www.tandavnews.com
Fact ~ In search of truth

पाल्पा सुर्यकुण्डमा एक सय आठ धारा बनाइने

पाल्पा ।

पाल्पाको तानसेन नगरपालिका–७ प्रवासस्थित सूर्यकुण्डमा १०८ धारा बनाइने भएको छ । स्थानीय वंशगोपाल युवा क्लबको नेतृत्वमा धार्मिक पर्यटकीय गन्तव्य निर्माण गरी पर्यटक आकर्षणका लागि १०८ धारा बनाउन लागिएको हो ।

मुक्तिनाथको झल्को दिने गरी १०८ धाराबाट पानी झर्ने व्यवस्था गरिने भएको छ । धारामा कालीगण्डकी नदीकै पानीमा बूढाबूढीले स्नान गर्ने व्यवस्था गरिने तानसेन नगरपालिका–७ का वडाध्यक्ष माधव जिसीले बताए ।

स्नान गरी पुन्यप्राप्ति हुने गरी धार्मिक कर्मकाण्डसमेत हुनेछ । तानसेन नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ मा  पाँच लाख र आर्थिक वर्ष २०७५/७६ मा १० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि प्रवासको सूर्यकुण्डलाई व्यवस्थित गर्ने काम अगाडि बढाइएको वडाध्यक्ष जिसीले बताए ।

‘सूर्यकुण्डको वरिपरि १०८ धारा जडान गर्ने काम हुन्छ । हामीसँग स्थानीय सरकारको बजेट अहिले छैन । स्थानीय बासिन्दाबाट २० हजार प्रतिव्यक्ति संकलन गरी काम गर्ने योजनामा छौँ । करीब ८० घरधुरीबाट प्रतिव्यक्ति रु २० हजार उठाउन लागिएको छ’, क्लबका अध्यक्ष प्रदीप खनालले बताए ।

सूर्यकुण्डमा धारा निर्माणकार्य सम्पन्न गरी स्नान गर्न थालेपछि यस क्षेत्रकै नमूना पर्यटकीय गन्तव्यका रूपमा विकास हुने स्थानीय बासिन्दाको भनाइ छ । यसरी गन्तव्य निर्माण लागि आर्थिक सहयोग गर्न स्थानीय बासिन्दा तयार छन् ।

वडाध्यक्ष जिसीका अनुसार नारदमुनि मुक्तियात्राका क्रममा प्रवास बास बसेको भनाइ छ । ‘भारतको माउटभ्यालीसम्बन्धी यात्राको भिडियोमा पाल्पाको प्रवासको उल्लेख गरेको पाइन्छ’, वडाध्यक्ष जिसीले भने । यात्राबाट फर्केर प्रवासको सूर्यकुण्डलाई व्यवस्थित बनाउने योजना अघि बढाइएको हो ।

चार आना जमीनमा सूर्यकुण्ड रहेको छ । सूर्यकुण्डको सात रोपनी जमीन रहेको छ । ऐतिहासिक महत्व रहेको सूर्यकुण्डको पानी शिवालय कमलेश्वर मन्दिर र सैनामैना लगेर चढाउने चलन छ । यहाँका जल चढाउँदा पुन्यप्राप्ति हुने आशाले साउन महिनाको सोमबार निकै चहलपहल हुने गर्छ ।

माण्डव्य क्षेत्रअन्तर्गत रहेको सूर्यकुण्ड रहेको प्रवासमा शिवरात्रिका समयमा विशेष मेला लाग्दै आएको छ । स्थानीय उत्पादनको किनबेचसमेत गर्नका लागि त्यहाँ आउने परम्परा रहे पनि अहिले सांस्कृतिक कार्यक्रम गरी थप चहलपहल हुँदै गएको स्थानीय बासिन्दाको भनाइ छ ।

वडाध्यक्ष जिसीका अनुसार स्थानीय वंशगोपल क्लबको नेतृत्वमा वडाभित्रका चार महत्वपूर्ण आयोजनाका काम भएका छन् । सूर्यकुण्डलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने, खेलमैदान निर्माण, बगैँचालाई व्यवस्थित गर्ने कामसमेत भएको पाइन्छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.