www.tandavnews.com
Fact ~ In search of truth

अझै हटेन होटल, रेष्टुराँका श्रमिकका समस्या

काठमाडौं ।

होटल, रेष्टुराँलगायतका क्षेत्रमा बालश्रमिकको प्रयोग, न्यून ज्यालामा काम गर्नुपर्ने बाध्यता, रातको समयमा सवारी साधनको व्यवस्था नहुनुलगायतका समस्या हट्न सकेको छैन ।

श्रम ऐनमा रोजगारदाताले श्रमिकका लागि दिने सेवा–सुविधाका विषयमा उल्लेख भए पनि कार्यान्वयन नहुँदा समस्या नहटेको यस क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिको भनाइ छ ।

Batas

मनोरञ्जन र सत्कार व्यवसायको विद्यमान अवस्थाका बारेमा बिहीबार विश्वास नेपालले गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीले काम गर्ने श्रमिकको अवस्थामा सुधार आउन नसकेको बताएका छन् ।

यस क्षेत्रका श्रमिकको सेवा–सुविधाका विषयमा कानूनमा उल्लेख भए पनि कार्यान्वयनमा नआएको सहभागी प्रहरी, कर्मचारी, गैरसरकारी संस्थाका प्रतिनिधिलगायतले औँल्याएका छन् ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले जिल्ला प्रशासन कार्यालयले ठमेल, बालाजु, गौशालालगायतका क्षेत्रमा अनुगमन गर्दै आएको बताए।

अनुगमनका क्रममा श्रमिकले आफूले आवश्यक सुविधा पाएको बताएको उनले बताए । श्रमिकलाई लगानीकर्ताले आफूले सेवासुविधा पाएको भन्न सिकाएको उनको भनाइ छ । उनले भने, ‘त्यसो नभने जागिरबाट निकाल्ने हुँदा उनीहरुले आफ्ना कुरा भन्न सकेका छैनन् ।’

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले होटल र रेष्टुराँमा दैनिकजसो अपराधका घटना भइरहेको र नेपाल प्रहरीले कडाइका साथ कारवाही गरिरहेको जिकिर गरे । होटलका बन्द कोठामा कुनै पनि व्यक्तिको मृत्यु हुँदा हत्या कि आत्महत्या भन्ने छुट्याउन कठिन हुने उनले बताए ।

विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीले यस क्षेत्रमा कार्यरत सबै संस्थाले ‘म फलानो होटल, रेष्टुराँमा काम गर्छु’ भनेर गर्व गरेर भन्न सक्ने वातावरण बनाउनुपर्ने उल्लेख गरे । नेपाल रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष विजय नगरकोटीले दर्ता हुन बाँकी रहेका होटल, रेष्टुराँलाई दर्ता गराउँदै करको दायरामा ल्याउन संघले पहल गरिरहेको बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.