www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा कोल्डस्टोर तीन वर्षदेखि अलपत्र

पर्वत ।

किसानको उत्पादन बाह्रै महिना संकलन गरी बजार पठाउने उद्देश्यका साथ निर्माण थालिएको चिस्यान केन्द्र अलपत्र परेको छ ।

मोदी गाउँपालिका–२ देउपुरको पातीचौरमा निर्माणाधीन चिस्यानकेन्द्र तीन वर्षदेखि अलपत्र परेको हो । गाउँपालिकाले भने पाँच करोड लागत मूल्यांकन गरेको निर्माणाधीन चिस्यान केन्द्र अलपत्र छाडेर अर्को नयाँ बनाउने तयारी थालेको छ ।

पर्वत जिल्लाका किसानले उत्पादन गरेको आलु, सुन्तला, तरकारी, खाद्यान्नलगायत स्टोर गर्ने योजनाअनुरूप तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पालामा ०७३÷०७४ मा निर्माण थालिएको थियो ।

कोल्डस्टोर बनाउन मोदी–२ देउपुरका खेमबहादुर हमालले जग्गा दिएपछि तत्काल पाँच आना जग्गामा भवन निर्माण शुरु गरिएको हो । निर्माण समितिका अध्यक्ष गंगा तिमिल्सिनाका अनुसार शुरुको वर्ष ५० लाख विनियोजन भए पनि २४ लाख बजेट आयो ।

‘बजेट विनियोजन भएपछि काम थाल्यौँ’, उनले भने, ‘लागत मूल्यांकन अनुसार बजेट नआएपछि काम अघि बढेन । अपुग बजेट माग्ने दबाब पुगेन ।’ दुईतले चिस्यान केन्द्र निर्माणको काम एक वर्षमा सक्ने लक्ष्य थियो । तर लक्ष्यअनुसार काम गर्न बजेट अभाव भएपछि निर्माणकै क्रममा एक ढलान गरिएपछि अलपत्र छ ।

अहिले भवनको भुइँ तल्लामा स्थानीयले घाँस, पराल राखेर उपयोग गरिरहेका छन् । भवनको बाहिरी भागमा ठडिएका रड हिउँदे र वर्षे तरकारीका लागि थाँक्राका रूपमा प्रयोग गरिएको छ ।

भवन बेवारिसे भएपछि ढलान र प्लास्टरसमेत काम नलाग्ने भएको छ । समयमै सम्पन्न भएको भए प्रयोगमा आइसक्ने भवन अलपत्र हुँदा उपयोग गर्न नपाएको गुनासो स्थानीयको छ ।

देउपुर जिल्लामै धेरै सुन्तला उत्पादन हुनेमा दोस्रो गाउँ हो । यहाँ वर्षेनी तीन करोडको सुन्तला उत्पादन हुन्छ । मौसममा ३० देखि ४० प्रतिकिलोका दरले बिक्री गर्नुपर्ने सुन्तला चैतसम्म राख्नसके १५० मा बिक्री हुने किसानले बताएका छन् ।

विज्ञले कोल्डस्टोरको न्यूनतम मापदण्डसमेत पूरा नगरी भवन निर्माण भएकाले सम्पन्न हुन समस्या देखिएको बताउँछन् । कृषि ज्ञानकेन्द्र पर्वतका प्रमुख एवं कृषि विज्ञ वासुदेव रेग्मीले भवनको क्षेत्रफलअनुसार क्षमता कम हुने बताए ।

अलैँचीले बजार नपाएपछि कृषक समस्यामा

व्यावसायिकरुपमा अलैँचीखेती गर्दै आएका पर्वतका किसान यतिखेर अलैँची बिक्री नहुँदा समस्यामा परेका छन् ।

जिल्लाको मोदी, कुश्मा, फलेबास र महाशीला गाउँपालिकामा व्यावसायिकरुपमा अलैची खेती गर्दै आएका कृषकले अलैँचीले बजार नपाएको गुनासो गरेका हुन् । यी क्षेत्रमा झण्डै २०० हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ ।

पर्वतको मोदी गाउँपालिका–१ भूकका किसानले राम्रो आम्दानी हुने भन्दै खरबारी, करेसा र कोदो फल्ने बारी मासेर अलैँची रोपेका थिए । कुनै समय प्रतिमन एक लाख २५ हजारमा बिक्री भएको अलैँची अहिले मुस्किलले २३ हजार रुपैयाँमा बिक्री गर्न बाध्य हुनुपरेको अगुवा कृषक केवी गुरुङले गुनासो गरे ।

यहाँ २०० रोपनी जग्गामा अलैँचीखेती गरिएको छ । अलैँचीखेती गर्दा करीब एक करोड खर्च भए पनि बिक्री नहुँदा लगानी खेर जाने अवस्था रहेको उनले बताए ।

पर्वतमा यस वर्ष २०० मन अलैँची उत्पादन भएको छ । गतिलो मूल्य नपाउँदा कृषकले अलैँची थन्क्याएर राख्न बाध्य भएका छन् । गतिलो मूल्य नपाएपछि घरमै राखिएको भोक्सिङका कृषक नारायण गुरुङले जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.