www.tandavnews.com
Fact ~ In search of truth

पाँच हिमालको पहिलोपटक सफल आरोहण

काठमाडौं ।

यस शरद ऋतुमा साना र नयाँ हिमालतर्फ आरोही आकर्षित भएका छन् । सात हजार मिटरभन्दा कम उचाइका पाँच हिमालको पहिलोपटक सफल आरोहण गरिएको छ ।

पर्यटन विभागका अनुसार खुम्बु क्षेत्रको महालङ्गुर हिमशृङखलामा पर्ने छ हजार ७६४ मिटर उचाइको हांगु (सुरा पिक), छ हजार ८३३ मिटर उचाइको हुङ्कु चुली, दोलखाको रोल वालिङ क्षेत्रमा पर्ने छ हजार ६५९ मिटर उचाइको लिङ्कु चुली हिमाल आरोहण गरिएको छ ।

गोरखाको मानसिरी हिमशृङ्खलामा पर्ने छ हजार ६२० मिटर उचाइको पान्पोचे (प्रथम) र छ हजार ५०४ मिटर उचाइमा रहेको पान्पोचे (दोस्रो) हिमालको पहिलो पटक आरोहण भएको छ । पाँच वटै हिमालको विदेशी आरोहीले आरोहण गरेको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए ।

मनास्लुमा १८८ आरोही

गोरखाको आठ हजार १६३ मिटर उचाइको मनास्लु हिमालको १८८ आरोहीले गत महिना आरोहण सफल गरेका छन् । मनास्लुमा पर्यटन विभागवाट २६४ आरोहीले आरोहण अनुमति लिएका थिए । अनुमति लिएकामध्येमा १४२ पुरुष र ४६ महिला गरी १८८ आरोहीले आरोहण सफल गरेका हुन् ।

घिमिरेका अनुसार आरोहीका साथ एक सय ६५ नेपाली गाइडले समेत आरोहण गरेका छन् । आरोही र गाइड गरी यो मौसममा मनास्लुमा ३५३ आरोहीले आरोहण सफल गरेका हुन् ।

मनास्लु आरोहणका लागि ४४ देशका आरोहीले अनुमति लिएकोमा ४० देशका आरोहीले आरोहण सफल गरेका हुन भने आरोहण सम्पन्न गर्नेमध्येमा चिनियाँ आरोहीको संख्या उच्च रहेको विभागले जनाएको छ ।

सोमबारको तथ्यांकअनुसार यस यामका लागि मात्रै विभागवाट ५३ हिमाल आरोहणका लागि ६२ देशका एक हजार २१० आरोहीले आरोहण अनुमति लिएका छन् । आरोहण अनुमति लिएको हिमालमध्येमा सगरमाथा, ल्होत्से र नुप्से हिमालको आरोहण हुन सकेन भने अन्य हिमालको आरोहण भइरहेको विभागले जनाएको छ ।

मनास्लु आरोहणका क्रममा पोल्यान्डकी ५० वर्षीया रीता डोनेटा ब्लाङ्य र हिमलुङ हिमाल आरोहणका क्रममा स्पेनका ४८ वर्षीय फर्नान्डो सान्चेज घासाको मृत्यु भएको विभागले जनाएको छ ।

विभागको होमस्टे तथा पर्वतारोहण विभागका निर्देशक मीरा आचार्यका अनुसार नेपाल सरकारले खुल्ला गरेको ४१४ हिमालमध्येमा ७६ हिमालको मात्रै आरोहण हुन बाँकी छ । यो यामका लागि अनुमति दिइएको हिमालबाट छ करोड ५१ लाख भन्दा बढी राजश्व संकलन भएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.