www.tandavnews.com
Fact ~ In search of truth

साग सकियो, भाग रोकियो : कुन समितिले कति खर्च निकाले ? (विवरण सहित)

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज।

१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा ८ खेल सम्पन्न गर्न आवश्यक बजेटको माग भयो । विषयगत शिर्षकमा ११ करोड । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा पाँच सदस्यीय १३ औं साग तयारी स्थानिय व्यवस्थापन समिति गठित थियो ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी सचिव र अन्य पाँच सदस्यमा राष्ट्रिय खेदकुद परिषद सदस्य राजेश कुमार गुरुङ, सँघीय सांसद मोहन रेग्मी, गण्डकी प्रदेश सभा सदस्य दीपक कोईराला, पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसी र नेपाल ह्याण्डबल सँघका अध्यक्ष तेज बहादुर गुरुङ । उक्त समितिको नेतृत्वमा बसेको बैठकले कम खर्चमा सागलाई भव्य बनाउन विषयगत १४ समिति गठन गर्याे ।

Batas

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीका अनुसार डा. पदम खड्काको संयोजकत्वमा स्वास्थ्य समिति, विद्या मर्सानीको संयोजकत्वमा प्राविधिक समिति, संजीव कोईरालाको संयोजकत्वमा श्रोत साधन परिचालन समिति, डिआईजी विनोद शर्मा घिमिरेको संयोजकत्वमा सुरक्षा समिति, सूर्य भुजेलको संयोजकत्वमा आवास व्यवस्थापन समिति, तोरण बाँनियाको संयोजकत्वमा यातायात व्यवस्थापन समिति, राखेप सदस्य राजेश कुमार गुरुङको संयोजकत्वमा खेलस्थान व्यवस्थापन समिति, केशव पाठकको संयोजकत्वमा प्रचारप्रसार तथा प्रकाशन समिति, तेज गुरुङको संयोजकत्वमा समारोह व्यवस्थापन समिति, विष्णु केसीको संयोजकत्वमा स्वंसेवक परिचानल समिति, गण्डकी प्रदेश सभा सदस्य दीपक कोईरालाको संयोजकत्वमा अनुगमन निरिक्षण तथा मुल्याङ्कन समिति, सँघीय सांसद मोहन रेग्मीको संयोजकत्वमा अतिथि सत्कार समिति, सम्पन्न श्रेष्ठको संयोजकत्वमा खेल सामाग्री उपकरण तथा पोशाक व्यवस्थापन समिति र जगन गुरुङको संयोजकत्वमा ले–आयोजन सम्पर्क समिति गर्याे । उक्त १४ वटै विषयगत समितिको सचिवमा जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिवलाई मनोनयन गरिएको थियो ।

सम्पूर्ण तयारी पूरा भएपछि पोखरामा मंसिर १५ देखी २४ गते सम्म जेनतेन ८ खेल सम्पन्न भए । पोखराको लेकसाईडमा ट्रायथलन, केसी क्याटरिङमा भारात्तोलन र बाकिँ खेलहरु पोखरा रङ्गशालामै सम्पन्न गरिए ।

साग सकिएपछि सबै विषयगत समितिको खर्च विवरण संकलन गर्न तयारी समिति खटिनै रह्यो । पछिल्लो समय एक महिना बितिसक्दा समेत विलिङको लागि नै दौडधुप गरिरहेको योगीले बताए । योगीले विषयगत खर्चको लागि कुल ११ करोड बजेट माग गरिएको बताउदै पारित नभएको बताए । उनले साग सञ्चालनको समयमा सम्म ४ करोड ५६ लाख भुुक्तानी गरेको बताए । ‘पहिलो पटक ६० लाख आयो दोस्र्रो पटक ७१ लाख आयो, उनले भने, ‘तेस्रो ७५ लाख र चौथो २ करोड ५० लाख गरी जम्मा ४ करोड ५६ लाख आएको थियो ।’

उनले १४ वटै विषयगत समितिको विल राष्ट्रिय खेलकुद परिषदमा सोमबार पेश गरेको बताउदै केही दिनमै रकम भुक्तानी गरिने जानकारी दिए ।

यता प्रचारप्रसार तथा प्रकाशन समितिका संयोजक केशव पाठकले माग गरे जस्तो बजेट नआएको बताउदै भनेजस्तो प्रचारप्रसार गर्न नपाएको गुनासो गरे । उनले दुई चरण २ लाख र ५ लाख गरी अहिलेसम्म ७ लाख भुक्तानी भएको बताए । उनले प्रचारप्रसार तर्फ कुल साढे १७ लाखको खर्च भएको बताउदै १० लाख ४८ हजारको विल साग तयारी समिति पोखरालाई पेश गरेको बताए । ‘हामीले पारदर्शी तरिकाले कसैलाई नढाटेर नछलेर काम गरेका छौं, उनले भने, ‘हामीले सबै विल साग तयारी समितिका मान्छेलाई बुझाएका छौ ।’ उनले समितिमा रहेका १२ पदाधिकारीले ५ दिनको बैठक भत्ता १ हजार ५ सयको दरले बुझिसकको बताए ।

तयारी समितिले १४ वटै समितिलाई आएको रकम बाडेको थियो । तर सबैले खर्च भए अनुसारको रकम भुक्तानी नपाउदा आलोचनाको विषय बनेको छ । प्रतियोगिता सकिएको ३५ दिनमा विनियोजित सबै रकम भुक्तानी हुनुपर्ने प्रावधान रहन्छ । तर केही प्रतिशत रकम मात्र भुक्तानी हुदा विषयगत समितिमा रहेर काम गरेकाहरु रुष्ट बनेका छन् ।

स्वंसेवक परिचालन समिति मातहतमा रहेर काम गर्ने स्वंयमसेवकहरुलाई जनही २५ हजार दिने भनेर खटाएको भएतापनि १ हजारको दरले जनही १५ हजार मात्रै पाएको भन्दै स्वंसेवकहरुले आपत्ती जनाईरहेका छन् । २३ दिन खटिएका बगरकी कृती भट्टराइले छलकपट गरेको गुनासो गरिन् । ‘हामीलाई २५ दिनकै भत्ता दिने भनेर काममा खटाएका हुन्, उनले भनिन्, ‘एक पटक ५ र अर्काे पटक १० हजार गरी १५ हजार मात्रै बुझेका छौ, खोई अबत आशा छैन तर हाम्रो २३ दिनकै हाजिरी चाँही छ ।’
त्य

स्तै आवास व्यवस्थापन समितिका संयोजक सूर्य भुजेलले पनि केही प्रतिशत मात्रै रकम भुक्तानी गरेको बताउदै बाँकी रकमको प्रतिक्षामा रहेको सुनाए । उनले सबैभन्दा बढि खर्च आवासमै भएको बताउदै विलहरु तयारी समितिलाई बुझाई सकेको बताए । ‘साग सकिएको ३५ दिन भित्र भुक्तानी हुनुपर्ने हो क्यारे खोई ।’ उनले भने ।

यता राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश कुमार गुरुङले १४ वटै विषयगत समितिको सम्पूर्ण रकम भुक्तानी हुन एक हप्ता लाग्ने बताए । उनले केही समितिको मात्रै विल केन्द्रमा पठाउन बाँकी रहेको बताउदै अन्य विलहरु लिएर तयारी समितिको टोली मन्त्रालय पुगेको जानकारी दिए । ‘सबैले निर्धारण गरिएको पैसा पाउँछन् धुक्क भए हुन्छ, गुरुङले भने ।

कुन समितिको खर्च कति ?

१३ औं साग तयारी स्थानिय व्यवस्थापन समितिका सचिव तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले दिएको तथ्यांक अनुसार १४ विषयगत समितिको साग खर्च विवरण :

१) स्वास्थ्य समिति (२६ लाख ७९ हजार १ सय ५५ रुपैया ७० पैसा)
२) प्राविधिक समिति (१ लाख ८२ हजार १ सय ६८ रुपैया)
३) श्रोत साधन परिचालन समिति (३ लाख ५८ हजार १ सय)
४) सुरक्षा समिति (२ लाख)
५) आवास व्यवस्थापन समिति (४ करोड ९४ लाख १७ हजार ५ सय ६१ रुपैया ५१ पैसा)

६) यातायात व्यवस्थापन समिति (७० लाख ४ सय ८० रुपैया)
७) खेलस्थान व्यवस्थापन समिति (२ लाख २४ रुपैया)
८) प्रचारप्रसार तथा प्रकाशन समिति (१७ लाख ४८ हजार ५ सय २२ रुपैया)
९) समारोह व्यवस्थापन समिति (१७ लाख ९ हजार ६ सय २० रुपैया २० पैसा)
१०) स्वंसेवक परिचानल समिति (६१ लाख ९० हजार)
११) अनुगमन निरिक्षण तथा मुल्याङ्कन समिति (२ लाख )
१२) अतिथि सत्कार समिति (५ लाख ५३ हजार ५ सय १ रुपैया ३१ पैसा)
१३) खेल सामाग्री उपकरण तथा पोशाक व्यवस्थापन समिति (२ लाख २० हजार ३ सय ८० रुपैया
१४) लेआयोजन सम्पर्क समिति (१० लाख)

योगीले विषयगत १४ वटा समितिको कुल खर्च ८ करोड ३२ लाख ५ हजार ९ सय ९९ रुपैया २८ पैसा भएको बताउदै ३ करोड ७६ लाख ५ हजार ९ सय ९९ रुपैया २८ पैसा बाँकी रहेकोले भुत्तानीको प्रक्रियामा रहेको बताए । उनका अनुसार यसअघि ४ करोड ५६ लाख भुत्तानी भैसकेको छ ।

त्यस्तै पूर्वाधारर निर्माण तर्फ ४ करोड ८३ लाख १२ हजार ३६ रुपैया २२ पैसा खर्च भएको बताउदै योगीले २ करोड १६ लाख ६२ हजार ३६ रुपैया २२ पैसा बाँकी रहेको बताए । उनका अनुसार साग सञ्चालनकै समयमा २ करोड ६६ लाख ५० हजार आईसकेको थियो ।

गत आईतबार बसेको १३ औं साग तयारी स्थानिय व्यवस्थापन समितिको बैठकबाट अनुमोदन गरे पश्चात सबै विल सहित राष्ट्रिय खेलकुद परिषदमा योगीको टोली पुगेको छ । योगीले सबै विल बुझाएको बताउदै रकम भुक्तानी गरेरै मात्र पोखरा फर्किने बताए । ‘विलहरु हेर्दै हुनुहुन्छ, उनले भने, ‘अब सबै रकम लिएर आउछौ ।’

रंगाशालाको काम चिसियो

१३ औं दक्षिण एशियाली (साग) सकिएको महिना दिन बितिसक्दा समेत रंगशाला निर्माणको काम चिसिएको छ । कारण बजेट अभाव नै हो भन्छन् सम्बन्धित ब्यक्तिहरु । पोखरामा साग सम्पन्न गर्ने समितिका पदाधिकारीहरु, मजुदरहरु र ठेकेदारहरु बजेटको पर्खाईमा छन् ।

निर्माण तथा मर्मत संभारका जिम्मा लिएका ठेकेदारहरु आफ्नै खर्चमा कामदार खटाईरहेका छन भने मजदुरलाई पारिश्रमिक समेत दिदै आएका छन् । पोखरा रङ्गशालामा कहिकतै काम भएको देखिएपनि अधिकांश कामदारहरु जाडो बढेसँगै आगो ताप्दै दिन गुजारिरहेका छन् ।

विनियोजित बजेट निकासा नभएपछि आफुहरुलाई काम लगाउने ठेकेदारहरुले आफ्नै खर्चमा काम गराईरहेको कामदारहरुको तर्क छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले तुलनात्मक रुपमा निर्माणको कार्य सेलाएको स्वीकार्दे यथासिघ्र गति बढाउने बताए । उनले नवौ राष्ट्रिय खेलकुद पोखरामा हुने बताउदै सो अगावै सम्पूर्ण निर्माणका काम सक्नेगरी तिव्रता दिईने बताए । ‘केही दिनमै रंगशालाको काम पहिलेकै अनुपातमा लग्छौं ।’ उनले भने ।

गुरुङले रंगशाला निर्माण पूर्ण सम्पन्न नभएसम्म कुनै पनि खेलकुद प्रतियोगिता आयोजनाका लागि अनुमति नदिईने बताए । ‘पहिला सबै काम सक्ने हो, उनले भने, ‘बनिरहदा डिस्टर्ब हुन्छ, सकिएपछि मात्रै खेल खेल्ने वातावरण बन्छ ।’

ग्रेट स्पोर्टस् प्रालि र एम.ए कन्सट्रक्शन प्रालिले सँयुक्त रुपमा निर्माण गरिरहेको उक्त प्रोजेक्टको लागत भ्यात सहित १ अर्ब २८ करोड २२ लाख १८ हजार १ सय ७४ रुपैया रहेको छ । निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर ईन्जिनियर दीपक बरालले साग पश्चात पनि निरन्तर निर्माण कार्य भैरहेको बताए । उनले तुलनात्नक रुपमा केही सेलाएको बताउदै केही दिनमा तिव्रता दिईने स्पष्ट पारे ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.