गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ उर्फ दिपक मानाङ्गेले अखिल नेपाल फुटबल संघ एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई हानेको झापटले पोखरामा मात्र होइन देशमै हल्ला पिटेको छ । मंगलबार भण्डारढीकमा मुख्य मन्त्री कप सुरु हुदैँ गर्दा प्रदेश सांसद गुरुङले एन्फा अध्यक्षमाथी आक्रमण गरे ।
बुधबार बिहान पोखराका पत्रकारसँग घटनाबारे कुरा राख्न एन्फा अध्यक्ष मिलन गुरुङ लेकसाइडको बगैंचा रिसोर्ट आइपुगे । प्रदेश सांसद बिन्दु कुमार थापाले आफ्नो कामको बारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलन सकिने वित्तिकै मिलन गुरुङले घटनाको फेहरिस्त सुनाए ।
मिलनले आफुलाई माननीयले मुक्का र किक हानेको बताए । ‘उनिहरु त्यहि इन्टेनसनले आएका थिए । भिडियो पनि खिच्दै थिए । आएर झगडा गर्दै मलाई माननीयले मुक्का र किक हान्नु भयो । मैले पनि सक्थें प्रतिवाद गर्न, तर माननीय भएको कारणले गरिनँ । आयोजक पनि भएकाले म केहि बोलिनँ’ उनले सुनाए ।
बुधबार नै दिउसो ४ बजे जिरो किलोमिटरको न्यू एरा होटलमा सांसद राजिव गुरुङको पत्रकार सम्मेलन डाकियो । सांसद गुरुङले घटनाबारे प्रष्ट्याउँदै भने ‘त्यो ठगलाई नहानेर के फुल माला लगाउने ? तपाई भन्नुस त ल । हानेकै हो ।’
रामकृष्णलाई मिलनले ताकेको त्यो ढुङ्गा…
सांसदको मुक्का खाएको २ दिन अघि अर्थात् आइतबार मिलनले पोखरा क्रिएटिभ अवार्ड आउसका रामकृष्ण पौडेललाई हातपात गरेका थिए । बक्यौता रकमको विषयलाई लिएर भनाभन हुँदा मिलनले हातपात मात्रै गरेनन् ढुङ्गा समेत हान्न खोज्दा एक व्यक्तिले उनलाई सम्हालेको भिडियोमा प्रष्ट देखिन्छ । तर मंगलबारको मुक्काले आइतबारको यो घटना सेलायो । जसमा मिलनको गल्ती प्रष्ट देख्न सकिन्छ ।
‘झगडालु’ मिलन
पोखरा क्रियटिभ हाउस मात्रै होइन एन्फा अध्यक्ष मिलनले अन्य व्यवसायीलाई पनि रकम दिन बाँकी रहेको खुल्दै आएको छ । अभद्र स्वभावका मानिने मिलनले साग गेममा स्वयं सेवकहरुलाई अपशब्द समेत बोलेका थिए ।
यसबाहेक गुरुङले साग गेममै प्रदेश सांसद तथा विधायन समितिका सभापति मोहनप्रसाद रेग्मी र राष्ट्रि खेलकुद परिषदका सदस्य राजेश गुरुङसँग विवाद गरेको भिडियो पनि सार्वजनिक भएको थियो ।
यस्तै, पोखरा कप आयोजना गर्दा विभिन्न होटलमा खेलाडी राखेको खर्च गुरुङले अहिलेसम्म बुझाएका छैनन् ।
‘दुबै उस्तै’
अहिले समाजिक संजाल र गफगाफमा यसबारे मिश्रीत धारणाहरु आइरहेका छन् । मंगलबारको घटनामा मिलन पिडित देखिए तर यसअघि मिलनको हर्कतले आजीद भएकाहरुको संख्या पनि उस्तै छ । सुरुमा सांसद गुरुङको व्यवहारप्रति रुष्ट देखिएकाहरु मिलनबारे बुझ्दै जाँदा ‘दुवै उस्तै रहेछन्’ भन्ने प्रतिक्रिया दिन थालेका छन् । एकका तर्फ सांसद जस्तो पदमा रहेका गुरुङले पदिय गरिमा भुलेको भन्ने भनाई छन भने अर्को तर्फ विगतमा अपराधिक गतिविधिमा लागेका के सुध्रिन्थे भन्ने भनाई आएका छन् ।
मिलन-मनाङ्गेकै गल्ती
कसैलाई दुव्र्यवहार वा हातपात गर्नु कानुन विपरित छ । मिलनको आर्थिक व्यवहारले रुष्ट व्यवसायी मुक्काको घटनालाई लिएर समर्थनको भाव प्रकट गरेका छन् । तर कानुनी रुपमा दुवै गलत देखिन्छन् ।
आइतबार अघिसम्म मिलनले विभिन्न व्यवसायीलाई गर्ने गालिगलौज र हातपात विरुद्ध उजुरी परेको थिएन । आइतबार पोखरा क्रियटिभ हाउसका पौडेलले जिल्ला प्रहरी कार्यालय कास्कीमा ठाडो उजुरी दिएका थिए ।
विरुद्धमा उजुरी परेका मिलनले नै अन्ततः सांसदले कुटपिट गरेको भन्दै मंगलबार जाहेरी दिए । यसलगत्तै, मिलनलाई चेक बाउन्सको उजुरी दिने तयारी व्यवसायीहरुले गरिरहेका छन् ।
कानुनी रुपमा राजीव गुरुङ उर्फ दिपक मनाङ्गे र एन्फा अध्यक्ष मिलन गुरुङ गलत छन् । दुवै कसुर अनुसार सजायको भागिदार हुनुपर्नेमा दुईमत छैन । त्यही भएर दुवैलाई कानुनी कठघेरामा ल्याउनु पर्ने सार्वसाधरणको भनाई छ । यसरी कुटपिट गर्ने अनि उल्टो पत्रकार सम्मेलनमा कानुन के ? प्रहरी को ? भन्दै दम्भ देखाउने सांसद गुरुङलाई कारवाही भएन भने गलत नजिर बस्न सक्ने नेताहरु बताउँछन् ।
एन्फा कास्की अध्यक्ष मिलन गुरुङले गरेको हातपातको भिडियो
बुधबार गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ र एन्फा कास्की अध्यक्ष मिलन गुरुङले गरेको पत्रकार सम्मेलनको भिडियो
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.