www.tandavnews.com
Fact ~ In search of truth

अमेरिकामा कोरोनाबाट पन्ध्र नेपालीको मृत्यु

काठमाडौं ।

अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट हिजो(मङ्गलबार) एक नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दैआएका महेश पन्थी रहेका छन् । बिरामी भएर गत चैत २६ (अप्रिल ८ तारिख) गते उनी अस्पतालमा भर्ना भएका थिए । उनीसमेत गरी अमेरिकामा मृत्यु हुने नेपालीको संख्या १५ पुगेको छ । तीमध्ये न्यूयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जना रहेका छन् ।

मेरिल्याण्ड राज्यका विधायक ह्यारी भण्डारीले दिएको जानकारीअनुसार १५ जनामध्ये सबैलाई कोरोना संक्रमित भनेर पुष्टि गर्ने मजबुत आधार त छैन, तर कोरोना संक्रमणका कारण मनोवैज्ञानिक त्रासले केही नेपालीको हृदयघातका कारणले पनि मृत्यु भएको देखिन्छ ।

उनी भन्छन्, ‘अरु रोग लागेका व्यक्तिमा कोरोनाको सङ्क्रमणले छिटो आक्रमण गर्ने र मानिसको रोगप्रतिरोधी क्षमता कमजोर गराइ मृत्यु नजिक पुर्याउने गरेको देखिन्छ ।’

Lama collectio News Middle

यसैबीच एक महिना अगाडि मृत्यु भएका विष्णुकुमार राईको शवलाई मंगलबार अन्तिम संस्कार गर्न सफल भएको भण्डारीले जानकारी दिए । अमेरिकामा निधन भएका नेपालीको शवलाई अन्तिम संस्कार गर्नका लागि परिवारका सदस्यसँगको समन्वयमा शवदाहगृहसम्म पुर्याउने काममा भण्डारी महत्वपूर्ण सहयोग गर्दै आएका छन् ।

एनआरएन ग्लोबल हेल्थ कमिटीका संयोजक डा सञ्जीव सापकोटाले अमेरिका, बेलायत, युएई, टर्की, आयरल्याण्ड, नेदरल्याण्ड, जापानमा गरी ५४ नेपालीको मृत्यु भएको राससलाई जानकारी दिए । एनआरएनएले आफ्नो संयन्त्र परिचालन गरी वैशाख १३ (अप्रिल २५) सम्म संकलन गरेको तथ्यांकमा विभिन्न २५ देशमा रहेका दुई हजार ३२ नेपालीमा कोरोनाको संक्रमण देखिएको छ ।

तीमध्ये ४३४ जनाले आफूलाई कोरोना भाइरस संक्रमणबाट मुक्त गराउन सफल भएको छ । संख्याका आधारमा सबैभन्दा बढी अमेरिकामा एक हजार संक्रमित भएको र अहिलेसम्म मृत्यु हुनेमा सबैभन्दा बढी बेलायतमा ३३ जना रहेको तथ्यांक छ ।

कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा फेब्रुअरी ६ तारिखमा एक जनाको मृत्यु भएको थियो भने यो समाचार तयार पार्दासम्म अमेरिकामा यो भाइरसको संक्रमणबाट ५८ हजार २२० जनाको मृत्यु भइसकेको छ ।

अमेरिकामा कूल १० लाख १२ हजार संक्रमित पुगेका छन् । कोरोना भाइरसको तथ्यांक राख्दै आएको विश्वप्रसिद्ध अमेरिकी विश्वविद्यालय जोन हपकिन्सको पछिल्लो तथ्यांकअनुसार १८५ देशका ३१ लाख १६ हजार ६८० जना कोरोना भाइरस संक्रमणमा परेका छन् भने यसको संक्रमणबाट दुई लाख १७ हजार १६८ जनाले ज्यान गुमाएका छन् । यसमध्ये २६ दशमलव ८० प्रतिशत मृत्यु अमेरिकामा मात्रै भएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop