www.tandavnews.com
Fact ~ In search of truth

‘स्मार्ट’ चालक अनुमतिपत्र ५० हजार वितरण गर्न बाँकी

काठमाडौं ।

एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालयमा झण्डै ५० हजार कार्ड वितरण गर्न बाँकी रहेको छ । धेरै चालकले अनुमतिपत्र नपाएको गुनासो गरिरहँदा छापिसकेको चालक अनुमतिपत्र भने लिन सेवाग्राही कार्यालय पुगेका छैनन् ।

छापिसकेका कार्ड लिन सेवाग्राही नआउँदा कार्यालयलाई व्यवस्थापन गर्न कठीन भएको प्रमुख डम्मरबहादुर चन्दले बताए । उनका अनुसार दैनिक सेवाग्राही कार्ड लिन आउँदा तीनै कार्ड पल्टाएर खोज्नुपर्नै अवस्था छ ।

दुई वर्ष वा त्योभन्दा पहिले छापिएका कार्डसमेत कार्यालयमा त्यसै थन्किएको छ । उनले भने, ‘हामीले विभिन्न माध्यमबाट जानकारी गराउँदा पनि सेवाग्राही लिन आइरहेका छैनन् ।’

कार्यालयमा एकाथरी सेवाग्राही कार्ड नछापिएको भन्दै गुनासो गर्न आइपुग्ने गरेका छन् । उनीहरु दैनिक ‘मेरो कार्ड छापियो कि छैन’ भन्दै आउने गरेका छन् भने कार्ड छापिसकेका सेवाग्राही लिन नआउँदा व्यवस्थापन गर्न कठिन हुने गरेको चन्दको भनाइ छ ।

देशभरमा झण्डै साढे सात लाख चालक अनुमतिपत्र छाप्न बाँकी रहेको यातायात व्यवस्था विभागले जनाएको छ । त्यसमध्ये सबैभन्दा बढी सङ्ख्यामा चालक अनुमतिपत्र वितरण गर्न बाँकी यही कार्यालयको रहेको छ ।

कार्यालयले विभागले छापिसकेको कार्ड दैनिक ल्याएर सकेसम्म चाँडो वितरण गर्दै आएको कार्यालयले जनाएको छ । उनले भने, ‘उताबाट छाप्नै बाँकी कार्ड किन नछापेको भन्दै सेवाग्राही हामीसँग रिसाउने गरेका छन् ।’

संविधानका अनुसार यातायातको व्यवस्थानको जिम्मेवारी प्रदेश सरकारको हो । प्रदेश सरकार आफैँले ‘प्रिन्टर’ खरीद गरेर छपाइ गर्न शुरु नगरेकाले अहिलेसम्म विभागले नै देशभरका प्रदेश कार्यालयको चालक अनुमतिपत्र छाप्दै आएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.