www.tandavnews.com
Fact ~ In search of truth

कास्की–२ :२१ उम्मेदवार, ३ को बदर, एकको फिर्ता

पोखरा ।

कास्की निर्वाचन क्षेत्र नम्बर –२ मा रिक्त प्रतिनिधिसमा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका उम्मेदवार मध्ये ३ को उम्मेदवारी बदर भएको छ भने एकले उम्मेदवारी फिर्ता लिएका छन् । यो सँगै आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि २१ उम्मेदवार कायम भएका छन् ।

१४ राजनीतिक दल र ११ स्वतन्त्र गरी २५ उम्मेदवारले मनोनयन दर्ता गरेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज(आइतबार) स्वतन्त्र उम्मेदवार पुरुषोत्तम खनालले उम्मेदवारी फिर्ता लिएका हुन् । आज(आइतबार) दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय राखिएकोमा स्याङजाका खनालले मात्र फिर्ता गरेको कार्यालयले जनाएको छ ।

यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका गजेन्द्र संवो लिम्बु, राष्ट्रिय नागरिक पार्टीका नवराज घले र राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्त विक्रम सिंहको उम्मेदवारी निर्वाचन आयोगले बदर गरेको छ ।

लिम्बु गत २०७४ को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्द सूचीमा आदिवासी जनजाति तर्फ प्राथमिकता क्रम ३ र बन्दसूचीको क्रमसंख्या १३ मा उम्मेद्वार रहेको आयोगले जनाएको छ ।

त्यस्तै घले तत्कालिन एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को प्राथमिकता क्रम १६ र बन्दसूचीको १०१ क्रममा समानुपातिकतर्फ आदिवासी जनजातिबाट उम्मेदवारर रहेको आयोगको सूचनामा छ ।

शाह पनि उक्त पार्टीबाट खसआर्यतर्फ उम्मेदवार रहेकाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १४ को उपदफा २ र सोही ऐनको दफा ३० तथा उपनिर्वाचन निर्देशिका २०७६ को दफा ३० (४ं) बमोजिम उम्मेद्वारी बदर गरिएको निर्वाचन आयोगले जनाएको छ ।

अब निर्वाचनमा नेकपाबाट विद्या भट्टराई अधिकारी, कांग्रेसका खेमराज पौडेल, साझा पार्टीबाट रजनी केसी, विवेकशीलबाट जमुना शर्मा, समाजवादीबाट धर्मराज गुरुङ, देशभक्त समाजबाट विरबहादुर विश्वकर्मा, नेपाली कांग्रेस (बिपी) बाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ती पार्टीबाट पूर्णबहादुर राना, नेकपा मालेबाट टेकनाथ भण्डारी, मंगोल नेशनल अर्गानाइजेशनबाट रियाज गुरुङ, राप्रपा संयुक्त गंगा मल्ल, राप्रपा रोमबहादुर भण्डारीको उम्मेदवारी कायम भएको छ ।

यसैगरी कमलजंग कुँवर, यज्ञप्रसाद पंगेनी, लक्ष्मीकुमारी भूजेल, सुनिल भुसाल, सुनिलबहादुर कोइराला, दीपक रेग्मी, उमनाथ गौतम, नवराज बास्तोला र रनबहादुर दमै स्वतन्त्र उम्मेदवार रहेका छन । कुनै पनि उम्मेदवारबिरुद्ध उजुरी परेको छैन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.