www.tandavnews.com
Fact ~ In search of truth
Mulberry

अब स्याङ्जाका सबै वडाका विवाद वडामै

hima aus

स्याङ्जा ।

classic tech

स्याङ्जाको वालिङ नगरपालिकाले न्याय सम्पादनका लागि सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरेको छ ।

नगरभित्रका १४ वटै वडा कार्यालयमा मेलमिलाप केन्द्र स्थापना गरेको छ भने सबै वडामा वडा संयोजकसहित मेलमिलापकर्ताको व्यवस्था मिलाएको नगरपालिकाका कानून शाखा प्रमुख नरबहादुर पौडेलले बताए ।

‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को उपदफा १ मा १३ प्रकृतिका देवानी विवाद निर्णय वा फैसला गर्ने व्यवस्था न्यायिक समितिमा रहेको छ’, कानून शाखा प्रमुख पौडेलले भने, ‘४७ को उपदफा २ अनुसार ११ प्रकृतिका देवानी तथा एक वर्षसम्म कैद सजाय हुने फौजदारी प्रकृतिका विवाद मेलमिलापका माध्यमबाट निरुपण गरिने व्यवस्था भएकाले तिनै ११ प्रकृतिका विवाद वडास्तरमै मेलमिलापकर्ताले निरुपण गर्नेछन् ।’

वडास्तरमा मेलमिलापकर्ताले विवाद समाधानका लागि पहल गर्ने र उक्त विवाद समाधान हुन नसकेमा न्यायिक समितिमा आउने कानून शाखा प्रमुख पौडेलले बताए । न्यायिक समितिले वादी प्रतिवादीलाई मेलमिलाप गराउने पहल गर्ने र मेलमिलाप हुन नसकेमा स्याङ्जा जिल्ला अदालतमा सिफारिस गर्ने शाखा प्रमुख पौडेलको भनाइ थियो ।

वडाको मुद्दा वडामै मिलाउने वातावरण सिर्जना गरिएकाले वादी प्रतिवादीले वडाभित्रैका सूचिकृत मेलमिलापकर्ता छनोट गरी न्याय प्राप्त गर्नसक्ने र वादी प्रतिवादीबीच मेलमिलापकर्ताको छनोट गर्न नसकेमा वडा संयोजकले मेलमिलापकर्ता छनोट गरिदिने वा आफैँ सहभागी भएर मुद्दा मिलाउने जिम्मेवारी दिइएको कानून शाखा प्रमुख पौडेलले बताए ।

मेलमिलापकर्तालाई मुद्दाको छिनोफानो गरेको खण्डमा पारिश्रमिकको व्यवस्था मिलाइएको कानून शाखा प्रमुख पौडेलले बताए । वालिङ नगरपालिकामा हाल ११६ जना सूचिकर्ता मेलमिलापकर्ता छन् ।

वडाभित्रको विवाद वडाबाटै मिलाउने भएपछि भने नगरवासीले न्याय सम्पादनमा सहजता भएको महसुस गरेका छन् । वालिङ नगरपालिकाले अष्ट्रेलियन एड र दि एशिया फाउण्डेशनको सहयोग तथा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको सहजीकरणमा कार्यक्रम अगाडि बढाउँदै आएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.