www.tandavnews.com
Fact ~ In search of truth

दीर्घकालीन सोच र योजनाका साथ सरकार अघि बढिरहेको छ :मुख्यमन्त्री गुरुङ

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध प्रदेश बनाउन दीर्घकालीन सोच र योजनाका साथ सरकार अघि बढेको बताएका छन् ।

प्रदेश सरकार स्थापनाको दोस्रो वर्ष पूरा भएको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सरकारको पहिलो वर्षलाई प्रादेशिक नीति तथा संरचना निर्माणको रुपमा लिइएको र यसको जगको आधारमा सबल र समृद्ध गण्डकी प्रदेश निर्माण गर्ने उल्लेख गरे ।

संघीयता कार्यान्वयनका क्रममा आत्मविश्वास र ऊर्जा बढिरहेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले सन्देशमा भनेका छन्, ‘हाम्रा पाइलाहरु गतिवान हुँदैछन् र हाम्रा अनुभवहरु खारिँदै गइरहेका छन् । प्रदेशको सफलतासँगै संघीय शासन व्यवस्थाको सफलता गाँसिएको छ ।’

सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तका आधारमा संघ, प्रदेश र स्थानीय तहको सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिँदै उनले लोकतन्त्रको आधारभूत मूल्य मान्यता, बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, पूर्ण प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणको सिद्धान्तमा प्रदेश सरकार दृढ रहेको उल्लेख गरेका छन् ।

विभिन्न क्षेत्र समुदाय र वर्गको सुझाव, सल्लाहलाई आत्मसात् गर्दै समृद्ध प्रदेश सुखी नागरिकको आकांक्षा सफल पार्न सरकार तत्पर रहेको मुख्यमन्त्री गुरुङले सन्देशमा जनाएका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.