www.tandavnews.com
Fact ~ In search of truth

उत्पादनको महाअभियानमा सबै किसानलाई समावेश गर्नुपर्छ :अध्यक्ष दाहाल

चितवन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीले साना र आधारभूत तहमा काम गर्ने किसानलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

चितवनको रत्ननगर– ५ टरौलीमा कृषि तालिम तथा अनुसन्धान केन्द्रको आज उद्घाटन गर्दै अध्यक्ष दाहालले उत्पादनको महाअभियानमा सबै किसानलाई समावेश गर्नुपर्ने बताए । कृषि पेशालाई व्यवस्थित र मर्यादित बनाउँदै उत्पादन बढाएर अर्थतन्त्र बलियो बनाउनुपर्ने उनको जोड छ ।

उनले भने, ‘सबै किसानलाई संगठित र जागरुक गराउन आवश्यक छ, उत्पादनको महाअभियानमा सबै किसान समावेश हुनुपर्छ ।’मासु, अण्डा, फलफूल र तरकारीमा देश आत्मनिर्भरताको दिशातर्फउन्मुख भएको उनले बताए ।

संविधानले नेपालको अर्थ व्यवस्थालाई तीन खम्बे नीति भनेर परिभाषित गरेको छ । उनले भने, ‘त्यसमा सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारीको सहकार्यबाट मात्रै नेपालको आर्थिक विकास सन्तुलितरुपमा अघि बढ्छ ।’

अध्यक्ष दाहालले पार्टी र सरकार दुवैले सामाजिक न्यायसहितको समाजवादको आधार तयार गर्ने र किसानलाई आत्मनिर्भर अर्थतन्त्रको पक्षमा काम गर्न अग्रसर बनाउँदै लगेको बताए ।समाजमा पछि परेका समुदायलाई संगठित गर्दै वृद्धि विकाससँगै सामाजिक र आर्थिक विकासको मूल धारमा ल्याउन सहकारीले महत्वपूर्ण भूमिका खेलेको उनले बताए ।

अध्यक्ष दाहालले नेपालको संविधानले समाजवादउन्मुख राज्य व्यवस्थाको परिकल्पना गरेको बताए । ‘पुरानो व्यवस्थाले शोषण र विभेद गरेको वर्ग समुदायलाई अगाडि ल्याउने, आत्मनिर्भर बनाउने र उनीहरुको जीवनलाई समग्र विकासको साझेदार बनाउने परिकल्पना हामीले गरेका छौँ’, उनले भने।

नेपाल कृषि, सहकारी केन्द्रीय संघले कूल तीन करोड ८० लाखको लागतमा भवन निर्माण गरेको हो । जसमा नेपाल सरकारको ८० प्रतिशत र सहकारीको २० प्रतिशत लगानी रहेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.