www.tandavnews.com
Fact ~ In search of truth

कोभिड १९ : चितवनका होटल बन्द, निकुञ्ज प्रवेशमा रोक

चितवन ।

कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिम बढ्दै गएपछि पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल बन्द भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वारका रुपमा रहेको सो क्षेत्रमा साना ठूला गरी ११५ होटल रहेका छन् ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटलले सूचना टाँसेर सेवा बन्द गरेका हुन् । घरायसीरुपमा चलाएकाबाहेक अन्य होटलका कर्मचारीलाई बिदा दिएर कुरुवा मात्र राखिएको उनले जानकारी दिए ।

Batas

पछिल्ला दिनमा पर्यटकको आगमन घट्दै गएपछि सो क्षेत्र सुनसान हुन पुगेको थियो । सो भाइरसको जोखिम न्यूनीकरण गर्न भन्दै होटल बन्द गरिएका हुन् । चितवन राष्ट्रिय निकुञ्जभित्र हुने गतिविधिका लागि प्रवेश रोकिएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल घिमिरेका अनुसार निकुञ्ज प्रवेशको टिकट काउण्टर बन्द गरिएको छ ।

यससँगै निकुञ्जभित्रको सफारी, हात्ती शयर, डुंगा शयरलगायतका गतिविधि गर्न नपाइने भएको छ । उनले सो भाइरसको जोखिम बढेपछि निकुञ्ज प्रवेशमा रोक लगाइएको जानकारी दिए । सौराहाको थारु सांस्कृतिक सङ्ग्रहालय पनि बन्द भएको छ । पर्यटक आउने मुख्य मौसममा कोरोना प्रभावले गर्दा सौराहा क्षेत्रका गतिविधि ठप्प बनेको हो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.