www.tandavnews.com
Fact ~ In search of truth

डोल्पामा हिमपातका कारण वार्षिक परीक्षा स्थगित

डोल्पा ।

हिमाली जिल्ला डोल्पामा हिमपातका कारण वार्षिक परीक्षा स्थगन भएको छ ।

यहाँको ठूलीभेरी नगरपालिकाअन्तर्गत पर्ने एउटा आधारभूत र चार वटा माध्यमिक विद्यालयको वार्षिक परीक्षा स्थगन भएको हो । नगरपालिकाभित्र पर्ने लक्ष्मी मावि थरगाउँ, विद्यामन्दिर मावि माझफाल, सरस्वती मावि दुनै, आदर्श मावि जुफाल र शुभकामना आधारभूत विद्यालयको नेपाली विषयको परीक्षा स्थगन भएको हो ।

Batas

बिहानैदेखि लगातार भइरहेको हिमपातका कारण बढेको अत्यधिक चिसोका कारण विद्यार्थी परीक्षामा सामेल हुनसक्ने अवस्था नभएकाले आज हुने नगरपालिकाभित्रका आधारभूत र माध्यमिक तहकोे नेपाली विषयको परीक्षा स्थगन भएको ठूलीभेरी नगरपालिकाले जनाएको छ ।

नगरपालिकाभित्र पर्ने केही विद्यालयमा हिमपातका कारण परीक्षा नै स्थगन गर्नुपर्ने भएकाले अन्य विद्यालयको परीक्षासमेत स्थगन गरिएको ठूलीभेरी नगरपालिकाका शिक्षा शाखा प्रमुख दिलप्रसाद रोकायले जानकारी दिए।

प्रश्नपत्र एउटै भएकाले पनि अन्य विद्यालयमा परीक्षा सञ्चालन गर्न समस्या भएको बताउँदै मौसममा सुधार आएर हिउँ पग्लेपछि आइतबार नेपाली विषयको परीक्षा हुने उनले जानकारी दिए भारी हिमपातका कारण बाटोघाटो थुनिएकाले टाढाटाढाका गाउँबाट विद्यार्थी विद्यालयसम्म पुग्ने अवस्थासमेत नरहेको उनले बताए ।

‘विद्यालयमै बाग्लो हिउँ जमेको छ, हिमपात जारी छ, अत्यधिक चिसोका कारण विद्यार्थी विद्यालयसम्म पुग्ने अवस्था छैन, पुगेका विद्यार्थीले पनि लेख्नसक्ने अवस्था छैन’, लक्ष्मी मावि थरगाउँका विज्ञान शिक्षक हरिस जोशीले भने । उनले कुनै पनि हालतमा परीक्षा सञ्चालन गर्न नसकिने कुरा नगर शिक्षा शाखा, जिल्ला समन्वय समिति सबैलाई जानकारी गराएपछि परीक्षा स्थगन भएको बताए ।

भारी हिमपातका कारण नगरपालिकाभित्र रहेका आधारभूत र माध्यामिक विद्यालयका करीब दुई हजार विद्यार्थीले नेपाली विषयको परीक्षा दिन पाएनन् । नगरपालिकामा बिहीबारदेखि मात्र आधारभूत माध्यमिक विद्यालयको वार्षिक परीक्षा शुरु भएको थियो ।

बिहीबार विद्यार्थीले अंग्रेजी विषय दिएका थिए । पुस र माघमा भारी हिमपात हुने भएकाले वार्षिक परीक्षा सम्पन्न गरेर दुई महिनाका लागि सम्पूर्ण विद्यालय बन्द हुने गर्दछन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.