www.tandavnews.com
Fact ~ In search of truth

पर्वत जिल्लाकै ठूलो लिफ्ट खानेपानी आयोजनाको परीक्षण शुरु

पर्वत ।

उत्तरी पर्वतको जलजला गाउँपालिकाको वारीबेनीमा निर्माण भएको जिल्लाकै ठूलो ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजनाको परीक्षण शुरु भएको छ ।आयोजनाको पूर्वाधार निर्माण सकेर परीक्षणका लागि पानी वितरण शुरु गरेको उपभोक्ता समितिले जनाएको छ ।

पानी तान्ने पम्पको परीक्षण सफल भएको समितिका अध्यक्ष लोकनाथ रेग्मीले जानकारी दिए। ‘कालीगण्डकी किनारबाट रिजर्भ ट्यांकीसम्म पानी तान्ने उपकरणको परीक्षण सफल भयो’, उनले भने, ‘मंगलबारदेखि वितरण र शाखा पाइपलाइनको परीक्षण शुरु गरेका छौँ’, बगरफाँट क्षेत्रको मुख्य र वितरण पाइपलाइनको परीक्षण सकिएको छ ।

पानी थिग्राउने पोखरी, वरीबेनी र लामाखेतको वितरण लाइन परीक्षण सफल भएपछि नियमित खानेपानी वितरण शुरु गरिनेछ । कालीगण्डकी किनारको जुगेधारामा प्रतिसेकेण्ड १२ लिटर पानी तान्ने क्षमताको समसिवल वयल पम्प जडान गरिएको छ ।

जुगेधाराको पानी १५० मिटर उचाइमा रहेको ट्यांकीमा विद्युतीय उपकरण प्रयोग गरेर पुर्याइएको छ । मुहानदेखि ट्यांकीसम्मको दूरी ७५० मिटर छ । मुहानमा पानी तान्ने सम्पवयल पम्प, पानी संकलन गर्ने ट्यांकी निर्माण भएको छ ।

चार लाख लिटर क्षमताको फेरो ट्याङ्की, दुई वटा पानी छान्ने र थिग्राउने पोखरी, कार्यालय भवन, मुख्य पाइपलाइन निर्माण गरिएको छ । १५ किलोमिटर मुख्य पाइप लाइन निर्माण भएको छ ।

पम्प, ट्यांकी, भवन, पोखरी र मुख्य पाइप लाइन निर्माणका लागि चन्द्र एण्ड वसन्त एएम जेभीले १० करोड ३० लाखमा ठेक्का लिएको थियो । उपभोक्ता समितिसँग वितरण पाइप लाइनसहितको पूर्वाधार बनाउन दुई करोड १२ लाखमा सम्झौता भएको थियो ।

सरकारको ७० र उपभोक्ताको ३० प्रतिशत लगानीमा विसं २०७४ कात्तिकदेखि खानेपानी डिभिजन कार्यालयले आयोजना निर्माण शुरु गरेको थियो । आयोजनाबाट जलजला गाउँपालिकाको २, ३ र ४ नं वडामा पर्ने बगरफाँट, वारीबेनी र लामाखेतका ९५५ घरधुरी लाभान्वित हुने अध्यक्ष रेग्मीले बताए ।

प्रत्येक घरमा मिटरसहितको निजी धारा निर्माण भएको छ । घर–घरमा निजी धारामार्फत खानेपानी वितरण गर्ने व्यवस्था मिलाएको कोषाध्यक्ष बरुवालले बताए । संघीय सरकारमार्फत सञ्चालित यो आयोजना धवलागिरि क्षेत्रकै ठूलो हो ।

खानेपानी तथा ढल निकास विभागको शहरीकरण उन्मुख बस्तीका लागि सञ्चालित सहलगानी कार्यक्रमअन्तर्गत आयोजना निर्माण भएको हो । उपभोक्ताले पहिलो चरणमा प्रतिघर १५ हजारका दरले नगद संकलन गरेका थिए ।

अहिले बढाएर प्रतिघर २० हजार कायम गरिएको छ । जलजला गाउँपालिकाको वारीबेनी, बगरफाँट र लामाखेतमा तीव्ररूपमा बस्ती विस्तार भएको छ । बस्तीमाथि खानेपानीको स्रोत नभएकाले लिफ्ट प्रविधि अपनाइएको हो । सो क्षेत्रमा खानेपानीको हाहाकार थियो ।

उक्त क्षेत्रका बासिन्दाले अहिलेसम्म मुहानमा व्यक्तिगत लगानीमा पाइप जोडेर घरमा पानी ल्याउने गरेका थिए । थोरै पानीको स्रोत तर माग धेरै भएपछि समस्या भएको थियो ।

आलोपालो लगाएर पानी आपूर्ति गराउँदै आएका थिए । पानीका कारण विवाद र सामाजिक द्वन्द्व हुने अवस्था अब अन्त्य भएको जलजला वडा नं ३ का अध्यक्ष रवि भण्डारीले जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.