स्वागत गरिरहेका छन्।

कार्यक्रमको व्यवस्थापनका लागि पार्टीले आवश्यक स्वयंसेवक परिचालन गरेको छ । चियापान समारोहको सुरक्षाका लागि नेपाल प्रहरीले पनि पर्याप्त मात्रामा जनशक्ति खटाएको छ । कार्यक्रममा विभिन्न जनसांस्कृतिक टोलीले प्रस्तुति दिइरहेका छन् ।

पार्टीका महासचिव विष्णु पौडेलका अनुसार अपराह्न १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई र अपराह्न ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अङ्गका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारीलाई आमन्त्रण गरिएको छ ।

मुलुकको बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता, साझेदारी र सहकार्यको मौलिक विशेषतासँगै लामो समयदेखि चल्दै आएको चाडबाड तथा संस्कृतिले नेपाली नेपालीबीचको एकतालाई अझ मजबुत बनाउने उद्देश्यले नेकपाले हरेक वर्ष कार्यक्रम गर्दै आएको छ ।

चियापान कार्यक्रममा एक लाख बढीको सहभागिता हुने जनाइएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नामबाट निमन्त्रणापत्र पठाइसकिएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.