www.tandavnews.com
Fact ~ In search of truth

आरन पेशाबाट मासिक आम्दानी ५० हजार

म्याग्दी ।

दुईवटा खाँबाको धरन । डाँडाभाटा र बलाको भर । टिनको छाप्रो । त्यही छाप्रोमा छ सानो आरन । आरनको छेउमा बसेर ट्याकट्याक, टुकटुक पार्न थालेको सयौँ दिन बितिसके । अझै कति समय बिताउने हो त्यो थाहा छैन ।

आरनमा बसेपछि दिन बितेको पत्तै हुँदैन । भोक, तिर्खा पनि लाग्दैन । आरन पेशामै धेरै दिनहरु बिताएका म्याग्दीको बेनी नगरपालिका–५, डडुवाका हर्कबहादुर विश्वकर्माको धेरै समय यसैमा बितेको छ ।

सानै उमेरदेखि फलाम र आरनको काम गर्ने सीप सिकेर उनले आरन पेशा थालेका हुन् । आरन पेशा आफ्नो बाबुबाजेले गर्दै आएको हुँदा आफूहरुको पुख्र्यौली पेशा भएकाले यसलाई निरन्तरता दिएको उनले बताए ।

टिनको छाप्रामुनि रहेको उनको आरनमा फलामबाट बन्न सक्ने सबै प्रकारका सामान बन्छन् । नयाँ सामान बनाउने र पुरानालाई मर्मतसम्भार गर्ने काम पनि आरनमै हुन्छ ।मानिसलाई चाहिने दैनिक उपभोग्यका सामान बनाउन विश्वकर्मा निकै खप्पिस छन् । उनले आफ्नो बाबुसँगै आरनमा बसेर फलामको काम गर्न सिकेको बताए ।

१२ वर्षको उमेरदेखि आरन पेशामा लागेका उनले आरनको सहयोगमा खुकुरी, बञ्चरो, हँसिया, कुटो, कोदालो, थेबे, फाली, छिनो, टुकटुके, दाबेजस्ता दैनिक जीवनमा आवश्यक पर्ने सबै सामान बनाउछन् ।

उनले काँचो फलाम किनेर विभिन्न सामान निर्माण गर्दै आएका छन् भने विद्युत्को सहायताबाट तिनै फलामका सामान चम्काउने गर्छन् । आरन पुरानो भए पनि निकै आकर्षक र लाग्ने खालका सामान बन्छन् । विश्वकर्मासँग घरेलु हतियार बन्दुक र नौमती पञ्चेबाजाअन्तर्गतको सनई बनाउने सीप पनि रहेको छ ।

आरनमा बनेको खुकुरीलाई न्यूनतम तीन हजारदेखि आठ हजारसम्म मूल्य पर्दछ । यसैगरी हँसिया र फालीलाई एक–एक हजार, कोदाली, टुकुटुके एक हजार ५०० को दर तथा थेबेलाई एक हजार २०० मूल्य पर्ने उनले जानकारी दिए । आरनबाट दैनिकरुपमा चाहिने विभिन्न प्रकृतिका सानादेखि ठूला सामान बन्छन् । आरनमा फलामबाट निर्मित सामान उदाउने (अर्जाब्ने) काम पनि हुन्छ ।

गाउँभन्दा बाहिरबाट फलामका सामान बनाएको तथा मर्मत गरेर महिनामा ३५ हजार कमाइ हुनेहुँदा २० हजार बढी अन्नपातबाटै संकलन हुन्छ । एक दर्जन हँसिया अर्जाबेबापत ५०० तिर्नुपर्ने रेट रहेको छ ।

विदेश नगए पनि विश्वकर्माले आरन पेशाबाटै परिवार धानेका छन् । उनले छोरालाई पनि आरनको काम सिकाउन भन्दै बाबुछोराको छुट्टाछुट्टै आरन चलाएका छन् । विदेश जाने हतियार पासपोर्ट पनि लिएका छैनन् । सानै उमेरमा पल्टन जाने भने पनि त्यसमा नभएको पीडा सुनाउँदै उनले यत्रो उमेर भइसक्दासमेत आफू अझै पोखरा पनि नगएको खुलासा गरे ।

उमेरले ५० औँ वसन्तमा घुम्दै गरेका हर्कबहादुरले फलामको साथै काठको काम गर्न पनि सिपालु छन् । काठबाट बन्ने हलो, जुवा, डाँडो, लिड्को र साओ (मोही) जस्ता सामान बनाउने आफूसँग सीप रहेको उनको भनाइ छ । हर्कबहादुरको आरनमा डडुवा गाउँसहित छिमेकी पूर्णगाउँ, चिप्लेटी, नयाँगाउँ, तातोपानी, मिठौला, सिमलचौर, वाखेतलगायत स्थानबाट ग्राहक पुग्ने गरेका छन् ।

परम्परागत सीप र प्रविधिमा आधारित आरनमा सामुदायिक वनजङ्गलबाट पैयुँ, गुराँस, हाडेकाफल, मौवा र आरुपाते रुखको सहयोगमा गोल बनाएर आरन सञ्चालन गरिन्छ । वनबाट ल्याएको गोलको सहयोगबाट नै फलामका सामान तिखारिन्छन् र चम्किन्छन् ।

पाँच जनाको परिवार रहेको विश्वकर्माले आरन पेशाबाटै परिवारको गुजारा चलाउने गरेको बताउँदै डडुवाको अधिकांश गाउँलेबाट आरनको काम गरेबापत अन्नपात लिन्छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.