www.tandavnews.com
Fact ~ In search of truth

महोत्तरीमा अज्ञात रोगले मर्ने मृतक ११ पुगे

महोत्तरी ।

महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मर्ने मृतकको संख्या ११ पुगेको छ । आज बर्दिवास–१२ स्थित इटाभट्ठामा काम गर्ने ५५ वर्षीय भारतीय मोतिलाल प्रजापति र भङ्गाहा–६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएपछि मृतकको सङ्ख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बर्दिवास–१२ मेघरोल र भङ्गाहा–७ मेघनाथ गोरहन्नामा गत मंगलबारयता शुक्रबारसम्म आठजनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा बर्दिवास–१२ का चार, भङ्गाहा–७ का छ र भङ्गाहा–६ का एक रहेका सो कार्यालयले जनाएको छ ती तीनै वडाका बस्ती एकअर्कासँग जोडिएका छन् ।

Batas

भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहले घरेलु मदिराको सेवनले ती स्थानीयको मृत्यु हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताए । बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले मृत्युको कारण शवपरीक्षण जाँचले निक्र्योल गर्ने जानकारी दिए।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आज डा .अमृत पोखरेल र विश्व स्वास्थ्य संगठनका डा .सुदिपा खड्का र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको टोली यी बस्तीमा पुगेको छ । टोलीले बिरामीको लक्षणबारे पाएको जानकारी र अन्य पक्षबाट समेत अनुसन्धान गरिरहेको डा .पोखरेलले बताए ।

मृतकमध्ये सिकेन्द्र सिंह र सुकदेव (सिताई) महराको शव परीक्षण गरिएको छ । परीक्षण रिपोर्ट आएपछि मृत्युको कारणबारे यकिन हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

यसैबीच जिल्ला प्रहरी कार्यालयले मृतकमध्ये दुईको कोभिड–१९ संक्रमण हो÷होइन यकिन गर्न स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि प्रयोगशाला पठाइएको जनाएको छ । ‘मृतकको आरडिटी जाँच परिणाम नेगेटिभ आएको छ’, प्रहरी उपरीक्षक अधिकारीले भने, ‘अब पिसिआर जाँचको र परीक्षण रिपोर्ट आएपछि यकिन हुनेछ ।’

थारु, मुसहर, चमार, बाँतर (सर्दार) सहितका जनजाति र दलित समुदायको सघन बसोबास रहेका ती बस्तीमा रहेको छ । मेघनाथ गोरहन्नामा एक साता पहिलेमात्र सीतापुर, औरही र जमुनियाँ प्रहरी चौकीको संयुक्त गस्तीले १६ हजार लिटरभन्दा बढी मदिरा बनाउने कच्चा पदार्थ र चारवटा भट्टी नष्ट गरेको थियो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.