www.tandavnews.com
Fact ~ In search of truth

ट्राफिक लाइट कहिले ?

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

गण्डकी प्रदेशको राजधानी पोखरामा दैनिक डेढ लाख बढी सवारी गुड्छन् । प्रदेशको राजधानीमा यो संख्या बढ्ने निश्चित छ नै । प्रादेशिकसँगै पर्यटनको राजधानी पनि पोखरा नै भएको हुनाले सवारी र जन संख्या ह्वात्तै वढ्ने देखिन्छ ।

संरचना अनुसार यहाँ भिआइपी मुमेन्ट पनि बढ्दो छ । प्रदेशका मन्त्रालय र मन्त्रीहरुको केन्द्र भएकै कारणले पनि सवारीको चाप पछिल्लो समय बढ्दै छ ।

Batas

देशको राजधानी काठमाडौंले आफूलाई ट्राफिक जामको पर्याय बनाइरहँदा पोखराले पनि अहिले १० देखि १५ मिनेटको जाम भोग्न बाध्य छ ।
यो अवस्थामा ड्यूटीमा भएका ट्राफिक प्रहरीलाई कहिलेकाहीं जामकै कारणले तनाव बनाउँछ । ट्राफिक लाइट हुने हो भने, केहि हदसम्म भएपनि सवारीको आहोरदोहोर व्यवस्थित हुने आँकलन गर्न सकिन्छ ।

पोखरामा ट्राफिक लाइट

पोखराको चिप्लेढुङ्गा, महेन्द्रपुल, सिर्जनाचोकको सडक छेउमा अझै पनि ट्राफिक लाइटका स्ट्याण्ड देख्न सकिन्छ ।

ट्राफिक लाइटहरु जिर्ण अवस्थामा छन् । स्ट्याण्डहरु खिइएर भाँचिएका छन् । त्यसको पुनः निर्माणका लागि बेला–बेला आवाज गुञ्जिने गरेको भएपनि कार्यान्वयनमा आउन सकेको छैन ।

अब नयाँ ट्राफिक लाइटहरुको आवश्यक रहेको पोखरा–४ मालेपाटनका इन्द्रमान गुरुङ बताउँछन् । ‘पोखरा प्रदेशको राजधानी हो,’ उनले भने, ‘अब ट्राफिक व्यवस्था र यात्रुलाई सुविधा थप्दै जानुपर्छ । विगतमा भएका ट्राफिक लाइटहरु मर्मत गरेर हुन्छ की नयाँ बनाउने हो, यो काम वेलैमा गर्नुपर्छ ।’

पृथ्वीचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार लगायतका क्षेत्र चहलपहल बढी हुने क्षेत्र हुन् । यि बाहेकका क्षेत्रमा पनि ट्राफिक प्रहरीको आवश्यकता बढ्दै गएको छ । आवश्यकता अनुसार ट्राफिकको संख्या नरहेको ट्राफिक कार्यालय कास्कीका प्रमुख ऐनबहादुर मल्ल बताउँछन् । ‘अहिले हामीसँग ८३ ट्राफिक प्रहरीहरु छन् । आवश्यकता अनुसार १५० जना हुनुपर्ने हो । यस्तो अवस्थामा ट्राफिक लाइट हुने हो भने धेरै कामकारवाही सहज हुने थियो ’ उनले भने ।

ट्राफिक कार्यालय कास्की प्रमुख ऐनबहादुर मल्ल

ट्राफिक लाइटले सवारी जाम कम गर्ने मात्रै नभएर लेन अनुशासनमा पनि महत्वपुर्ण भूमिका खेल्ने उनको ठम्याई छ । ट्राफिक प्रमुख मल्ल भन्छन् ‘लेन अनुशासनमा पनि सहयोग पुग्छ । चोकहरुमा लाइटको व्यवस्था गर्न सकियो भने सवारीहरु वेल रेगुलेट हुन्छन् । प्रहरी नै फिल्डमा उत्रिनु पर्दैनथ्यो ।’

शहरी क्षेत्रमा ट्राफिक लाइट राख्ने हो भने, ट्राफिक प्रहरीहरुलाई अन्यत्र स्थानमा खटाउन सकिने उनको विश्वास छ ।

‘जहाँ सवारी गुड्छन् तर जनशक्तिको अभावले ट्राफिक पुग्न सक्दैनन् । त्यस्तो स्थानमा खटाउन सकिन्छ प्रहरीलाई । पामे, खहरे, हल्लनचोक, सिद्धार्थ चोक लगायतका स्थानमा रेगुलर ड्युटी गर्नलाई मेनपावर नै छैनन् । यसकारण पनि ट्राफिक लाइट पोखरामा आवश्यक छ ’ उनले सुनाए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.